arrow

राजु अधिकारीको उपन्यास सत्यहरण सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १० मंगलबार
satyagrahan-novel.jpg

काठमाडौं। राप्ती साहित्य परिषद्को आयोजनामा शनिवार दाङको घोराहीमा साहित्यकार डा. राजु अधिकारीको उपन्यास ‘सत्यहरण’ विमोचन भएको छ।

साहित्यकार तथा वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद्का पूर्व अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दाङका साहित्यकार तथा बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो।

समारोहमा पुस्तकको समीक्षा गर्दै साहित्यकार पुष्कर रिजाल ‘पुष्प’ले उपन्यासले हाम्रो समाजले भोगिरहेको एउटा जल्दोबल्दो समस्यालाई सरल तर सटिक रूपमा चित्रण गर्ने उपन्यासको रूपमा आएको बताए।

पूर्वीय धर्म, संस्कृति, सभ्यता र दर्शनमाथि विभिन्न तरिकाले भइरहेका आक्रमणको विषयलाई मूल विषय बनाएको उपन्यासमा लेखकले नेपालको सन्दर्भमा कसले र कसरी यो काम सञ्चालन गरिरहेको छ र यसमा पद, पैसा र अन्य व्यक्तिगत स्वार्थको लागि उच्च ओहदामा बसेका शिक्षित व्यक्तिहरू कसरी प्रयोग भइरहेका छन् भन्ने कुरालाई उजागर गर्ने प्रयास लेखकले गरेका छन्।

मूल विषयसँगै लेखकले पुस्तकमा प्रेमलाई पनि स्थान दिएका कारण उपन्यास रोमाञ्चक पनि बनेको छ। उपन्यासका दुई मुख्य पात्र रक्षा र कैलाशको प्रेम उपन्यासको सुरुवात देखि अन्तसम्म नै प्रेमका अनेक वाधा अवरोध पार गर्दै अगाडि बढ्छ।

स्वैर कल्पना र विज्ञान कथामा कलम चलाउने लेखकले यो उपन्यासमा पनि यी दुवै विधाको थोरै भएपनि प्रयोग गरेका छन्, जसले गर्दा उपन्यास झन् रोचक बनेको छ। उपन्यासको मूल आकर्षण चाहिँ यसको रहस्य हो जुन कुरा उपन्यासको अन्तमा मात्र गएर खुल्छ। 

उपन्यासमा घटेका घटनाहरू कसले, किन र कसरी घटाइरहेको छ भन्ने कुरा पूरै उपन्यास नपढी कल्पना गर्न सकिँदैन।

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष दिपक समिरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदाशी सहित अन्य अतिथिहरूले पुस्तकको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए।

परिषद्का सचिव प्रकाश केसीले सञ्चालन गरेको कार्यक्रममा लेखक राजु अधिकारी तथा प्रकाशक वीरिडको तर्फबाट राजीवधर जोशीले पनि आफ्नो मन्तव्य राखेका छन्।

‘सत्यहरण’ नेपाल भरीका प्रमुख पुस्तक पसल र अनलाईन मार्फत उपलब्ध हुने र पुस्तकको विद्युतीय संस्करण (इ-बुक) थुप्रै डट कम मा उपलब्ध हुने प्रकाशक वीरीडले जनाएको छ। ३ सय २५ पृष्ठको पुस्तकको मूल्य रू. ६२५ तोकिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ