नोउक्याम्प । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोनाले शानदार प्रदर्शन गरेको छ । बार्सिलोनाले शनिबार राति भएको खेलमा लेग्नेसलाई ५–१ को फराकिलो अन्तरले हरायो ।
लेग्नेसकै मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लिओनल मेसीले दुई गोल गरे । त्यस्तै लुइस सुवारेज, नेमार र राफिन्हाले एक–एक गोल गरे ।
यो जितसँगै बार्सिलोना ४ खेलबाट ९ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । ३ खेलबाट ९ अंकको रियल मड्रिड दोस्रो स्थानमा छ ।
रियलले आइतबार राति १२.३० बजे स्पानियोलसंग उसकै मैदानमा खेल्दैछ । यो खेलमा रियल विजयी भए पुनः शीर्ष स्थानमा पुग्नेछ । रियलको ३ खेलबाट ९ अंक छ ।
यसअघि शनिबार राति भएका खेलमा एथलेटिको मड्रिडले स्पोर्टिङ गियोनलाई ५–० ले हरायो । फर्नान्डो टोरेस र एन्टोनियो ग्रेजम्यानले दुई दुई गोल गरे ।
सेभिल्लाले भने आइबरसंग १–१ गोलको बराबरीमै चित्त बुझाएको छ ।