arrow

हुलाक सूचनाको भण्डार बन्छ : मन्त्री कार्की

logo
प्रकाशित २०७३ असोज २ आइतबार
ramkarki.jpg.jpeg
धनकुटा। सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले कामविहीन भएका हुलाक कार्यालयलाई सूचनाको भण्डार बनाउने बताएका छन् । 
 
धनकुटाको भेडेटारस्थित नाम्जेमा रहेको रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्रबाट एफएम रिले स्टेसनको उद्घाटन गर्न आइतबार यहाँ आएका मन्त्री कार्कीले सञ्चारको क्षेत्रमा बढ्दो इन्टरनेटको प्रयोगसँगै अहिले हुलाक कार्यालय कामविहीन भएको अवस्थामा विभिन्न क्षेत्रमा हुने विविध घटना सङ्कलन तथा वितरण केन्द्रको रुपमा आफूले विकास गर्न खोजेको बताए । 
 
सञ्चार मन्त्रालयमा पनि नाम अनुसारको सूचना नभएका कारण मन्त्रालय नै मुलुकभरका सूचना सङ्कलन गर्ने मुख्य थलोका रुपमा हुने बताए  । “सञ्चार मन्त्रालयमा पर्याप्त सूचना छैन, देशभरका हुलाक कामविहीन भएका छन्”–उनले भने , “अब मन्त्रालय र हुलाकलाई सकारात्मक समाचार सङ्कलनको नमूना एवम् उत्कृष्ट सूचना केन्द्र बनाउने पहल गर्छु ।” 
 
आफू मन्त्री भएको बखतमा नेपाल टेलिकमले दिने सेवा प्रभावकारी बनाउने र रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रलाई सरकारी सञ्चार माध्यम हैन छुट्टै स्वतन्त्र निकायको रुपमा मुलुकको सर्वोत्कृष्ट सञ्चार माध्यमको रुपमा विकास गर्ने बताए । 
 
रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले भदौ १ गतेदेखि नेपालका २१ ठाउँबाट एफएम र छ मिडियमवेभ स्टेसनबाट चौबीसै घन्टा रेडियो नेपालको सेवा सुरु भएको बताए  । गत भदौ २० गतेदेखि एफएमको परीक्षण सुरु भएको भेडेटार स्टेसनको पाँच किलोवाट क्षमता रहेको र पूर्वका १६ जिल्लामा प्रसारण सेवा प्रदान गर्नेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ