काठमाडौं । नेपाल महिला संघको नयाँ कार्यसमितिका लागि मतदान हुँदैछ । मनोनित सदस्यले उम्मेदवार बन्न नपाउने सम्बन्धी विवाद समाधान भएसंगै निर्वाचन समितिले तीव्रताका साथ मतदानको तयारी थालेको थियो । राष्ट्रिय सभागृहमा बिहान ९।३० बजेदेखि नै मतदान सुरु हुने जनाइए पनि विद्युतीय मेसिनका कारण मतदानमा केही ढिलाइ भएको निर्वाचन समितिका संयोजक यदुनाथ खनालले जानकारी दिएका छन् ।
विद्युतीय मेसिनका कारण प्राविधिक समस्या हुन गएकाले केही ढिलागरी मतदान हुन लागेको उनले बताए ।
तर मतदान विद्युतीय मेसिनबाट मतदान हुँदा भने छिट्टै सकिने र रातिसम्मै मतपरिणाम आउने खनालको दावी छ ।
विद्युतीय मेसिनमा भोट राख्न कुनै समस्या हुन्छ कि भनेर बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरुलाई सिकाउने काम भएको थियो ।
दिउँसो ३ बजेसम्म मतदान गर्ने समय तोकिए पनि लाइनमा बसेकाले त्यसपछि पनि मतदान गर्न पाउने उनले बताए । नियमित प्रक्रियाबाट चुनाव भयो भने निर्धारित समय अगाडि नै मतदान भइसक्ने उनको दावी छ ।
यसपटक २११२ महाधिवेशन प्रतिनिधिले चुनावमा भाग लिंदैछन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको संयुक्त प्यानल तयार हुँदा अध्यक्षमा उमा रेग्मी र महासचिवमा धना खतिवडा प्रतिस्पर्धामा छन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलका तर्फबाट मीना पाण्डे नेतृत्वको टिम चुनावी मैदानमा छ ।