arrow

'जनमत स‌ंग्रहमा राजाको नाटक र विपीको विश्वास'

logo
हरिहर विरही,
प्रकाशित २०७३ असोज ६ बिहिबार
BP-BirenDra.jpeg
काठमाडाैं । २०३६ को मध्यतिर । केन्द्रबाट प्रचार सामग्री मागेको थिएँ । किसुनजीले काठमाडौं आउनुस् भन्नुभयो । म उहाँको कुपण्डोल निवासमा गएँ । उहाँले सोध्नुभयो, “तपाईंको जिल्लाबाट को–को आउनुभएको छ ?”
 
मैले प्रश्नको सान्दर्भिकता नबुझी भनें, “म एक्लै हो ।”
 
उहाँले भन्नुभयो, “तपार्इंको जिल्लालाई तीनवटा कोटा दिएको छु, तीनजनाले भाग लिन सक्नुहुन्छ ।”
 
म अलमलिएको देखेपछि उहाँले भन्नुभयो, “पर्सि पार्टीको स्टेयरिङ कमिटीको बैठक छ । यो पार्टीको स्थायी समिति हो, महासमिति नभएको अवस्थामा यसले महासमितिको काम गर्छ । 
 
त्यसैले यसलाई महासमिति नै भने पनि हुन्छ । विपी, गणेशमानजीले त्यो गठन गर्ने जिम्मा मलाई दिनुभएको छ । निकै पावरफुल हुन्छ यो समिति । पार्टीको मूल नीति निर्माण अब यही कमिटीले गर्छ । त्यसमा तपार्इंको नाम लेखिसकेको छु, सिन्धुलीका अरु दुईजनाको नाम टिपाउनुस् ।”
 
म छक्क परें, पार्टीको यति महत्वपूर्ण समिति बन्दै रहेछ । त्यसमा मलाई पनि राखिएको रहेछ । तर कुनै सूचना छैन । कुनै जानकारी छैन । म यो कामले आएको होइन । कसैले बोलाएर पनि आएको होइन । संयोगले आइपुगेकाले भाग लिन पाउने भएँ, नत्र कसैले खबर गर्ने पनि थिएनन् । मैले ‘म भोलि नाम दिन्छु’ भनें । त्यसपछि तत्काल काठमाडौंमा सिन्धुलीका को–को साथी छन् भनी पत्ता लगाउने कोसिस गरें । उनीहरुलाई भेटें । भोलिपल्ट किसुनजीलाई भेटेर ‘हाम्रो जिल्लाबाट चारजना राखिदिनुस् न’ भन्दै अरु तीन नाम लिएँ– विपिन कोइराला, अर्जुन बराल र भरत बराल ।
 
दुईदिनपछि चाबहिलस्थित विपी कोइराला निवासस्थानको भुइँतल्लाको हलमा बैठक प्रारम्भ भयो । हल खचाखच भरिएको थियो । आधाजति मानिस भित्र नअटेर बाहिरै बसेका थिए । कुनै जिल्लाका कोही पनि थिएनन् । सबै जिल्लामा जिल्ला समिटी गठन भइसकेको पनि थिएन र दुर्गम जिल्लाका साथीहरुलाई खबर पठाउन सहज पनि थिएन । कुनै जिल्लाबाट थुप्रै मानिस सहभागी थिए ।
 
विपी, गणेशमानजी र किसुनजी लस्करै कुर्सीमा बस्नुभएको थियो भने सहभागीहरु भुइँमा पलेटी कसेर बसेका थिए । बैठकको विवरण लेख्ने जिम्मा योगप्रसाद उपाध्यायले पाउनुभएको थियो । 
 
किसुनजीले विषय प्रवेश गर्नुभयो, गणेशमानजीले लामो व्याख्यान दिनुभयो र विपीले म बाँकी कुरा पछि भन्छु भन्दै सङ्क्षिप्त मन्तव्य दिनुभयो ।
 
गणेशमानजीले भन्नुभयो– राजाले जनमत सङ्ग्रहको घोषणा जनताप्रति दयामाया भएर होइन, आन्दोलनबाट जोगिनका लागि गरेको नाटक हो, उसको नियत राम्रो देखिएको छैन, धाँधली र पक्षपात हुने सम्भावना प्रशस्त छ, तपाईंहरु ढुक्क नहुनुहोस् ।
 
“राजा सबैको साझा हुनुपर्ने हो, तर उनी अहिले पनि भ्रष्ट पञ्चहरुको मात्र राजा भएर बस्न चाहिरहेका छन् । हाम्रो कुरा नसुनी यसैगरी पञ्चहरुलाई काँधमा बोकिरहे भने आफू पनि डुब्छन्, देशलाई पनि डुबाउँछन् । हाम्रो त कुरै छोड्नोस् । जनता लहैलहैमा जता पनि लाग्न सक्छन् । 
 
यहाँका जनतामाथि धेरै भर गर्नु हुँदैन । २०१५ सालको चुनावको परिणाम हेर्नुस् न । हाम्रो दुईतिहाइ आयो, ठिकै हो । तर मेरो र पुष्पलालको मतको अन्तर हेर्नुस् न । मेरो जम्मा १० हजार ९ सय ८६, पुष्पलालको ७ हजार ८ सय ४८ । कति फरक भयो ? जम्मा दुईतीन हजार मात्रै त हो नि ! त्यसमाथि प्रेमबहादुर शाक्यले पनि झन्नै पुष्पलाल जति मत पाएको थियो । 
 
के उनीहरुको तुलनामा मैले त्यति मात्र मत पाउनुपर्ने हो ? राणा शासन ढाल्न उनीहरुको के योगदान थियो ? त्यत्रो जनक्रान्तिको विरोध गर्नेहरुको जमानत जफत गर्नुपर्ने होइन ? त्यसैले त म काठमाडौंका जनतालाई भेडो भन्छु । गुहु र गोबर छुट्याउन नसक्ने ।
 
“मैले यसो भनेको धेरैलाई मन पर्दैन । ऊ विश्वेश्वरबाबु पनि जनतालाई गाली गर्नुहुँदैन, जनता भनेको जनार्दन हुन्, भगवान हुन् भन्नुहुन्छ । तर म जन्तु भन्छु । हेरिरहनुहोला, यो चुनावको नतिजा के हुन्छ ? म शुभलक्षण देखिरहेको छैन । काठमाडौंका जनताको भरोसा गर्नु हुँदैन । 
 
यिनीहरु सधैं रियाक्सनरीहरुको पछि लाग्छन् । अब तपाईंहरुले पनि महसुस गर्नुहोला । जनताको बुद्धि र इमान भए भ्रष्टाचारी, जनविरोधी महापञ्च, पञ्चहरुलाई ठाउँठाउँबाट लखेट्नुपर्ने होइन ? 
 
हाम्रो पक्षमा लहर आउनुपर्ने होइन ? तर खै ? त्यसैले होसियार हुनुस् । पञ्चायतले हार्ला जस्तो भयो भने राजाले एउटा निहुँ पारेर चुनाव रोकाइदिन बेर छैन । त्यसपछि के गर्ने, त्यतातिर पनि ध्यान दिनुहोला ।”
 
विपीले चाहिँ गणेशमानजीभन्दा ठीक विपरीत, राजा र जनताप्रति विश्वास प्रकट गर्दै भन्नुभयो, “तपार्इंहरु जनताबीच जानोस् । जनतालाई प्रजातन्त्रको महत्व बताउनुस् । के कुनै मानिसले जानीजानी गुलामी रोज्छ ? तर, उसलाई हामीले सम्झाउन सक्नुपर्छ कि प्रजातन्त्र के हो ? बहुदल के हो ?”
 
अधिकांश सहभागीले सरकार निष्पक्ष नरहेको, प्रशासन पञ्चहरुको कठपुतली बनेको, सरकारी साधनस्रोतको व्यापक दुरूपयोग भइरहेको, ठाउँठाउँमा पञ्चहरुले प्रशासनको आडमा व्यापक गुण्डागर्दी गरी हाम्रा कार्यक्रम बिथाल्ने, कतै कार्यक्रम हुनै नदिने, स्कुल–कलेजको हाता र चौरमा पनि सभा गर्न रोक लगाउने, हाम्रा कार्यकर्तामाथि झुठा मुद्दा लगाएर थुनाउने, तर्साउने तथा पञ्चायततिर लाग्नेलाई नयाँनयाँ परियोजना, जङ्गल काट्ने छुट, सार्वजनिक जग्गामा घर बनाउने छुट तथा पैसाको व्यापक विवरण भइरहेको जानकारी दिए ।
 
धेरैजसो वक्ताले यो सरकार खारेज गरी अर्को निष्पक्ष सरकार बनाउन तथा सत्ता र शक्तिको दुरूपयोग रोक्न विपीले राजालाई भन्नुपर्ने राय प्रकट गरे । यदी निष्पक्ष नभएकामा चुनाव जित्न गाह्रो छ भन्ने भनाइ धेरैको थियो भने कसैकसैले आफ्नो जिल्लामा बहुदलको लहर आएको, महापञ्चहरु दुलोभित्र लुकेको र कयौं पञ्चहरु नेपाली कांग्रेसमा प्रवेश गर्न इच्छुक रहेको बताउँदै बहुदल पक्ष अत्यधिक मत विजयी हुने दाबी गरे । (यस्तो मनचिन्ते आशावादी विचार प्रकट गर्नेहरुको जिल्लाको परिणाम भने प्रायः पञ्चायत पक्षमा आयो ।)
 
वक्तामध्ये सप्तरीका इन्द्रदेव सिंहले बढी थपडी पाए । उनले राजा र प्रशासन निष्पक्ष नरहेको, प्रशासनिक शक्ति र राष्ट्रिय ढुकुटी हाम्रो विरूद्ध खुलेआम प्रयोग भइरहेको बताउँदै भने, राजामाथि भरोसा ग¥यौं भने धोका हुन्छ । जनता प्रजातन्त्र र बहुदलको पक्षमा लाग्न चाहन्छन्, तर यता लाग्दा कुटिन्छ, लुटिन्छ, मारिन्छ भन्ने डर छ । उनीहरुलाई सुरक्षाको अनुभूति गराउन सक्नुपर्दछ । त्यो हाम्रो तर्फबाट भइरहेको छैन । जनताको मनबाट डर हटाउनु जरूरी छ । यसका लागि पञ्चहरुसँग बन्दुक छ भने हामीसँग कमसेकम लाठी त हुनुप¥यो नि । 
 
हाम्रो बन्दुक विश्वेश्वर बाबुले थन्क्याइहाल्नुभयो, तर हामी उनीहरुको बन्दुकको जवाफ लाट्ठीले नै दिन सक्छौं । त्यसैले चुनाव जित्ने हो भने अलिकति पैसा र ५०–६० हजार लाट्ठीको प्रबन्ध गर्नु जरूरी छ । ती ठूल्ठूला लाट्ठीमा तेल लगाएर मजबुत बनाउनुपर्छ । त्यो देखेपछि पन्चेहरु टाढैबाट भाग्छन् ।
 
“काठमाडौंमा बस्ने तपार्इंहरुले त्यस्तो लट्ठीको ताकत देख्नुभएकै छैन । हामी तराईबासीलाई थाहा छ । सफा कुरा– पन्चेहरु बन्दुक चलाउने, हामीचाहिँ ‘राम राम’ भन्ने हो भने जनता हाम्रो पछाडि आउँदैनन् । अनि अलिअलि पैसा पनि चाहिन्छ । उनीहरु खसी काट्छन् भने हामीले पनि फर्सी–लौका त खुवाउनुप¥यो नि । भात नसके चिउरा दिनुप¥यो । पन्चेहरुले राजनीतिक कार्यकर्ताको चरित्र र जनताको बानी बिगारिदिएका छन् । त्यसैले उनीहरु भाषणसँगै रासनको पनि आशा गर्छन् । के गरी व्यवस्था गर्ने हो, नेताहरुले गर्नुप¥यो । जनताबीच रित्तै, लुरूलुरू, लट्ठी नलिई, पैसा पनि नलिई गएर नहुने रहेछ भन्ने मेरो अनुभव छ,“ उनले यसोभन्दा सहभागीहरु आफ्नो भावना अभिव्यक्त भयो भनी दंग परेका थिए ।
 
सहभागीको मन्तव्य सकिएपछि किसुनजीले छलफलको निष्कर्ष र पार्टीको निर्देशन छिट्टै लिखित रुपमा जिल्लाजिल्लामा पठाइने बताउनुभयो । बिपीले फेरि बोल्नुभयो, जसमा पहिले भनेकै कुरालाई अझ विस्तार गर्नुभयो ः “आज हामीले राजालाई तपाईंले बनाएको सरकार रह्यो भने हामीले नजित्ने भयौं, यसलाई हटाएर अर्को बनाउनुस् भनेर बिन्ती गरौंला ल, त्यो पनि उनले मानिदेलान् । 
 
त्यसपछि पञ्चायती निकाय खारेज गरिदिनुस् भनांैला, त्यो पनि गरिदेलान् । अनि ? त्यसपछि पनि हाम्रो स्थिति राम्रो बनेन भने के भन्ने ? हामीले नजित्ने भयौं, तपाईंले नै जिताइदिनुप¥यो भन्न जाने ? त्यस्तै जनमत सङ्ग्रह खोजेको हो हामीले ? के तपाईंहरुलाई जनतामाथि भरोसा छैन ? जनतालाई त्यति कमजोर र बुद्धु नठान्नुस्, जस्तो कि म तपाईंहरुको भनाइमा पाइरहेको छु । जनता हाम्रो पक्षमा छन् । चुनाव गुप्त मतदानबाट हुन्छ । 
 
जनतामाथि आस्था र विश्वास हुने पार्टीले चुनावमा जाने अवसर पाइसकेपछि अब यसो गरिदेऊ, उसो गरिदेऊ भनेर माग्दै, सर्त राख्दै हिँड्नु नैतिक, राजनीतिक कुनै पनि दृष्टिले ठीक हुँदैन ।
 
“यत्ति कुरा बुझिराख्नुस्”, विपीले आफ्नो विश्वास दृढतासाथ व्यक्त गर्नुभयो, “प्रजातन्त्र नभए राष्ट्र नै नरहने अनुभूति भएपछि राजाले यो कदम उठाएका हुन् । यो कदमले राजा पञ्चहरुको कैदबाट मुक्त भएका छन्, स्वतन्त्र भएका छन् । पञ्चहरुलाई बोक्ने दायित्वबाट पन्छिएका छन् । स्वतन्त्र र उन्मुक्त भइसकेको मान्छे फेरि स्वेच्छाले त्यही अँध्यारो सुरूङमा फर्किन्छ ? तपाईंहरु यत्ति पनि बुझ्नुहुन्न ?”
 
बैठक सकिएपछि धेरै मानिस गए । गणेशमानजी पनि हिँड्नुभयो । त्यसपछि बाँकी रहेका १०–१५ जनाको बीचमा विपीले फेरि अघिको प्रसङ्ग जोड्दै भन्नुभयो, “हुँदाहुँदा अब लाठी चाहियो रे । ५०–६० हजार लाठी । त्यत्रो सङ्घर्ष गरेर बम, बन्दुक, सबै हतियार बिसाएर मेलमिलापको नीति अपनाएर आएका हामी अब लट्ठी खोज्नेतिर लाग्ने ? बन्दुक छोडेर लट्ठी बोक्ने ? साथीहरुको विचार सुन्दा म छक्क पर्छु । म एउटा कुरा भन्छु, साथीहरु ठीक उल्टो कुरा भन्छन् । म राजामाथि विश्वास गरौं भन्छु, साथीहरु शङ्कैशङ्का गर्छन् । मैले विनासर्त जनमत सङ्ग्रहको स्वागत गरें, साथीहरु सर्तैसर्त तेस्र्याउँछन् । यस्तो भएपछि राजाले हामीमाथि कसरी भरोसा गर्छन् ? राष्ट्रिय मेलमिलापको मेरो नीति राजालाई फकाउने रणनीति मात्र त होइन नि, यो मेरो आस्था हो । त्यसैको परिणाम देशमा यति महत्वपूर्ण परिवर्तन आरम्भ भएको छ । तैपनि साथीहरु बुझ्दैनन् । हुँदाहुँदा अब लट्ठीको व्यवस्था पनि गर्नुप¥यो रे ।”
 
================
 
जनमत सङ्ग्रहमा जसरी भए पनि पञ्चायत पक्षलाई जिताउने अभिप्रायले राजा वीरेन्द्रले कीर्तिनिधि बिष्ट नेतृत्वको सरकार हटाएर सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । पाएको जिम्मेदारी पूरा गर्न जस्तोसुकै कर्म गर्न पनि तत्पर रहने थापाले नियुक्ति पाउनासाथ बहुदल पक्षलाई कमजोर पार्न तथा पञ्चायतलाई जिताउन हरेक अस्त्र प्रयोग गरे । 
 
यद्यपि प्रधानमन्त्री नियुक्त हुनुभन्दा केही दिन अघिसम्म उनी ‘जनताको भावनाको सम्मान गर्दै’ बहुदल पक्षमा लाग्ने मनस्थितिमा थिए । देशमा चलिरहेको ‘द्वैध प्रशासन’ को अन्त्य गर्नुपर्ने नारा दिएबापत राजाको निर्देशनमा कीर्तिनिधिकै सरकारले २०२८ सालमा उनलाई थुनेको थियो र रिहाईपछि उनी पञ्चायतमा समसामयिक सुधार हुनुपर्ने विचार राख्दै आफूलाई प्रजातान्त्रिक धारमा उभ्याउने प्रयत्न वा नाटक गरिरहेका थिए । 
 
जनमत संग्रह २०३७ साल वैशाख २० मा भयो । पूर्वप्रधानन्यायाधीश भगवतीप्रसाद सिंहको अध्यक्षतामा चुनाव प्रयोजनका लागि गठन गरिएको राष्ट्रिय चुनाव आयोगले जेठ १ गते मतदानको परिणाम घोषणा ग¥यो । घोषित परिणाम अनुसार खसेको कुल मत ४६,१३, ४८६ (६६ दशमलब ९२ प्रतिशत) मा सदर ४४,४१,४१७ (९२ दशमलब २७ प्रतिशत) मध्ये ‘समसामयिक सुधारसहितको पञ्चायत पक्ष’ले २४,३३,४५२ (५४ दशमलब ७९ प्रतिशत) तथा ‘बहुदलीय शासन व्यवस्था’ पक्षले २०,०७,९६५ (४५ दशमलब २१ प्रतिशत) पायो । त्यस चुनावका जम्मा मतदाता ७१,९२,४५१ थिए ।
 
घोषित नतिजाले बहुदल पक्षलाई स्तब्ध र क्षुब्ध बनायो भने पञ्चायत पक्षले व्यापक हर्षबढाइँ ग¥यो । राजा र राजपरिवारले पञ्चायतलाई जिताउन सामदाम दण्डभेद सबै अस्त्र मात्र प्रयोग गरेनन् चुनावको मुखमै २०३६ पुस १ गते राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै चुनावमा पञ्चायत पक्षले जिते पनि समसामयिक सुधार गर्दैप्रजातान्त्रिक मूल्यमान्यतालाई अङ्गीकार गरी अगाडि बढ्ने प्रत्याभूति दिए । 
 
राजाको सम्बोधनमा ती कुरा उल्लेख थिए, जुन ‘पञ्चभेला’ ले पारित गरेको थियो । यसले राजा निष्पक्ष नरहेको आशङ्कालाई औपचारिक रुपमा पुष्टि ग¥यो ।
 
यसरी सोझो, भद्र र तुलनात्मक रुपमा प्रजातान्त्रिक मानिने राजा वीरेन्द्रले कुटिल चाल र कपटी शैली अपनाएर मुलुकलाई प्रजातान्त्रिक युगमा फट्को मार्नबाट रोके । राजा महेन्द्रले असंवैधानिक रुपले सैन्य बलद्वारा बहुदलीय संसदीय प्रणालीको हत्या गरेर ल्याएको निर्दलीय अधिनायकवाद अर्थात निरङ्कुश राजतन्त्रलाई जनमत सङ्ग्रहमा उतारेर वैधता दिलाए । 
 
राजामाथि विश्वास गर्नेहरुमाथि अक्षम्य विश्वासघात थियो त्यो । त्यसैले उक्त परिणामबारे बहुदल पक्षको प्रतिक्रिया एउटै प्रकारको रहेन ।
 
गणेशमान सिंह, मनमोहन अधिकारी, डा. डिल्लीरमण रेग्मी, केशरजङ्ग रायमाझी, तुलसीलाल अमात्य, विष्णुबहादुर मानन्धर, सहाना प्रधान आदिले चुनावमा सरकारले व्यापक रुपमा धाँधली गरेकोले नतिजा स्वीकार नगरी अर्को प्रकारको सघर्ष गर्नुपर्ने विचार व्यक्त गरे । 
 
चुनावमा ठोस निर्णय गर्न नसकी सुरूमा बहिष्कारको नारा दिँदै बहुदल पक्षको कार्यक्रम भाँड्ने र जनमत सङ्ग्रह नाटक हो भन्ने उग्रवामपन्थी नेताहरुले अफ्नो विश्लेषण सही सावित भएको दाबी गर्दै सशक्त आन्दोलनका लागि आह्वान गरे । त्यतिखेर सबैभन्दा अप्ठ्यारो अवस्थामा विपी कोइराला हुनुहुन्थ्यो ।
 
पञ्चायतविरूद्ध संयुक्त मोर्चा बनाउन तथा चुनावका लागि पूर्वाधार निर्माणको सर्त राख्न जोड गर्ने वामपन्थी र गैरवामपन्थी नेता र समूहहरुका अतिरिक्त नेपाली काङ्ग्रेसभित्रैको एउटा समूह, जो आफूलाई गणेशमानवादी भनी दाबी गथ्र्यो, पनि बिपीप्रति क्रुद्ध थियो । 
 
उनीहरुले यो परिणामका लागि बिपीलाई दोष दिँदै उहाँ विरूद्ध नाराबाजीसमेत गरे । तर बिपी कोइराला आफ्नो प्रतिष्ठा र अस्तित्वसमेत धरापमा परेको त्यो अति गम्भीर संवेदनशील र तनावपूर्ण अवस्थामा पनि आफ्नो मान्यताबाट किञ्चित पनि दायाँबायाँ हुनु भएन ।
 
उहाँले जेठ १ गते बेलुका बिबिसीमार्फत प्रतिक्रिया दिँदै राष्ट्रिय जनमत सङ्ग्रहको परिणाम ‘अप्रत्याशित र व्याख्या गर्न नसकिने प्रकारको’ भएको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने बताउनुभयो । उहाँले सबैलाई धैर्य र संयम अपनाउने र प्रजातान्त्रिक आदर्श नछोड्न आह्वानसमेत गर्नुभयो । 
(यही असोज ६ गते बिहीबार लोकार्पण हुने बरिष्ठ पत्रकार विरहीको कृति ‘आगो निभेको छैन’को एक अंश हो। फाइन प्रिन्टद्वारा प्रकाशित उक्त पुस्तक अनलाइनबाट पनि किन्न सकिन्छ र उपत्यकाभरी निशुल्क होम डेलिभरिको व्यवस्था छ।)
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ