काठमाडौं । माथि देखिएको तस्वीर काठमाडौंको वानेश्वरमा सोमबार विहान ८ बजेतिरको हो । यो वानेश्वर चोकबाट शंखमूलतिर जाँदाको बाटोमा बढीमा २० मिटरको दूरीमा रहेको छ । जुन व्यवस्थापिका संसद् भवनबाट पनि बढीमा एक सय मिटरको दूरीमा रहेको छ ।
काठमाडौं महानगरपालिकाको काम हो यसरी सडकको आधा भन्दा बढी भाग ओगटेर निर्माण सामग्री राख्नेलाई कारबाही गर्ने । तर यो सोमबार बिहान मात्रै होईन यहाँ दैनिक जसो यसरी नै सामान राखिन्छ । आधा बाटो ढाक्नेगरी यसरी राखिएको निर्माण सामग्री हटाउने सवालमा ट्राफिक प्रहरीको पनि उत्तिकै दायित्व रहेको छ । तर यस विषयमा ट्राफिकलाई चासो नभएको बताउँछ ट्राफिक प्रहरी ।
उता, महानगरपालिका भने यो विषयमा आफूलाई निरन्तर गुनासो आईरहेको बताउँछ । महानगरप्रहरीका प्रमुख धनपति सापकोटाले यस विषयमा आफूलाई निरन्तर रिपोर्टिङ भईरहेको बताए । ‘यसभन्दा अगाडि पनि हामीले पटकपटक चेतावनी दिने र कारबाही पनि गरेका हौं । आज राखिएको विषयमा पनि कुरा आएको छ ।
तर, पटकपटक भन्दा पनि नमानेको गुनासो उक्त क्षेत्रका प्रहरीले गर्नै गरेको पनि उनले स्पष्ट पारे । उनीहरूलाई कस्तो कारबाही हुन्छ त भन्ने प्रश्नमा उनले भने ‘हामीलाई गोली हान्ने आदेश छैन सामान उठाउने मात्रै त हो नि ।’
उता, त्यस क्षेत्रको ट्राफिक व्यवस्थापनको जिम्मा पाएका ट्राफिक प्रहरी निरिक्षक भागिरथ रेग्मीले यस विषयमा ट्राफिक प्रहरीको भन्दा पनि महानगरपालिकाको भूमिका बढी हुने जानकारी दिए । ‘यो विषय हाम्रो कार्यक्षेत्रमा पर्दैन’ उनले भने महानगरको क्षेत्र हो यो यस विषयमा महानगरलाई नै सोध्नुहोस् ।’
तर, यस्तो गैरकानूनी कामगर्दा पनि महानगरप्रहरी र ट्राफिक प्रहरी मौन बस्दा भने यो काम मिलेमतोमा त भएको छैन भनेर आशंका गर्न थालिएको छ । यदि यसमा मिलेमतो छैन भने सरकारलाई हेप्ने प्रवृत्ति झनै डरलाग्दो कुरा हो भन्नेमा सम्बद्ध पक्ष जिम्मेवार बन्नुपर्नै देखिन्छ ।