arrow

फुटबल संघमा मतदाता नामावली विवाद: पर्सा, फ्रेन्डस् र मच्छिन्द्रलाई भागै लिन नदिने निर्णय

logo
प्रकाशित २०७३ असोज ६ बिहिबार
ANFA.jpeg
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्तिक ८ गते हुने चुनावमा मतदाता नामावलीमा भएको विवादले चरम रुप लिएको छ । 
 
विभिन्न चार जिल्ला र दुई क्लवका प्रतिनिधि विवादमा निर्वाचन समितिले कसैको दबाबमा निर्णय गरेको भन्दै चित्त नबुझेका जिल्ला र क्लवले पुनरावेदन गर्दैछन् । 
 
बुधबार निर्वाचन समितिले प्रक्रियासमेत पूरा नगरी एन्फाका निलम्बित अध्यक्ष गणेश थापाको दबाबमा निर्णय गरेको भन्दै असन्तुष्ट जिल्ला र क्लवका पदाधिकारीले आपत्तिसमेत जनाएका छन् । 
 
पर्सा, सिन्धुपाल्चोक, झापा, फ्रेन्डस् क्लव र मच्छिन्द्र क्लवले निर्वाचन समितिको एकलौटी निर्णयको विरोध गर्दै पुनरावेदन गर्न लागेका हुन् । 
 
निर्वाचन समितिले बुधबार दिउँसो दावी विरोधको फैसला गर्ने क्रममा बेलुकीमात्र जानकारी गराएको थियो । 
 
दावी विरोधको छिनोफानो के के भयो त ? 
 
निर्वाचन समितिले पर्सा, फ्रेन्डस् र मच्छिन्द्र क्लवलाई भागै लिन नदिने निर्णय गरेको छ । 
 
पर्सा जिल्ला– अध्यक्ष मनोज भट्टराईले दिएको दावी विरोधलाई निर्वाचन समितिले भट्टराईकै अध्यक्षतामा१३ सदस्यीय कार्यसमिति हुनुपर्नेमा ११ सदस्यीयमात्र भएको भन्दै अहिले आएर निर्वाचन समितिले अवैध घोषणा गरेको छ । 
 
सिन्धुपाल्चोक जिल्ला– पुरानै अध्यक्षको हस्ताक्षरमा प्रतिनिधि आएकाले त्यसलाई वैधानिकता प्रदान गरिएको ।
 
मच्छिन्द्र क्लव – दुई वटा छुट्टाछुट्टै कार्यसमितिले दावी गरेकाले दुवैको वैधानिकता नदेखिएको । 
 
झापा जिल्ला – पुरानै अध्यक्षको हस्ताक्षरमा प्रतिनिधि आएकाले त्यसलाई वैधानिकता प्रदान गरिएको । 
 
सर्लाही जिल्ला – सर्लाहीको निर्णय उल्टिएको छ । पहिले मतदान अधिकारप्राप्त प्रतिनिधिको नाम राजेशकुमार मैनाली रहेकामा अहिले दावी विरोधमा उल्टिएर तुलसीराज घिमिरे आएका छन् । 
 
फ्रेन्डस् क्लव – अध्यक्ष रत्नविक्रम राणा र मुकुन्द विष्टको दुवै जनाको नाम आएकाले भन्दै खारेज गरेको छ । राणाले राजीनामा दिएको र नयाँ कार्यसमिति पनि नबनेको र वैधानिकता समाप्त भएको भनेर निर्वाचनमा भाग लिन नदिने निर्णय निर्वाचन समितिले गरेको छ । 
 
यो निर्णयपछि अब चित्त नबुझे पुनरावेदन गर्न सकिने निर्वाचन समिति संयोजक सुजित केसीले जनाएका छन् । 
 
पुनरावेदनको संयोजक गोपालकृष्ण घिमिरे हुन् । यो पुनरावदेश समितिमा भने सबै वकिलहरु रहेका छन् । 
 
कार्तिक ८ गते हुने एन्फाको अध्यक्ष र उपाध्यक्षको निर्वाचनका लागि अहिलेसम्म अध्यक्षका लागि ३ जना र उपाध्यक्षका लागि ५ जना आकांक्षी देखिएका छन् । 
 
उम्मेदवारी दर्ता भने कसैले गराएका छैनन् । दर्ता गराउने समय असोज ९ गते दिउँसो ३ बजेसम्म मात्र हो । 
 
अध्यक्षका लागि ३ तथा उपाध्यक्षका लागि ५ जनाले उम्मेदवारीका लागि उम्मेदवारी फर्म लिएर गएका छन् । 
 
यता केन्द्रीय सदस्य सदस्य पंकज विक्रम नेम्वाङ्गले भने निर्वाचन समितिले गद्धारी गरेको आरोप लगाएका छन् । 
 
विपक्षीलाई मतदान गर्छ भनेर निर्वाचन समितिले आफ्ना मान्छेलाई जिताउन विवादपूर्ण निर्णय गरेको आरोप लगाएका छन् । 
 
उनले भने, ‘निर्वाचन समितिमा केसी दाजुभाइहरु बसेका छन् । दाइभाइ मिलेर यस्तो गर्लान् भन्ने सोचेकै थिइन ।’
 
 
 



नयाँ