arrow

एन्फा उपाध्यक्षमा उपेन्द्रमान सिंहद्वारा उमेद्वारी घोषणा

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
upendra-man-singh.jpeg
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले आसन्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) निर्वाचनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। पत्रकार सम्मेलन गरेर उनले ‘फुटबलको नेतृत्वमा फुटबलभित्रकै मान्छे आउनुपर्छ’ भनेर आफूले उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको बताए। 
 
राष्ट्रिय टोलीका पूर्वगोलरक्षकसमेत रहेका सिंहले आफूले फुटबल मैदानबाट मुलुकका लागि धेरै योगदान गरेको बताउँदै नीति निर्माणको तहमा पनि काम गर्न इच्छुक रहेको स्पष्ट पारे। उनले भने, “नेपाली फुटबलको विकासका लागि केही योगदान गर्न सक्छु कि भनेर मैले उम्मेदवारी दिने निर्णय गरेको हुँ।’ 
 
फुटबल प्रशिक्षकका रुपमा कार्यरत सिंहको समर्थनमा राष्ट्रिय टोलीका पूर्वकप्तानहरु राजुकाजी शाक्य, मणि शाह, बालगोपाल महर्जन, हरि खड्का लगायत पत्रकार सम्मेलनमा उपस्थित थिए। 
 
अध्यक्ष पदका लागि भने यसअघि नै वर्तमान कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, मनाङ मर्याङ्दी क्लबका पूर्वअध्यक्ष टासी घले, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले उम्मेद्वारी घोषणा गरिसकेका छन्। 
 
केही वर्षदेखि एन्फाको अध्यक्ष र उपाध्यक्ष पद खाली छ। तत्कालीन अध्यक्ष गणेश थापा भ्रष्टाचारकाण्डमा विश्व फुटबल महासङ्घ (फिफा)को प्रतिबन्ध तथा कार्यवाहक अध्यक्षसमेत रहेका वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधनपछि यो पद रिक्त थिए। आगामी कात्तिक ८ गते एन्फाको निर्वाचन हुँदैछ। 



नयाँ