काठमाडौं। नेपाली टिम वाइल्ड रिपर्ज क्रु र सुशान्त खत्री भारतीय प्रतिक्षित डान्स रियालिटी सो ‘डान्स प्लस सिजन-२’ को फाइनलमा पुगेको छन् । फाइनल चरणको लागि शनिवार शिर्ष चार टोलीलाई छनोट गरिएकोमा नेपालका वाइल्ड रिपर्ज क्रु र सुशान्त खत्री परेका हुन् ।
नेपालका वाइल्ड रिपर्ज क्रु र सुशान्त खत्रीसँगै तने मलहरा र पियुस भगत पनि फाइनलमा पुगेका छन् । अब यी टोलीहरुबीचको फाइनल भिडन्त भने सेप्टेम्बर २५ मा हुनेछ ।
अडिसन राउण्ड मार्फत हजारौं प्रतिस्पर्धीलाई पाखाँ लगाउँदै शिर्ष ३० मा अटाउन सफल वाइल्ड रिपर्ज क्रुले एक पछि अर्को सफलता चुम्दै प्रतियोगिताको फाइनलमा आफ्नो स्थान बनाएको हो ।
यस्तै एकलतर्फ फाइनलमा पुगेका फाइनलमा सुशान्त खत्रीका पिताले भिडियो मार्फत सुशान्त पढाईमा ध्यान नदिने र सधैं डान्स रुचाउने र कतिपटक त आफुले सुशान्तलाई पिटेको पनि बताए । उक्त भिडियो हरेर सुशान्त सँगै मञ्चमा रहेका सबै एकछिन भावुक भएका थिए ।
हिपहप डान्स ग्रुप नामले पनि चिनिने वाइल्ड रिपर्ज क्रुले डेल डान्स कम्पिटिसन २०१२, अल नेपाल उर्बन स्ट्रिट डान्स कम्पिटिसन २०१३ लगायत थुप्रै उपाधि हात पारेको छ । अवसरको ठूलो मञ्चको खोजीमा भारतको मुम्बाई छिरेको वाइल्ड रिपर्ज क्रुले त्यहाँ पनि विभिन्न उपाधि जितेको छ ।
दुई वर्षबीचमा क्रुले अल इन्डिया भि फेष्ट २०१५, युडिएमएस मुम्बाई च्याम्पियन्सिप २०१४ र इन्डिया वेस्ट डान्स क्रु २०१६ जस्ता महत्वपूर्ण उपाधि जितेको छ ।
क्रु टिममा जम्मा ९ जना सदस्य छन् । र सबै सदस्य काठमाडौं, धनगडी र बुटवल गरी तीन सहरबाट रहेका छन् । क्रु टिममा बुद्ध लामा, रोन सिंह, किरण थापा, सुरेन राई र सन्तोष दर्जी छन् । यसैगरि साउल जेम्स बोडी, सागर राई, सुमन तामाङ र सुरज थापा मगर पनि क्रु टिममा छन् ।
भारतको प्रतिक्षित डान्स रियालिटी सो मानिने ‘डान्स प्लस सिजन-२’, भारतीय च्यानल स्टार प्लसमा हरेक शनिबार र आइतबार नेपाली समय अनुसार ८:१५ देखि ९:१५ सम्म प्रशारण हुने गर्दछ ।