काठमाण्डौँ । सहरी विकास मन्त्रालयको आयोजनामा काठमाडौंमा सहरी यातायात व्यवस्था संवन्धि बिज्ञ समूहको दुईदिने वैठक विहिवारवाट सुरु भएको छ । एशिया प्रशान्त क्षेत्रका २० राष्ट्रका ८० जना बिज्ञहरुको सहभागिता रहेको वैठकको सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले एक समारोहका वीच उद्घाटन गरे ।
वैठकमा मन्त्री केसीले यातायात क्षेत्रमा सुधारका लागि नयाँ नियम र योजनाहरुको निर्माण भइरहेको र यसले यातायात क्षेत्र र शहरी यातायातमा आमुल परिवर्तन ल्याउनेमा कुनै शंका नभएको स्पष्ट पारे । उनले सहरलाई जोड्ने सडकहरु र यातायातलाई परिमार्जन गर्दै जानुपर्नेमा पनि जोड दिए ।
मन्त्री केसीले विश्वभरि नै सहरी विस्तारको गतिले तीब्रता लिइरहेको परिणामस्वरुप सहरी यातायात प्रणालीले सर्वसाधारणको आवागमनको खाँचोलाई पूरा गर्नुपर्ने वताउँदै सार्वजनिक आवागमन तथा यातायातको वातावरणीय अनुकूलताका साथ दीगो तरिकाले यथेष्ट र उपयुक्त उपयोग हुनु जरुरी रहेको वताए ।
कार्यक्रममा भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले यातायात क्षेत्रमा सुधार गर्नको लागि शहरी क्षेत्रको सडकको गुणस्तरमा वृद्धि गर्न जरुरी रहेको बताए । उनले सवारी दुर्घटना हुनुको मुख्य कारण सडक नै भएकाले सबै भन्दा पहिले सडकको स्तरोन्नति गर्नुपर्ने बताए ।
सहरी विकास सचिव दिपेन्द्रनाथ शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य डा.सुनीलवावु श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तमाङ, कोरिया ट्रान्सपोर्ट ईन्सिटच्यूटका सुङुगवोन लि,सहरी विकास मन्त्रालयका सहसचिव शम्भु केसी लगायतले वैठकको उद्धेश्य तथा एशिया प्रशान्त क्षेत्रमा देखिएका यातायात समस्या र समाधानका उपायहरुका संवन्धमा आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा शहरी क्षेत्रमा यातायात सुविधाको लागि सम्भावित रेल योजनाको विषयमा पनि छलफल भएको थियो ।