arrow

एन्फाको चुनावी राजनीति चर्कियो, अध्यक्ष र उपाध्यक्षमा चार चार उम्मेदवार ?

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
anfa.jpeg
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्तिक ८ गते हुँदै गरेको अध्यक्ष र उपाध्यक्षको निर्वाचनको सरगर्मी बढ्दै गएको छ । अध्यक्षका लागि कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष कर्माछिरिङ शेर्पा र टासी घलेले उम्मेदवारी घोषणा गरे पनि त्यसमा एआइजी विज्ञानराज शर्मा पनि जोडिएका छन् । र, पनि अहिलेसम्म उम्मेदवारीको फारम भने श्रेष्ठ, शेर्पा र घलेलेमात्र लगेका छन् । समय अझै बाँकी भएकाले पनि शर्माले फारम नलगेका हुन सक्छन् । 
 
नरेन्द्रलाई जिताउनका लागि १० वर्षे प्रतिवन्धमा परेका पूर्व अध्यक्ष गणेश थापा पनि लागेका छन् । एन्फाको विधानमा अध्यक्षको उम्मेदवार बन्न पाँच प्रस्तावक र पाँच समर्थक चाहिने भएकाले पनि खुलेर समर्थक र प्रस्तावक बन्नेको संख्या कम हुने भएकाले घलेका लागि समर्लेथक र प्रस्तावक मिलाउन हम्मे पर्ने देखिन्छ। घलेले तीन जना समर्थक पाइसकेको बताइन्छ । त्यस्तै शर्मा अहिलेसम्म नखुलेकाले पनि यकिन भएको छैन ।  
 
एन्फा प्रवक्ता ईन्द्रमान तुलाधरका अनुसार उपाध्यक्षमा चार जनाले उम्मेदवारी फारम लिएका छन् । मणि कुँवर, संजीव मिश्र, उपेन्द्रमान सिंह र मधुसुदन उपाध्यायले फारम लिएका हुन् । उपेन्द्रले त सोमबार पत्रकार सम्मेलन नै गरी आफू फुटबल विकासका लागि उपाध्यक्ष बन्नैपर्ने जिकिर गरेका छन् । उनकै प्रयासमा मध्यपुर युथ एसोसिएन फुटबल क्लव गठन भएको हो । उपेन्द्रमान खेलाडीहरुको नेतृत्व गर्छन् । उनी पूर्व राष्ट्रिय खेलाडीका साथै प्रशिक्षक हुन् । मणि मनोनित उपाध्यक्ष छन् । त्यस्तै संजीव उपमहासचिव हुन् । मधुसुदन एन्फाका सदस्य हुन् । 
 
फारम लिएर गए पनि अन्तिममा भने मणि र उपेन्द्रमानबीच भिडन्त हुन सक्ने देखिएको छ । फारम लिएर गए पनि दुई जनालेमात्र बुझाउन सक्ने स्रोत बताउँछ । उपाध्यक्षका लागि एक समर्थक र एक प्रस्तावक भए पुग्नेछ ।  गणेश थापा प्रतिवन्धमा परेपछि अध्यक्षको पद खाली छ । त्यस्तै उपाध्यक्ष एवं तत्कालीन कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको गत वर्ष निधन भएपछि उनको ठाउँको उपाध्यक्ष पद पनि खाली छ ।
 
एन्फाको नयाँ कार्यसमिति चुनाव हुन पुगनपुग डेढ वर्षमात्र बाँकी छ । सोही समयसम्मका लागि दुई पदमा भिडन्त हुन लागेको हो । मतदाता नामावलीमा भने अझै विवाद छ । ६९ जनाले मतदान गर्न पाउनेमा विभिन्न जिल्ला र क्लवमा विवाद रहेको एन्फा स्रोतले बताएको छ । प्रतिस्पर्धाको हिसाबले कर्माछिरिङका प्रतिनिधिले सकेको र संस्थापनका प्रतिनिधिले सकेको गरेको बताइन्छ ।त्यसो त जिल्ला फुटबल संघहरुको प्रतिनिधि छनोट विवाद अझै सुल्झिएको छैन । झापा, पर्सा, सर्लाही, सिन्धुपाल्चोक र स्याङ्जामा विवाद देखिए पनि निर्वाचन समितिले भने आइतबार सबै जिल्ला प्रतिनिधिको सूचना टाँसेको छ ।
 
निर्वाचन समिति संयोजक सुजित केसीले प्रतिनिधिको नामावलीबारे मंगलबार दावी विरोध गर्न सकिने बताए । उनले भने, ‘हामीले त प्रमाण हेर्ने हो, जसको बलियो छ उसैलाई राख्ने हो, कुनै व्यक्ति विशेषको भन्ने हुँदैन ।’ 
 
यता, पर्सा, झापा, सर्लाही र सिन्धुपाल्चोक जिल्लाको असन्तुष्ट पक्षले मतदाता नामावली प्रकाशन गर्दा एकलौटी ढङ्गले निर्देशिका विपरित निर्णय गरिएको भन्दै आपत्ति जनाएका छन् । त्यस्तै फ्रेन्ड्स क्लवले पनि तिनै जिल्लाले सोमबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा संयुक्त रुपले विरोध जनाएको हो । 



नयाँ