arrow

पाँच महिनापछि चल्यो मोबाइल

logo
प्रकाशित २०७२ मंसिर २१ सोमबार
खोटाङ । यस जिल्लाको दक्षिणी क्षेत्रमा अवरुद्ध भइआएको मोबाइल सेवा पाँच महिनापछि सञ्चालनमा आएको छ । काहुले–८ मा पर्ने होङ्मापोखरीस्थित टावर मर्मत गरिएपछि स्काई र नमस्ते मोबाइल सेवा सञ्चालन भएको हो । 

पावर युनिटमा समस्या देखिएको र टेलिकमको क्षेत्रीय कार्यालय विराटनगरबाट सामान ल्याएर फेरेपछि आइतबार बेलुकादेखि मोबाइल सेवा सञ्चालन भएको टेलिकम खोटाङका प्रमुख भरोसी साहले जानकारी दिए। 

साहका अनुसार टावरका लागि आवश्यक सामग्री टाढाबाट ल्याउनुपर्ने भएकाले लामो समयसम्म मोबाइल सेवा अवरुद्ध हुनपुगेको हो । मोबाइल सेवा सञ्चालनमा आएपछि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने काहुले, चिप्रिङ, लिकुवापोखरी, इन्द्रेणीपोखरी, वाप्लुखा, सिम्पानी, लिच्किराम्चे, खोटाङबजार, सावाकटहरे, बडकादियाले, डम्बर्खुशिवालय, चिसापानी, बोपुङ, दिप्लुङ, मौवाबोटे, देवीस्थान, पौवाशेरा, फाक्टाङ, बाराहापोखरी, सुन्तलेलगायत छिमेकी जिल्ला उदयपुर र भोजपुरका केही गाविसका सेवाग्राही हर्षित भएका छन् । 

होङ्मापोखरीमा जडान गरिएको टावरमा आएको खराबीका कारण गत असारदेखि दक्षिणी क्षेत्रमा सञ्चालित सिडिएमए र जिएसएम मोबाइल सेवा अवरुद्ध भएको थियो । दक्षिणी क्षेत्रमा यसअघि पनि पटकपटक यस्तो समस्या आउने गरेको काहुलेकी अनिता राईले जानकारी दिईन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ