arrow

नेपाल–भारत संयुक्त वक्तव्यको चर्चाबारे सरकारले दियो प्रष्टिकरण (विज्ञप्तिसहित)

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
Parastra-Mantralaya.jpg.jpeg
काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा जारी २५ बुँदे संयुक्त वक्तव्यमा कुनै नयाँ कुरा नभएको र आश्चर्य मान्नु पर्ने कारण नरेको बताएको छ । 
 
परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा केही सञ्चार माध्यममा प्रधानमन्त्री पुष्पकमल दाहालको भाद्र ३० देखि असोज २ सम्म भएको भारत भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्यमा उल्लेखित केही बुँदाहरुका सम्बन्धमा अन्यथा अर्थ लाग्ने गरी समाचार प्रकाशित भएको सन्दर्भमा निम्न व्यहोरा स्पष्ट पारिएको छ –भनिएको छ । परराष्ट्रले बुँदा नम्बर ११ र  १३ मा समेटिएका विषय परम्परागत शैलीमै आएको उल्लेख गरेको छ । 
 
‘बुँदा नम्बर ११ मा उल्लेख भएझैं साझा चासोका अन्तर्राष्ट्रिय विषयलाई सम्बोधन गर्नका लागि संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय संगठनहरूमा विभिन्न मुलुकका बीच सहकार्य हुने विषय अन्तर्राष्ट्रिय रूपमै प्रचलित परम्परा हो । नेपालले पनि विकासोन्मुख राष्ट्रहरूलाई असर गर्ने तथा उनीहरूका साझा हितका विषयमा छिमेकी मित्र राष्ट्र भारत र चीन लगायत अन्य मुलुकसँग विगतदेखि नै आवश्यकता अनुसार यसप्रकारको सहकार्य र समन्वय गर्दै आएको छ । साथै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा स्थायी सदस्यताका लागि भारतको उम्मेद्वारीलाई नेपालले समर्थन गर्ने भन्ने विषय यस अघि पनि नेपालका तर्फबाट व्यक्त हुँदै आएको छ,–विज्ञप्तिमा भनिएको छ । 
 
यस्तै, विज्ञप्तिको सोही बुँदामा संयुक्त राष्ट्र संघको स्थायी सदस्यमा भारतले दिएको उम्मेद्वारीलाई समर्थन गर्ने कुरा तत्कालीन परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे र भारतीय समकक्षी सुष्मा स्वराजबीच २६ जुलाई २०१४ मा भएको नेपाल भारत संयुक्त आयोगको बैठकपछि जारी वक्तव्यमा पनि समावेश गरिएको उल्लेख  छ । 
 
यसैगरी, बुँदा नम्बर १३ मा उल्लेख भएझैं द्विपक्षीय आर्थिक तथा  विकास सहयोगका परियोजनामा  देखा परेका असहजतालाई सम्बोधन गरी समयवद्ध रूपमा शीघ्र कार्य सम्पन्न गर्नका लागि त्यस्ता परियोजनाहरूको प्रगति अनुगमन गर्नका निमित्त दुबै प्रधानमन्त्रीहरूले अधिकारीहरूलाई निर्देशन दिनुभएको तथा सोही बमोजिम भारतीय राजदूतावासका र नेपाल सरकारका उच्च अधिकारीहरू सम्मिलित एक निरीक्षण संयन्त्र स्थापना गर्ने सहमति भएको हो । अन्य अर्थ लाग्ने गरी प्रसारित अनुमानजन्य समाचारमा सत्यता छैन ।’–विज्ञप्तिमा प्रस्ट्याइएको छ । 
 
संयुक्त वक्तव्यबारे टिप्पणी गर्दै प्रमुख विपक्षी एमालेले प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वाभिमानमाथि कलङ्कको टिका लगाएको टिप्पणी गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ