काठमाडौं । बुधबार सेप्टेम्बर २१ तारिख । ३५ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस । सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन् १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।
सन् २००१ सम्म सेप्टेम्बरको तेस्रो मंगलबार मनाइँदै आएको यो दिवस २००२ देखि सेप्टेम्बर २१ मा मनाउन थालिएको छ ।
यस वर्षको अन्तर्राष्ट्रिय शान्ति दिवसको नारा ‘दिगो विकासका लक्ष्यः शान्तिका मूलभूत आधार’ भन्ने छ । संसारका सबै देश र जनतामा शान्तिको कामनासहित यो दिवस प्रारम्भ भएको हो ।
नेपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । देशमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको विश्रामसँगै २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात गर्दै नेपालले पछिल्लो समय यो दिवसलाई निरन्तरता दिँदै आएको छ ।
कुनै पनि देशको विकासको मूल आधार शान्ति हो । विकासको मूल आधार मात्र नभएर शान्ति मानव जातिको अमूल्य अधिकार पनि हो । शान्तिको अधिकार भनेको युद्धविरुद्धको अधिकार हो ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को प्रस्तावनामा नै ‘अधिकारहरुको मान्यता नै न्याय र शान्तिको स्थापना गर्नु रहेको’ भनी शान्तिलाई जोड दिइएको छ ।