काठमाडौं । जाजरकोटका यामसाजन सुनार र सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी दिलमाया कार्कीले चौथो गोल्डेन स्प्रिन्ट मिटमा दोहोरो स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विहिबार भएको प्रतियोगतामा यामले पुरुष १ सय र २ सय मिटर दौडमा स्वर्ण जिते । १ सय मिटर दूरी यामले १०.५ सेकेन्डमा पूरा गरे । भारतका सिद्धान्त बोरारा दोश्रो तथा ललितपुरका आशिष खत्री तेश्रो भए । २ सय मिटर दूरी पार गर्न यामले २१.६ सेकेन्ड समय खर्चे । बाराका नीलप्रताप महतो दोश्रो तथा ललितपुरका आशिष खत्री तेश्रो स्थानमा रहे ।
दिलमायाले २ सय र ४ सय मिटर दौडमा शीर्ष स्थान कब्जा गरिन् । दिलमायाले २ सय मिटर दूरी २६.३ सेकेन्डमा तय गरिन् । एपीएफका सरस्वती चौधरी दोश्रो तथा भगीरथी चौधरी तेश्रो बने । ४ सय मिटर दूरी दिलमायाले ६० सेकेन्डमा तय गरिन् । एपीएफकी भगीरथी चौधरी दोश्रो तथा भारतकी संगीता भउर्सिया तेश्रो भए ।
महिला १ सय मिटर दौडमा एपीएफकी सरस्वती चौधरीले स्वर्ण जितिन् । सरस्वतीले निर्धारित दूरी तय गर्न १२.७ सेकेन्ड समय निकालिन् । बर्दियाकी प्रमिला थारु दोश्रो तथा भारतकी भविष्य कोठारी तेश्रो भए ।
पुरुष १ सय १० मिटर हर्डल्स (बाधा दौड) मा जिवराज शाही पहिलो भए । उनले १७.५ सेकेन्ड समय खर्चे । एपीएफका सत्तबहादुर बुढा दोश्रो तथा नारायण महतो तेश्रो भए । महिला १ सय मिटर हर्डल्समा भारतकी भविष्य कोठारी पहिलो भइन् । भविष्यको टाइमिङ १६.६ सेकेन्ड रह्यो । एपीएफकी सविता चौधरी दोश्रो तथा बर्दियाकी प्रमिला थारु तेश्रो स्थानमा रहे ।
नेपाल एथलेटिक्स संघ र काठमाडौं रोड रनर्स क्लब अल्मुनाइद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ४ सय मिटर दौडमा नेपाल आर्मी क्लबका सोमबहादुर कुमाल पहिलो भए । उनले निर्धारित दूरी ४८.२ सेकेन्डमा सकाए । एपपीएफका आशिष चौधरी दोश्रो र नीरप्रताप महतो तेश्रो भए ।
विद्यालयतर्फ छात्र १ सय मिटर दौडमा सिन्धुलीका खिलबहादुर कार्की पहिलो भए । उनले १२ सेकेन्ड समय लगाए । सो स्पर्धाको छात्रामा १३.५ सेकेन्ड समय खर्चदै आईडियल मोडेल स्कुलकी लुजला अमात्य शीर्ष स्थानमा रहिन् ।
विजेतालाई एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाहलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । एकदिने प्रतियोगितामा विद्यालयतर्फ बाहेक सबै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गरे ।