- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कतारमा जारी फिफा विश्वकपको सेमिफाइनल खेलमा फ्रान्सले हराएपछि मोरक्कोका समर्थकले प्रदर्शन गरेका छन् । बेल्जियम र फ्रान्सका थुप्रै स्थानहरूमा मोरक्कोका समर्थकले उत्सव मनाइ रहेका फ्रान्सेली फ्यानहरूसँग झडप समेत गरेका छन् ।
कतारमा विश्वकपको सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २-० गोल अन्तरले पराजित गरेको छ । मोरक्कोले विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग हार बेहोरेपछि फाइनल खेल्ने र जित्ने सपना चकनाचुर भएको छ । विश्वकपको सेमिफाइनल खेलमा फ्रान्ससँगको हारलाई फ्यानले सहन सकेका छैनन् ।
ब्रसेल्समा मोरक्कोका फ्यानहरू सडकमा उत्तेजित भएर आगजनी गरेका छन् । सो क्रममा उनीहरुको प्रहरीसँग झडप समेत भएको छ । ब्रसेल्सको साउथ स्टेसनमा मोरक्कोका फ्यानहरूले सवारीसाधनमा आगो समेत लगाएका छन् ।
दङ्गामा उत्रिएका मोरक्कोका फ्यानहरूमाथि प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेका थिए । त्यसपछि प्रहरीले पानीको फोहोरा पनि प्रयोग गर्नुपरेको थियो । प्रहरीले मोरक्कोका केही फ्यानलाई पक्राउ पनि गरेको छ ।
फ्रान्सको पेरिसमा समेत मोरक्कोका फ्यानहरूले हङ्गामा मच्चाएका छन् । त्यहाँका धेरै ठाउँमा फ्रान्स र मोरक्कोका फ्यानबीच भिडन्त भएको छ ।
धेरै ठाउँमा हिंसात्मक झडप पनि भएको छ । भीडलाई तितरबितर गर्न प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रयोग गरेको थियो।
फ्रान्सलाई मोरक्कोको संरक्षक मानिन्छ । फ्रान्समा ठूलो सङ्ख्यामा मोरक्कन प्रवासीहरू बस्छन्।