arrow

संविधान संशोधनबारे नेताहरुबीच जुहारी, कांग्रेस राष्ट्रिय सहमति बन्नेमा आशावादी

logo
प्रकाशित २०७३ असोज २ आइतबार
dal-ka-netaharu-juhari.jpeg
काठमाडौं । नेपाली काँग्रेसका नेता एनपी साउदले असन्तुष्टहरुको आवजालाई पनि सम्बोधन गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने आवश्यकता आंैल्याएका छन् । 
 
आईतबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा नेता साउदले भने,‘संविधान संशोधनको लागि सबै पक्षबीच सघन छलफल तथा वार्ताह भैरहेका छन्, छिट्टै राष्ट्रिय सहमति बन्छ ।’
 
उनले प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपा नेपाललाई नजरअन्दाज गरेर संविधान संशोधन प्रक्रिया अघि नबढाईने समेत स्पष्ट पारे । उनले अघि थपे,‘एमाले र रापप्रा नेपाललाई नजरअन्दाज गरेर संशोधन सम्भव छैन, हामी सबैपक्षसँग छलफल र वार्ता गरिरहेका छौं, छिट्टै एउटा निश्कर्षमा पुग्छौं ।’
 
साक्षात्कारमा नेता साउदले एमालेले संविधान संशोधन गर्ने कुरामा असहयोग गर्न नुहने धारणा राखे । त्यस्तै उनले संविधान कार्यान्वयनको लागि मधेशी मोर्चा पनि उदार बन्नुपर्ने बताए । संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन पनि दलहरु मिल्नुको विकल्प नभएको उनको भनाई थियो । 
 
साउदले अघि थपे,‘हामी आन्तरिक रुपमा मिल्न सकेनौं भने अरुले खेल्ने कुरा आउँछ, एकै ठाउँमा उभिनुपर्छ, यो नै आजको आवश्यकत्ता हो ।’
 
प्रधानमन्त्री प्रचण्ड चुकेर र झुकेर आए : राई 
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरधन राईले वर्तमान सरकार संविधान कार्यान्वयनमा उदासिन भएको आरोप लगाएका छन् । राईले अघि थपे,‘यो सरकार कतै मुलुकलाई दुर्घटना र संकटतर्फ धकेल्न उन्मुख छैन भन्ने शंका उब्जिएको छ ?’ 
 
संविधान कार्यान्वयनको लागि पनि एमाले आफ्नो भूमिकामा सशक्त र खरो उत्रने बताउँदै नेता राईले भने,‘संविधान सोमबार हामी भव्य रुपमा मनाउँदैछौं, संविधान कार्यान्वयनमा हामी खरो उत्रन्छौं ।’ 
 
उनले संविधान दिवसलाई कालो दिवसको रुपमा मधेशी मोर्चाले विरोध गर्ने कुराप्रति टिप्पणी गर्दै भने,‘उहाँहरु कालो दिवस भन्दै विरोध गर्ने अनि प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुने, यो कस्तो पारा हो ?’
 
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणमा संविधान संशोधन गर्नेबारेमा एजेण्डामा राखेकोमा उनले असन्तुष्टि पोखे । उनले अघि थपे,‘वर्तमान सरकार संविधानको मर्म र आत्मालाई क्षतविक्षत पारेर मुलुकलाई संवैधानिक संकटतर्फ धकेल्न उद्धत छ ।’
उनले प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त बक्तव्यमा पनि प्रधानमन्त्रीले गम्भीर रुपमा चुकेर र झुकेर कुरा राखेको आरोप लगाए । उनले अघि थपे,‘केही कुराहरु खुलिसकेका छन्, अरु विस्तारै खुल्दै जालान्, अहिले नक्कली हाँसो हाँसेर केही हुनेवाला छैन ।’
 
प्रधानमन्त्रीको भारत भ्रमण सद्भाव भ्रमण हो : साह 
नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले आन्दोलनरत असन्तुष्ट पक्षहरुको मागलाई सम्बोधन गर्नको लागि पनि संविधान संशोधनमार्फत सबैलाई स्विकार्यता बनाउनुपर्ने बताए । 
 
साहले प्रमुख प्रतिपक्षी दल एमाले संविधान संशोधन लगायतका विषयमा सहयोगी भएर प्रस्तुत हुनुपर्ने बताए । उनले संविधान संशोधन हुनै नसक्ने विषय जस्तो गरेर एमाले प्रस्तुत भएको समेत आरोप लगाए । साहले प्रश्न गरे,‘त्यसो भए, पहिलो संशोधन किन गरियो त ?’ ‘पहिलो संशोधन कसले भनेर गरेको ? अनि अहिले आएर संशोधनको एक शब्द पनि उच्चारण गर्न नहुने ? ’
 
उनले प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई लिएर नकारात्मक टिप्पणी गरिएको भन्दै प्रधानमन्त्रीको यो भ्रमण सद्भावको भ्रमण भएको स्पष्ट पारे । उनले अघि थपे,‘छिमेकीसँगको सम्बन्ध हार्दिकता भएमात्रै विकास हुन्छ, नभए हुँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ