काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारिता क्षेत्रले मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक रुपान्तरणमा सकारात्मक भूमिका निर्वाह गरेको बताएकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा विहिबमार प्रेस काउन्सिल नेपालको ४७औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सञ्चारमाध्यमलाई राष्ट्र, समाज र नागरिकप्रति जिम्मेवार एवम् उत्तरदायी बनाउनु पर्नेमा जोड दिइन् । संचारमाध्यमले संवैधानिक प्रावधानको पालना गर्नु पर्नेमा राष्ट्रपतिको मुख्य जोड थियो ।
समाजमा अत्यन्त जागरुक र राष्ट्रको समष्टिगत विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना सम्प्रेषण गर्ने अहम् दायित्व बोकेको पत्रकारिता क्षेत्र राज्यको चौथो अङ्गका रुपमा रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले पत्रकारिता पेसालाई थप जिम्मेवार र उत्तरदायी बनाउनुपर्ने धारणा व्यक्त राखिन् ।
राष्ट्रपति भण्डारीले पत्रकारिता पेसाका मूल्य तथा मान्यतालाई आत्मसात् गरी लोककल्याणकारी राज्यले अङ्गिकार गरेको सामाजिक न्यायमा आधारित समाजको स्थापनामा राज्यको चौथो अङ्गले मार्गदर्शक र नेतृत्वदायी भूमिका खेल्नसक्ने विश्वास गरिन् । यो पेसालाई अझ बढी जिम्मेवार र उत्तरदायी बनाई जनविश्वास बढाउने कार्यमा प्रेस काउन्सिल सधैँ सजग हुने आशा पनि गरिन् ।
राष्ट्रपति भण्डारीले सूचना तथा सञ्चार प्रविधिमा आएको अभूतपूर्व विकासका कारण यो क्षेत्रको दायरा अझ बढी व्यापक र संवेदनशील हुँदै गएको र सञ्चारमाध्यममा पनि प्रतिस्पर्धा बढेको चर्चा गर्दै यस्तो अवस्थामा नियमनकारी निकाय–संस्थाको हैसियतमा काउन्सिलले यसैअनुरुप आफ्नो दक्षता पनि बढाउन आवश्यक रहेको औँल्याइन् ।