arrow

वैचारिक भूमरीमा नेकपा एस, अल्झियो तीन विकल्पमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १८ सोमबार
ncp-united-socialist-party-office.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेससँगको गठबन्धन टुटेपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) पार्टी सरकारमा जाने कि, सरकारलाई विश्वासको मत दिने कि वा एमालेसँग एकता गर्ने भन्ने बारेमा अलमलमा परेको छ । 

एस पार्टीको स्थायी कमिटी बैठकले पनि यी तीन वटा विषयमा टुंगो लगाउन नसकेपछि अलमलमा परेको हो । स्थायी कमिटीको बैठकपछि यिनै तीन वटा विषयमा निर्णय गर्न सोमबारदेखि पोलिटव्यूरो बैठक बोलाएको छ । 

दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकले सरकारको बारेमा निर्णय लिन सकेन । सरकारमा सहभागी हुने या नहुने तथा सरकारलाई समर्थन दिने या नदिने विषयमा नेताहरूबीच मत बाझिएपछि बिना निर्णय आइतबार स्थायी कमिटीको बैठक सकिएको थियो ।

 ‘सरकारमा जाने कि नजाने भन्ने विषयमा कमरेडहरूको भिन्न मत देखिए । जसका कारण स्थायी कमिटीले निर्णय लिन सकेन । अब यो विषयलाई पोलिटव्यूरोले निर्णय गर्नेछ,’ स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपानेले भने । 

उनका अनुसार अहिले वाम एकता भनिए पनि एमालेसँगको सहकार्य गर्ने पहिलो प्राथमिकता रहेको छ । ‘साथीहरुले भन्न सकिरहनु भएको छैन तर अन्ततः एमालेसँगै सहकार्य हो’, स्थायी कमिटी सदस्य न्यौपानेले भने । 

पार्टीका सम्मानित नेता झलनाथ खनालले भने सरकारमा सहभागी हुने या नहुने विषयमा आफूहरू पर्ख र हेरको नीतिमा रहेको बताएका छन् ।  उनले एमालेप्रति लक्षित गर्दै प्रतिगमनका मतियार पनि भएकाले सरकारमा सहभागी हुने विषय अन्यौलमा रहेको बताएका छन् ।

 ‘सरकारले पत्र लेखेर बोलाउनुपर्छ नत्र सरकारमा सहभागी हुने होइन’, उनले स्थायी कमिटीको बैठकमा भनेका थिए । तर खनालको भनाइलाई प्रतिवाद गर्दै अन्य नेताहरुले भने सरकारमा जानुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एसका नेताहरूलाई भेटेर पटक–पटक सरकारमा सहभागी हुन आग्रह गरे पनि औपचारिक प्रस्ताव नआएको भन्दै पार्टीले पर्ख र हेरको नीति लिनुपर्ने खनालको भनाईमा पूर्व वनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ लगायतका नेताहरुले प्रतिवाद गरेका थिए । 

बैठकमा वामपन्थी एकताको विषय उठेको भए पनि कोसँग कस्तो प्रकारको एकता भन्ने बारेमा छलफल भएको थिएन । स्थायी कमिटी बैठकले पार्टी एकताको खास आवश्यकता नरहेको तर वाम ध्रुवीकरण भने आवश्यक रहेको निष्कर्ष निकालेको भन्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पछिल्लो राजनीतिक समीकरण र सरकारको विषयमा पोलिटब्युरोले निर्णय लिने बताएका थिए ।

 ‘पोलिटव्यूरो बैठक बोलाइएको छ सोही बैठकले निर्णय गर्छ’, प्रचार विभाग खतिवडाले भने । उनका अनुसार एमालेसँगको एकताबारे बैठकमा कुनै पनि धारणा आएको छैन ।

 ‘एमालेसँगको पार्टी एकताको विषयमा पनि बढी हल्ला भएको छ । हल्ला भए अनुसारको विषयहरु आएका छैनन’,उपमहासचिव समेत रहेका खतिवडाले भने । तर उनले एमालेसँगको एकताबारे बैठकमा विषय वस्तु उठान भएको बारेमा भने केही बताएनन् । 

 ‘एमालेसँग पार्टी एकता गर्ने विषय एमालेका केही नेताहरूले गरेको हल्ला र चर्चा मात्रै हो, यो विषयले आवश्यकता भन्दा बढी हल्ला गरायो’, प्रचार विभाग प्रमुख खतिवडाले भने । 

पछिल्लो समयमा बैठकभित्र पार्टीको संगठन विस्तारमा लाग्नुपर्ने पक्षमा केही नेताहरु उभिएका छन् । त्यसैगरी केही नेताहरु सरकारमा सहभागी हुनुपर्ने पक्षमा रहेका छन् भने केही नेताहरुले एमालेसँग मिल्नुपर्ने पक्षमा उभिएपछि सरकार जाने वा सरकारबाहिर रहने वा एमालेसँग मिल्ने भन्ने बारेमा कुनै पनि निर्णय हुन सकेको छैन । 

यी तीन वटै विषयमा एस पार्टीका अध्यक्ष माधवकुमार नेपाल भने मौन रहेका छन् । स्थायी कमिटीको बैठकमा पनि पोलिटव्यूरो बैठकबाट आएका धारणालाई समेटेर जवाफ दिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ