arrow

विवादित गृहसचिवलाई बेवास्ता गर्दै सरकारले गर्‍यो सहसचिवहरुको जिम्मेवारी हेरफेर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
binod-prakash-singh-home-secretary.jpg

काठमाडौं । विवादित छविका गृहसचिवलाई सरकारले अविश्वास गरेको छ । गृहसचिव विनोदप्रकाश सिंहलाई अविश्वास गरेकै कारण उनलाई थाहै नदिइ मन्त्रालयका सहसचिवहरुको जिम्मेवारी हेरफेर गरिएको छ । 

सुरक्षा, समन्वय र निर्वाचनको अत्यन्त महत्वपूर्ण समयमा सबै ७२ जना सचिव (विशिष्ट श्रेणी) मध्ये सचिवमा शक्ति केन्द्र र ‘सुप’ को सोर्सफोर्सको बलमा गृहमा ल्याइएका सिंहलाई प्रधानमन्त्रीले अविश्वास गरेपछि आइतबार नै गृह मन्त्रालयका सहसचिवहरुको जिम्मेवारी हेरफेर भएको हो ।

गृह मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार सचिव सिंहलाई थाहै नदिई मुख्य सचिवले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरिदिएका हुन् । स्रोतका अनुसार सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारीबाट फणिन्द्रमणि पोखरेललाई हटाइएको छ । 

उनको स्थानमा जितेन्द्र बस्नेतलाई दिइएको छ । उनलाई प्रवक्तासमेत तोकिएको छ । सहसचिव अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रणको कार्यालयमा कार्यरत थिए । 

त्यसअघि बस्नेतले प्रमुख जिल्ला अधिकारी र  गृह मन्त्रालय मातहतकै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक थिए । 

शान्ति सुरक्षा तथा समन्वय महाशाखाको जिम्मेवारीमा रहेका फणिन्द्रमणि पोखरेललाई दिइएको छ । त्यस्तै केदारनाथ शर्मालाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । 

उनी अर्थ मन्त्रालयमा जनार्दन शर्माको टिममा बसेर काम गरेका सहसचिव हुन् । उनलाई पनि प्रधानमन्त्रीकै रुचीमा गृहमा ल्याइएको छ । यसअघि प्रशासन महाशाखामा गोविन्द रिजाल रहेका थिए । 

उनलाई अतिरिक्त समूहमा राखिएको छ । गृह मन्त्रालयान रहेका रुद्र पण्डितलाई मन्त्रालय मातहतको राष्ट्रिय पञ्जीकरण तथा परिचयपत्र विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । 

पण्डित यसअघि भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत रहेको सहकारी विभागको रजिष्ट्रारमा कार्यरत रहेका थिए । सो विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका तीर्थ भट्टराईलाई मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको छ ।  

गृह मन्त्रालयमा आएका दिनेशसागर भुसाललाई गोरखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । भुसाल यसअघि आन्तरिक मामिला मन्त्रालय कर्णाली प्रदेशको सचिवको जिम्मेवारीमा थिए । 

उनीहरुको जिम्मेवारी हेरेफेरले सचिवको सरुवा हुने निश्चित देखिएको छ । नेपाल प्रहरीका डीआईजी अशोक सिंह र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाको रुचीमा सिंहले गृह सचिव बन्ने सौभाग्य प्राप्त गरेका थिए । 

कनिष्ठ सचिव सिंहलाई गृह सचिवमा ल्याएपछि त्यतिबेला पनि विवाद भएको थियो । 

विनोद प्रकाश सिंह २०७९ असार ६ गते बढुवा भएर प्रदेश नं १ को मुख्य सचिवमा पदस्थापना भएका थिए । तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई र प्रधानमन्त्री निवास बालुवाटारको भिटो प्रयोग गरेर सबैभन्दा कनिष्ठ सचिव विनोद प्रकाश सिंह गृहमा आएका थिए । 

उनी उद्योग विभागमा हुँदा बहुराष्ट्रिय कम्पनीहरुलाई स्तरवृद्धि गर्न दिएको र त्यसवापत आर्थिक लाभ लिएको मन्त्रालय स्रोत बताउँछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ