arrow

बाढीले अस्थायी सडक समेत बगायो, यातायात सेवा अवरुद्ध

logo
प्रकाशित २०७३ असोज १ शनिबार
Myagdi-hamrakura.jpeg
म्याग्दी। म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने सडकको बेनी–घाँसा सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ । 
 
बेग–६ स्थित बेगखोलामा आएको बाढीले अस्थायी सडक बगाएपछि बेनी–घाँसा सडकमा यातायात सेवा अवरुद्ध भएको हो । सोह्र श्राद्ध र मुस्ताङको स्याउ ढुवानी गर्ने समयमा सडक अवरुद्ध हुँदा स्थानीयबासिन्दा, कृषक, तीर्थयात्री र पर्यटक चिन्तित भएका छन् । 
 
बेगखोलामा भदौ १६ गते राति आएको बाढीले सडक र बेलिब्रिज बगाएपछि केही दिनअघि अस्थायी सडक यातायात सेवा सञ्चालन गराइएको थियो । गए राति आएको बाढीले अस्थायी सडक बगाएपछि पैदलैसमेत हिँडडुल गर्न कठिनाइ भएको स्थानीय बुद्धि पुनले जानकारी दिए । 
 
‘बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट बेनीतर्फ छुटेका सवारी साधन लगायत २०० भन्दा बढी यात्रु खोला तर्न नसकेर अलपत्र परेका छन्”–पुनले भने, ‘बाढीले विद्युत्को पोल र तारसमेत बगाएकाले तिप्ल्याङ, हिस्तान, राम्चे, शिख, घार, दोवा, भुरुङ तातोपानी, नारच्याङ गाविस र मुस्ताङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ । 
 
यसैगरी पहिरोका कारण बेग–१ बाँसबोट, २ लिस्ने, बादुक, बेगखोला, भगवतीको कल्लेनी र माझखर्कमा २५ घर विस्थापित हुनुका साथै २२ घर जोखिममा परेका छन् । बेगमा दुई वटा झोलुङ्गे पुल बाढी र पहिरोले बगाएको छ भने दुई वटा विद्यालय जोखिममा परेका छन् । 
 
म्याग्दीका प्रजिअ केशवराज आचार्यले सडक डिभिजन कार्यालय बागलुङ र नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रसँग समन्वय गरेर सडक र विद्युत सञ्चालन गराउन पहल गरिएको बताए । 
 
खोलामा बाढी नघटेसम्म सडक र विद्युत् मर्मत गर्न नसकिने अवस्था रहेको छ । पहिरोको जोखिममा रहेकालाई सर्तकता अपनाउन अनुरोध गर्दै प्रजिअ आचार्यले विस्थापितको व्यवस्थापनका लागि पहल गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ