arrow

प्रधानमन्त्री नजाने भएपछि महासभामा जान नेपालबाट अलमल

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
un.jpeg
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिन नजाने भएपछि भ्रमण टोलीका अन्य जाने कि नजाने भन्ने अलमल भएको छ । 
 
प्रधानमन्त्री दाहालले देशको पछिल्लो राजनीतिक अवस्थालाई हेरेर भ्रमण स्थगित गरेपछि नेपालबाट जाने अन्य टोलीबारे अन्योल बढेको हो । 
 
न्युयोर्कमा गत मंगलबार सुरु भएको महासभा १० दिनसम्म चल्नेछ । नेपालबाट सोमबार परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत भने भारतबाट सीधै न्यूयोर्क गएका छन् । 
 
राष्ट्रसंघमा प्रस्तुत गर्नका लागि अहिले नेपालका कुनै एजेन्डा नै छैनन् । परराष्ट्रविद् भेषबहादुर थापा भने नेपालका अहिले कुनै पनि एजेन्डा नभएका अवस्थामा परराष्ट्रमन्त्री गइसकेका अवस्थामा अरु जानु आवश्यक नभएको बताउँछन् । 
 
उनी भन्छन्, ‘नेपालले पेश गर्ने कुनै एजेन्डा नै नभएका अवस्थामा अरु कोही पनि नेपालबाट जानु जरुरी छैन ।’
 
पूर्व राजदूत थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रमण स्थगित गर्नु सकारात्मक भएकोसमेत प्रतिक्रिया दिएका छन् । 
 
भ्रमण टोलीमा को को जाने कार्यक्रम छ –
 
प्रधानमन्त्री दाहाल र उनकी पत्नी सीता दाहाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषि अधिकारी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा, मुख्य सचिव डा सोमलाल सुवेदी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, परराष्ट्र मन्त्रालयका सहसचिव एवम् संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय सङ्घ संस्था महाशाखाका प्रमुख भरतराज पौड्याल छन् । टोलीमा प्रधानमन्त्रीका निजी चिकित्सक डा युवराज शर्मा पनि सहभागी हुनुहुने कार्यक्रम छ । 
 
यस्तै, परराष्ट्र मन्त्रालयका क्षेत्रीय सङ्गठन महाशाखाका सहसचिव मणिप्रसाद भट्टराई, प्रधानमन्त्रीका स्वकीय सचिव साकार दाहाल, प्रधानमन्त्रीका दुई सुरक्षा अधिकृत पनि सो टोलीमा सहभागी हुनेछन् । 
 
प्रतिनिधिमण्डलमा राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की र त्यहाँका उच्च अधिकारीसमेत सहभागी हुनेछन् ।  
 
यस्तै, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, रेडियो नेपालमा कार्यरत सञ्चारकर्मीको टोली प्रधानमन्त्रीसँगै न्यूूयोर्क प्रस्थान गर्नेछन् । 
 
 
के छ विगत ? 
 
यसअघि पनि परराष्ट्र मन्त्रीको नेतृत्वमा टिम जाने गरेको थियो । अन्तिम समयमा भ्रमण स्थगित गर्ने दाहाल पहिलो प्रधानमन्त्री होइनन् । देशमा गणतन्त्र आएपछि माधवकुमार नेपाल र सुशील कोइरालाले अन्तिम समयमा भ्रमण स्थगित गरेका थिए । 
 
त्यतिबेला नेपालमै रहेकाले परराष्ट्रमन्त्रीले नेतृत्व गरेर टोली लगेका थिए । यसपटक भने परराष्ट्र मन्त्री पहिले गइसकेकाले अब कसले नेतृत्व गरेर लैजान्छ भन्नेमात्र हो । 
 
टोली जाने भयो भने उडान समय सोमबार राति ९.३० बजे हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ