arrow

प्रधानमन्त्रीको भारत भ्रमण सफल : परराष्ट्रमन्त्री महत

logo
हरि लामिछाने,
प्रकाशित २०७३ असोज १ शनिबार
prakash-saran-maht.jpg.jpeg
नयाँ दिल्ली (भारत)। परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको बताएका छन्। भारत भ्रमणबारे जानकारी दिन उनले आज एक होटलमा आयोजना गरेको पत्रकार सम्मेलनमा भने, “सद्भावना र सहयोग बढाउने भ्रमणको मूल लक्ष्य थियो, त्यसमा हामी सफल भयौँ।”  भारत सरकार, राजनीतिक दल र जनताको तहमा पनि प्रधानमन्त्रीको भ्रमणबाट उच्च उत्साह देखिएको आफूले महसुस गरेको उल्लेख गर्दै मन्त्री डा महतले यस भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ उचाइ थपेको जिकिर गरे।
 
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित भएको द्विपक्षीय वार्ताबारे जानकारी दिँदै उनले दुई देशबीचका सबै विषयमा खुलेर छलफल भएको र त्यसले आगामी दिनमा सकारात्मक सन्देश दिने उल्लेख गरे। विगतमा भएका सम्झौता एवम् प्रतिबद्धतालाई निश्चित समय सीमाभित्र कार्यान्वयनमा ल्याइने र त्यसका लागि दुई देशबीचमा भएका मन्त्री, सचिव एवम् प्राविधिकस्तरीय संयन्त्रलाई क्रियाशील गराउने प्रतिबद्धता व्यक्त गरिएकाले पनि आगामी दिनमा विकासको विषयले प्राथमिकता पाउने बताए।
 
उनले द्विपक्षीय छलफलमा एक एक गरेर आपसी हितका विषयमा छलफल भएकाले कार्यान्वयनको पाटोले थप उत्साह थपिएको बताए। परराष्ट्रमन्त्री डा महतले भने, “भारत सरकारले भूकम्पपीडितलाई उपलब्ध गराएको एक विलियन डलरमध्ये ७५० मिलियन डलर सहुलियत ऋण र बाँकी अनुदान छ, सहुलियत ऋणको सेवा र सामग्री ७५ प्रतिशत भारतको हुनुपर्ने व्यवस्था थियो, त्यसलाई हटाएर सहज बनाउने सहमति भएको छ।”
 
उनका अनुसार ढल्केबरमा सबस्टेसन बनाउने कुरामा सहयोग गर्ने, तराई हुलाकी राजमार्गमा दोस्रो चरणको महत्वपूर्ण आयोजनामा सहुलियत ऋण दिने र ४०० केभी टान्समिसन लाइन गोरखपुर– बुटवललाई पनि अगाडि बढाउने सहमति भएको छ।
 
पञ्चेश्वर आयोजना अगाडि बढाइने र विद्युत् व्यापारमा सहज पहुँचलाई पनि द्विपक्षीय मन्त्रिस्तरीय संयन्त्रले त्यसलाई टुङ्ग्याउने सहमति भएको छ। सीमा सुरक्षाका सन्दर्भमा थप सहजीकरण गर्ने, थप नाका खोल्ने, सिँचाइ आयोजना, लिङ्क रोडलाई विकसित गर्ने, रेल्वे लिंकलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्ने विषयमा कुरा अगाडि बढाइएको छ।
 
संविधानका विषयमा भारत सरकारले पहिले नै स्वागत गरेको उल्लेख गर्दै मन्त्री डा महतले लोकतन्त्रको सुदृढीकरणमा जाने प्रक्रियालाई सराहना गरेको जानकारी दिए। उनले भने,–“नेपाली जनताले संविधानसभा मार्फत संविधान निर्माण गर्ने ऐतिहासिक काम भयो, त्यसलाई अझै विकसित गर्ने र कतिपय मागलाई सम्बोधन गर्ने सरकारको पहललाई पनि सरकारात्मक रुपमा भारतले लिएको छ, त्यसकारण संविधानको विषयमा कुनै समस्या छैन।”
 
द्विपक्षीय छलफलका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानका विषयमा भनेको विषय उल्लेख गर्दै डा महतले भने– “संविधान नेपालको आन्तरिक विषय हो, त्यस विषयमा जे भएको छ, मेरो केही भन्नु छैन।”
 
उनले विगतका कुराभन्दा पनि भविष्यप्रति केन्द्रित भएर दुई देशबीचको सम्बन्धलाई विकासको जगमा मजबुत पार्ने र दुई देशका विषयलाई दुवै देशका जनताका हितमा अधिकतम प्रयोग गर्ने गरी कार्यान्वनलाई अगाडि बढाउने स्पष्ट बाटो लिइएको बताए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ