काठमाडौं । बेलायती अदालतबाट सफाई पाएसँगै नेपाली सेनाका कर्नेल कुमार लामा नेपाल फर्किएका छन् । उनी मंगलबार दिउँसो १ बजेतिर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
दिउँसो १२ बजेतिरदेखि नै उनलाई भेट्नको लागि पुगेका परिवारहरूलाई समेत थाहा नहुने गरी गोप्य राखिएको उनको नेपाल आगमनमा नेपाली सेनाका केही उच्च अधिकारीहरू समेत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । यद्यपि उनको परिवारलाई समेत उनी कतिबेला बाहिर निस्किनेछन् भन्ने विषयमा जानकारी दिईएको छैन ।
उता, सैनिक जनसम्पर्क निर्देशनालयले पनि कर्नेल कुमार लामा नेपाल फर्किएको पुष्टि गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले लामा नेपाल आएको पुष्टि गरे । उनले बेलायती अदालतबाट नेपाल फर्किएका कर्नेल कुमार लामा अब नियमित काममा फर्किने जानकारी पनि दिए ।
अब काममा फर्किँदा उनको कुन पद रहन्छ भन्ने प्रश्नमा भने प्रवक्ता कार्कीले त्यो बेलायति अदालतको फैसलाको पूर्ण पाठ मगाईएको भन्दै त्यो पूर्ण पाठ पाएपछि आन्तरिक छलफल गरेर मात्रै यो विषयमा टुङ्गो लाग्ने जानकारी दिए ।
पारिवारिक स्रोतका अनुसार उनी विमानस्थलबाट सीधै सैनिक मुख्यालय जाने तयारी गरिरहेका छन् ।
सशस्त्र द्वन्द्वको समयमा नेपालमा थुनामा रहेका दुई नागरिकलाई यातना दिएको अभियोगमा साढे तीन वर्षअघि बेलायतमा पक्राउ परेका लामाले सफाई पाएका गत भदौ २१ गते सफाई पाएका थिए ।
लण्डनको चर्चित सेन्ट पल्स गिर्जाघर नजिकै रहेको ओल्ड बेली केन्द्रीय फौज्दारी अदालतले लामाविरुद्धको मुद्दाबारे गएको जेठ २४ गतेबाट सुनुवाई प्रारम्भ गरेको थियो ।
उनीविरुद्धको एउटा मुद्दा साउनमा फैसला भएको थियो । दोस्रो मुद्दाको फैसला कुरिरहेका लामाले सफाई पाएपछि उनलाई नेपाल आउने बाटो पनि खुलेको थियो ।
दुई मध्ये एक व्यक्तिको मुद्दामा लामालाई दोषी ठहर गर्न नसकिने निर्णय जुरीले यसअघि नै सुनाएपछि उनी नेपाल फर्कने सम्भावना कायम राख्दै दोस्रो मुद्दाको पर्खाइका बसेका थिए ।
जुरीको सो निर्णयपछि लामाको मुद्दा पुनः सुनुवाई हुने भनि त्यसअघि भएको निर्णय पनि खारेज भएको थियो ।
एक व्यक्तिको मात्र निर्णय आएपछि लामामाथि लगाइएको यातना सम्बन्धि दुई आरोप पुष्टि हुन नसकेको भन्दै जुरीले यस्तो निर्णय सुनाएको हो । कर्णेल लामाविरुद्ध झण्डै एघार वर्षअघि सशस्त्र द्वन्द्वका क्रममा कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका दुईजना नागरिकलाई यातना दिएको अभियोग थियो ।
गोरुसिंगेका जनकबहादुर राउत र करिम मियाँलाई चरम यातना दिएको आरोपमा ‘युनिभर्सल जुरिस्डिक्सन’ अन्तर्गत उनी बेलायतमा पक्राउ परेका थिए ।
लामा दक्षिण सुडानस्थित संयु्क्त राष्ट्र संघको शान्तिस्थापक नियोगमा कार्यरत थिए । उनी छुट्टीमा बेलायतमा बसोबास गर्ने आफ्ना परिवारलाई भेटन आएका बेला सन् २०१३ को जनवरीमा ब्रिटिश प्रहरीको फन्दामा परे । करिब ढाई महिना पछि लामा धरौटीमा रिहा भएपनि घर आउने अवस्था बनिसकेका थिएन ।
पक्राउ परेकापछि रिहाइका लागि नेपाल सरकारले विभिन्न कूटनीतिक पहल गरेको थियो । यद्यपि, त्यो पहल खेर गयो । आफुलाई चरम यातना दिएको भन्दै मियाँ र राउतले उनीविरुद्ध मुद्दा दायर गरेका थिए । लामाले आरोप अस्वीकार गर्दै आएका थिए ।
बेलायतले संयुक्त राष्ट्र संघ यातनाविरुद्धको महासन्धि अन्तर्गत अन्तर्रा्ष्ट्रिय क्षेत्राधिकार जिकिर गर्दै लामालाई पक्राउ गरेको थियो । लामामाथि बेलायती क्रिमिनल जस्टिस एक्ट १९८८, १३४ ९१० अन्तर्गत मुद्दा चलाइएको थियो ।