arrow

टेलिकमको १९ औं वार्षिकोत्सव: ग्राहकको सेवा सर्वाेपरि हो – अध्यक्ष अर्याल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
nepal-telecom-ntc-nta.jpg

काठमाडौं। नेपाल टेलिकमले आइतबार आफ्नो १९ औं वार्षिकोत्सव मनाएको छ। देशको दूरसञ्चार क्षेत्रमा एक सय छ वर्ष लामो इतिहास बोकेको नेपाल टेलिकमले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका रुपमा १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्सव मनाएको हो।

वार्षिकोत्सवका अवसरमा कम्पनीको प्रधान कार्यालय भद्रकालीमा आयोजित कार्यक्रममा कम्पनीले विभिन्न क्षेत्रका आफ्ना सेवाग्राहीहरुलाई सम्मान एवं कदरपत्र वितरण गरेको छ।

यस अवसरमा नेपाल टेलिकमले २०७८ को माघ १ देखि पुस मसान्तसम्म सबैभन्दा बढी रकम बराबरको रिचार्ज गर्ने, सबैभन्दा बढी मोबाइल पोस्टपेड र प्रिपेड, पीएसटीएन, एफटीटीएचलगायतका सेवा प्रयोग गर्ने, लिज्ड लाइन, एसआईपी पीबीएक्स, सब्सक्रिप्सन र नन सब्सक्रिप्सन आधारित भीएएस सेवा प्रयोग कर्ता एवं सीयुजी सेवा बढी प्रयोग गर्ने व्यक्ति एवं संस्थालाई सम्मान गरेको छ।

यसका साथै सो व्यक्ति वा संस्थाका एक प्रतिनिधिको मोबाइलमा १ हजार ४ सय ९९ रुपैयाँ बराबरको अनलिमिटेड रेन्टल प्याकसमेत निःशुल्क उपलब्ध गराएको छ।

यस्तै वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई समेत कम्पनीले सम्मान गर्दै ४० एमबीपीएस स्पिडको एफटीटीएच डाटा, भ्वाइस र एनटीटीभी सेवा १ वर्षसम्मका लागि निःशुल्क उपलब्ध गराएको छ।

कम्पनीको वार्षिकोत्सवका अवसरमा बोल्दै दूरसञ्चार निकायको नियामक क्षेत्र नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)का अध्यक्ष पुरुषोत्तम खनालले भने सेवामा अझैं कम्पनीले ध्यान दिन जरुरी रहेको बताएका छन् ।

उनले भनेका छन्, 'रिङरोड भित्र सबै ठाउँ फोर जी सेवा छ भनेर कम्पनीले भन्दिन सक्नु हुन्छ?,' उनले प्रश्न गरे। उनले गुणस्तरीय सेवा दिन नसके कम्पनी पछि पर्ने बताएका छन् ।

यस्तै उनले फाइभ जीतर्फसमेत उल्लेख्य प्रगती अघि नबढेकोमा दुख व्यक्त गरेका छन्। उनले भने, 'मैले त आशा गर्या थिएँ, प्रबन्ध निर्देशक ज्युले फाइभ जी पनि आज उद्घाटन हुन्छ भन्नु हुन्छ होला भन्ने थियो, प्राधिकरणले पटक पटक सोध्या छ, नेपाल सरकारले फ्रिक्वेन्सी फ्रिमा दिएको छ।'

संस्थाको भविष्य उज्जवल बनाउनका लागि सबै क्षेत्रमा कम्पनीले ध्यान पुर्याउन आवश्यक रहेको बताएका छन्। यस्तै उनले तीन वर्षअगाडिको रेभिन्यु नेपाल टेलिकमको मात्रै नभएर सबै दूरसञ्चार कम्पनीको घटेको भन्दै उनले प्रश्न गरेका छन् ।

उनले कम्तीमा रिङ रोडभित्रको मानिसहरुले फाइभ जी चलाउन सक्ने गरी परीक्षण हुनुपर्ने अपेक्षा एवं आशा राखेको बताएका छन्।

नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले प्रश्न गरे 'युजर बढिराख्या छ, मोबाइलको ग्राहक बढिरहेको छ, डाटा युजर बढिरहेको छ, टेक्नोलोजीमा डिपेण्ड बढेको छ तर रेभिन्यु घटिरहेको छ, तर कहाँ घटिरहेको छ यो खोज्नु पर्ने बिषय छ,' उनले भने।

यस्तै कार्यक्रममा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सेवाग्राहीको आवश्यकता र चाहना अनुरुपले कम्पनीले आफूलाई त्यसमार्गमा लैजानु पर्ने बताएकी छिन् । यस्तै 'नविन प्रविधि अवलम्बन गरी आधुनिक सेवा सुविधा प्रवाह गराउने कार्यमा कम्पनीको योगदान प्रशंसनीय छ,' उनले भनेकी छिन् ।

'अबका आउने दिनमा हामीले आफ्नै भूउपग्रह स्थापना गरी सेवा दिनेसम्मको लक्ष्य लिनु पर्नेछ, सरकारको सोच र लक्ष्यलाई समेट्दै मुलुकका सुगमदेखि अति विकट स्थानमा नाफारहित रुपमा भए पनि दूरसञ्चार सेवा उपलब्ध गराउने जिम्मेवारी कम्पनीको रहेको छ,' उनले भनेकी छिन् ।

यस्तै कार्यक्रममा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अथवा नेपाल टेलिकमका सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले कम्पनीमा कम्तीमा ९५ प्रतिशत कार्यसम्पादन हुनु पर्ने बताएका छन् ।

यस्तै उनले सेवालाई सुलभ र सुपथ मूल्यमा देशभर पुर्याउनु पर्ने बताएका छन् ।  सेवाग्राहीले तिर्नै नसक्ने मूल्यको सेवा विस्तार गर्दा कुनै फाइदा नहुने उनको भनाइ छ।

प्रतिस्पर्धा बढ्दो रहेका कारण कसरी सेवा सस्तो बनाउन सकिन्छ भन्नेमा ध्यान दिन जरुरी रहेको बताउँदै त्यसमा सञ्चालक समिति काम गर्न तयार रहेकोसमेत कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार सचिव अर्यालले बताएका छन् ।

यस्तै उनले ग्राहकको हरेक गुनासो तुरुन्तै ध्यान दिएर समाधान गर्नु पर्नेसमेत बताएका छन्। 'ग्राहकको सन्तुष्टि भनेको सर्वाेपरि कुरा हो, त्यसैले त्यसमा ध्यान दिऔं भन्ने मेरो आग्रह हो,'उनले भनेका छन् । 

यस्तै उनले अहिले भ्वाइस क्षेत्रमा धेरै प्रतिस्पर्धा नभए पनि इन्टरनेटका कारण डाटा क्षेत्रमा धेरै प्रतिस्पर्धा रहेको बताउँदै डाटा सेवालाई कसरी सस्तो बनाउन सकिन्छ भन्नेमा ध्यान दिन जरुरी रहेको समेत बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ