arrow

दाह्रा नङ्ग्रा झिकिएको अवस्थामा घनश्यामको पार्टी प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३० शनिबार
ghanashyam-bhusal-uml.jpg

काठमाडौं । नेकपा एमालेले गत भदौ ११ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकले प्रतिनिधि सभा चुनावमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको थियो । 

केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्ने गरी चुनावी अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरेपछि ओली देशव्यापी रुपमा पार्टीले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको भन्दै भाषण गर्न निस्किए । 

तर एमालेले भनेजस्तो मंसिर ४ को निर्वाचनमा कुनै परिणाम आउन सकेन । त्यही केन्द्रीय कमिटीको बैठकअघि बसेको स्थायी कमिटी बैठकमा सुवास नेम्वाङलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनु पर्ने प्रस्ताव राखेर बाहिरिएका घनश्याम भुसाल अन्ततः एमालेबाट नै बाहिरिए । 

मंसिर ४ को निर्वाचनमा आफूलाई टिकट नदिएको झ्वाँकमा उनले राजीनामा दिएर रुपन्देही १ बाट उम्मेदवारी दिए । त्यतिबेला कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धनले उनलाई समर्थन गरेको थियो । तर एमालेका छविलाल विश्वकर्माले पराजित गरिदिए । 

निर्वाचनमा पराजित भएका भुसाल केही समय चुपचाप रहे । उनी एमाले विभाजनको बेला माधवकुमार नेपालको साथ छाडेर रहेका थिए । अन्ततः उनै नेपालको ओत लाग्न पुगेका छन् । एमालेमा उनी निकट रहेका केन्द्रीय सदस्यहरु बिना एक्लै माधव नेपालको पार्टीमा छिरे । अर्थात् दाह्रा नङ्ग्रा झिकिएको अवस्थामा उनी एकीकृत समाजवादीमा प्रवेश गरे । 

उनी पार्टीमा प्रवेश गर्दा जति उर्जा आउने हो त्यो भन्दा उनको अस्थिर स्वभावले उनलाई घच्घच्याएको देखियो । उनका सहयोगीमध्ये योगेन्द्र शाही माओवादीको कित्तामा पुगिसकेका छन् । 

एमालेमै रहेका केन्द्रीय सदस्यहरु उषा तिमल्सिना, टंक कार्की, दीपकप्रकाश भट्ट, अरविन्द सिंह लगायतले एमाले नछाड्ने बताएपछि उनी एक्लै एस पार्टीमा लागेका हुन् । 

‘उहाँको त्यो व्यक्तिगत कुरा हो राजनीति आफ्नो आफ्नो हुन्छ’, एमाले केन्द्रीय सदस्य रहेका टंक कार्कीले भने ‘सबैलाई दल अदलबदल गर्ने छुट छ ।’

माधव नेपालसहित सिंगो एमालेमा भुसाल निकै शक्तिशाली थिए । नवौँ महाधिवेशनमा उनी उपमहासचिवमा निर्वाचित भएपछि भुसालले एमालेका सबै नीतिगत निर्णयहरुमा आफ्ना सहमति र असहमति प्रकट गर्न थाले । कहीँ कतै उनलाई हालका सचिव योगेश भट्टराईले पनि साथ दिने गरेका थिए । 

हालका महासचिव शंकर पोखरेललाई हराएर उपमहासचिव बनेपछि उनको वैचारिक उचाई बढेका बेला एमालेभित्र स्थायी प्रतिपक्षीका रुपमा रहे । उनको त्यो भूमिकालाई तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले साथ दिँदै आए । 

नवौँ महाधिवेशनमा नेपाल पक्षबाटै उनले उपमहासचिव जितेका थिए । त्यतिबेला पार्टी दुई लाइन संघर्षमा गुज्रेको थियो । त्यहीबेला तत्कालीन पार्टी अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग सहकार्यको प्रस्ताव अघि बढाए । 

फलस्वरुपः २०७५ जेठ ३ गते एमाले र माओवादी एकीकरण भएर नेकपा बन्यो । नेकपा सरकारमा रहेका बेला ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री हुन नदिएको र माधव नेपाल समूहलाई पार्टीभित्र कुनै पनि स्थान नदिएको विषयले मुलुकको राजनीति नै अस्तव्यस्त भयो । 

त्यसले सुखद परिणाम नल्याएपछि नेकपा विघठन भइ पुरानै एमाले र माओवादी बनेर अहिलेको अवस्थासम्म आइपुग्दा एमालेबाट माधव नेपालले एउटा गुटलाई लिएर पार्टी विभाजन गरिदिए । त्यही पार्टी विभाजनको बेला भुसालसहितका १० भाइले एमालेमै बस्ने निर्णय गरे । भुसालका लागि सो निर्णय एक वर्ष पनि टिकाउ भएन । एमालेबाट बाहिरिनु पर्ने अवस्था बन्यो । 

यही अवस्थाका बीचमा शुक्रबार माधव नेपालले उनलाई नेकपा एस पार्टीमा स्वागत गरे त्यसक्रममा भुसाल एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रोशित देखिन्थे । 

भुसालले एकीकृत समाजवादी असाध्यै राम्रो ठाउँमा रहेको भन्दै ओलीप्रति आरोप नै आरोप लगाए । उनले एमाले र नेकपा (माओवादी केन्द्र) पुरानै ठाउँमा फर्किसकेको भन्दै नेकपाको उत्तराधिकारीको रुपमा एकीकृत समाजवादीलाई अगाडि बढाउनुपर्नेमा जोड । 

उनले ओलीकै कारण कम्युनिष्ट आन्दोलन अप्ठेरोमा परेको आरोप लगाए । निर्वाचनको बेला माओवादीको खुब प्रशंसा गरेका भुसालले शुक्रबार एस पार्टीको प्रशंसामा आफ्नो समय खर्च गरेका थिए । 

‘ओलीवाद, ओली विचार र ओली सिद्धान्त, संगठन । संगठन कस्तो हुन्छ भन्दा सौराहा काण्ड देखिएकै हो,’ भुसालले भने ‘सिद्धान्त के हो भन्दा राज्य र पार्टी सबै मेरा चाकर हुन् । विचार के हो भन्दा सर्वत्र म । ज्ञान, विज्ञान र तर्कमाथि ओलीवाद हाबी भएका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको हो ।’

एमालेमा ओलीवाद हावी भएकै कारणले आफू एमालेमा बस्न नसकेको उनको भनाइ थियो । चुनावमा टिकट नदिएका कारणले आफू पार्टी छाड्न बाध्य भएकोसमेत भुसालले बताए । 

त्यतिमात्र होइन उनले एमालेभित्र विकार नै विकार रहेकोसमेत बताएर आफू चोखो रहेको भन्न भ्याए । ‘मेरो निर्वाचन क्षेत्रमा अरु कसैलाई ल्याएर उठाइँदै छ भन्ने मलाई थाहा थियो । मैले सबैलाई भनेको थिएँ, मलाई उम्मेदवार बन्न दिइँदैन, यो सामान्य कुरा थियो । तर, मैले अघिल्लो चुनावमा हराएको मण्डलेलाई ल्याएर मलाई निकालेको कुरा म सहेर बस्नु हो भने जिउँदै बस्नुपर्छ कि पर्दैन । जो सुकैले पनि सोच्ने कुरा हो जस्तो लाग्छ मलाई । त्यसैले मैले प्रतिवाद गरेको हुँ’, भुसालले भनेका थिए । 

उनले कम्युनिस्ट पार्टीहरूको एकीकरणका लागि एकीकृत समाजवादी पार्टीको कार्यदिशा ठीक भएको बताएका थिए ।  

माधव नेपालको पार्टीमा प्रवेश गर्नुअघि भुसालले भनेका थिए, ‘नेकपा विभाजित भएर अहिले एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बनेका छन् । अर्थात् हामी माथिल्लो आधार शिविरबाट तल झरेका छौँ । हामी फेरि त्यही आधार शिविरमा नफर्की सुखै छैन । अर्थात् नेकपाकै विन्दुमा फर्किनु पर्ने भएको छ ।’

भुसालको प्रस्तावलाई स्वागत गर्दै वार्ता समितिका संयोजकसमेत रहेका महासचिव वेदुराम भुसालले छिटोभन्दा छिटो पार्टीमा आउन आग्रह गरेका थिए । नेकपा (एस) मा प्रवेश गरेपछि उनलाई के जिम्मेवारी दिइनेछ भन्ने भने खुलाइएको छैन । 

एस पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पहिला सचिवालय सदस्य बन्ने त्यसपछि अन्य जिम्मेवारीको विषय टुंगो लाग्ने बताएका छन् । भुसालले महासचिव मागेको र त्यो सुरक्षित भएपछि मात्रै एसमा प्रवेश गरेका उनी निकट रहेका केही नेताहरुले भनेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ