काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपालको संविधान घोषणा भएको प्रथम वार्षिक दिवसका उपलक्ष्यमा आयोजित विशेष स्वागत समारोहमा सरिक भइन् ।
सभामुख ओनसरी घर्तीले बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवन परिसरमा आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानन्यायाधीश सुशीला कार्की समेत उपस्थित भए ।
यसअघि सभामुख घर्तीले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशलाई पुष्पगुच्छा दिएर स्वागत अभिवादन गरे ।
व्यवस्थापिका–संसद् भवनको भित्री मूलद्वार नजिक तयार पारिएको मञ्चमा उनीहरुलाई आसनग्रहण गराइएको थियो । संसद् भवन परिसरलाई पानीको फोहोरा, झन्डा, तुल र ध्वजापताकाले सिँगारेर चिटिक्क पारिएको थियो ।
तत्कालीन राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधान– २०७२ लाई गत वर्ष असोज ३ गते संविधानसभाबाट जारी भएको घोषणा गर्नुभएको थियो । संविधानमा ३५ भाग, ३०८ धारा र नौ अनुसूची छन् ।
समारोहमा उप्रधानमन्त्री, मन्त्रीगण, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, राज्यमन्त्री, संसदीय समितिका सभापति, सांसद, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि सहभागी थिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् सदस्य, मुख्य सचिव, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, कलाकार, उद्योगी तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति जलपान समारोहमा सहभागी भए ।
अपराह्न ४ बजेका लागि बोलाइएको चियापान प्रधानमन्त्रीको आगमनमा केही ढिलाइ भएका कारण ४ः४५ बजे सुरु भएको थियो । स्वागत समारोहमा विशिष्ट व्यक्तिको उपस्थितिलाई ध्यानमा राखेर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । रासस