नयाँ दिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय लगानी कर्ताका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताएका छन्। होटल ताजमा नेपाली र भारतीय व्यवसायीबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली तथा भारतीय लगानीकर्तालाई नेपाली कानुनले समान व्यवहार गरेकाले लगानी बढाउन अनुरोध गरेका हुन्। प्रधानमन्त्री दाहालले भने, “नेपाली तथा भारतीय लगानीलाई कुनै पनि भेदभाव हुँदैन। तपाईहरु ढुक्क भएर नेपालमा लगानी गर्नुहोस्।”
उनले राजनीतिक स्थायित्व भएपछि समृद्धि नेपालको मुद्दा भएको र त्यसतर्फ नेपाल अगाडि बढेको बताए। प्रधानमन्त्रीले भने, “नेपाल सुरक्षित लगानी गन्तव्य हो भारतीय लगानीका लागि सबैभन्दा राम्रो लगानीको स्थान नेपाल बन्न सक्छ। उनले नेपाल सानो देश हो, तर नेपालमा लगानीको थुप्रै सम्भावना छ।” प्रधानमन्त्री दाहालले भारतीय लगानी कर्तालाई पूर्णरुपमा सुरक्षा दिने विश्वास दिलाए।
त्यसैगरी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कुल व्यापारको ६५ प्रतिशत भारतसँगको व्यापार रहेको उल्लेख गर्दै उनले बजारमा लगानी पनि आवश्यक छ भने।
उनले दुई देशबीचको व्यापार ग्यापलाई पनि कम गर्नका लागि भारतीय लगानी कर्ताले नेपालमा लगानी गर्नुपर्ने बताए। डा महतले नेपालमा जलविद्युत्, जडीबुटी एवम् कृषि क्षेत्रमा ठूलो सम्भावना रहेको बताउनु हुँदै त्यसतर्फ ध्यान दिन अनुरोध गरे। नेपालले अपनाएको उदार नीतिबाट नेपाल विश्वकै उपयुक्त लगानी गन्तव्य भएको उनको भनाइ थियो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले नेपाल र भारतीय व्यापारी तथा उद्योगीको सम्बन्ध सदियौँ पुरानो र मजबुद रहेकाले दुई देशका उद्योगी मिलेर नेपालको विकास गर्नुपर्ने अवस्था आएको बताए। उनले नेपाल लगानीका लागि उपयुक्त स्थान भएको प्रष्ट पारे।
सो कार्यक्रममा भारतीय लगानीकर्ताका तर्फबाट एससी अग्रवालले प्रधानमन्त्री दाहालले नेपालमा लगानीका लागि विश्वास दिलाएको प्रति खुसी व्यक्त गर्दै त्यसका लागि आफूले पहल गर्ने बताए। उनले नेपाल लगानीका लागि अवरोधभन्दा पनि पुलका रुपमा रहेकाले विश्वासको वातावरण बनेको उल्लेख गरे।
कार्यक्रममा नेपालका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा रहेका लगानीका अवसरबारेमा भारतीय व्यापारी समुदायलाई जानकारी गराएका थिए। रासस