एजेन्सी । रियो पारा ओलम्पिकमा चीनको स्वर्ण संख्या १ सय नाघेको छ । स्वर्ण संख्या उकालो लाग्ने क्रममा आइतबारसम्ममा १ सय ५ पुगेको छ ।
योसँगै चीन पदक तालिकाको शीर्ष स्थानमा यथावत छ । यद्यपि, चीनको कुल पदक संख्या भने २ सय ३७ छ । चीनको खातामा ८१ रजत र ५१ काँस्य छ । ब्राजिलमा सम्पन्न रियो ओलम्पिक २०१६ मा राम्रो गर्न नसके पनि पारा ओलम्पिकमा भने चीनले सनसनी नै मच्चाइरहेको छ।
६४ स्वर्ण हात पारेको बेलायत पदक तालिकाको दोस्रो स्थानमा छ । बेलायतको कुल पदक संख्या १ सय ४७ छ । उसको खातामा ३९ रजत र ४४ काँस्य छ । ओलम्पिक २०१६ मा पनि उत्कृष्ट प्रदर्शन गर्दे बेलायत दोस्रो भएको थियो।
त्यस्तै ४१ स्वर्णसहित यूक्रेन तेस्रो स्थानमा छ । ओलम्पिक २०१६ मा भने यूक्रेनले मात्र २ स्वर्ण हात पारेको थियो । रियो ओलम्पिक २०१६ लाई ४६ स्वर्णसहित शानदार अन्त्य गरेको अमेरिका पारा ओलम्पिकमा भने ४० स्वर्ण हात पार्दै पदक तालिकाको चौंथो स्थानमा छ ।
सेप्टेम्बर ७ देखि १८ सम्म चल्ने प्रतियोगितामा २३ खेल अन्तर्गत ५ सय २८ विधालाई समेटिएको छ । प्रतियोगितामा १ सय ६० मुलुकले सहभागिता जनाएकामा अहिलेसम्म ८२ मुलुकले पदक हात पारीसकेका छन् ।