काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहिवार काठमाडौंमा एक कार्यक्रममा दिएको अभिव्यक्तिले काँग्रेस वृत्तमा निकै चर्चा पायो। कार्यक्रममा उपस्थित कतिपय पौडेल समर्थकहरुले त्यसमा समर्थन जनाए भने अधिकांश सहभागिहरुले भने पौडेलले दिएको अभिव्यक्ति उपयुक्त फोरममा नभएको टिप्पणी गरे।
नेपाली काँग्रेसमा नयाँ शक्तिको रुपमा आएको नेता कृष्णप्रसाद सिटौला समुहलार्इ सिध्याउन पार्टी सभापतिलाई उनले आग्रह गरेको कुरा कार्यक्रममा पौडेलले सुनाए। बिहिवार विहान विहान पार्टी सभापति शेर बहादुर देउवासँग भेटेर गरेको प्रस्तावलाई उनले दिउँसोको कार्यक्रममा व्यक्त गरे। आफूहरुलाई पार्टीमा नयाँ विचार समुहका रुपमा दावी गर्दै आएको सिटौला समूहलार्इ सिध्याउन उनले देउवासँग गरेको प्रस्ताव सार्वजनिक गरेपछि पौडेल समुहले सिटौला समुहलाई कसरी हेरिरहेको छ भन्ने पनि उदाङगो भएको छ। एउटै पार्टीमा रहेपनि राजनीतिक रुपमा अलग अलग गुटमा रहेका नेताहरुले एकले अर्कालाई साइजमा ल्याउन र एकले अर्काको अस्तित्व सिध्याउन के सम्म गर्न सक्छन भन्ने कुरा समेत उदाङगो भएको छ।
पार्टीको महाधिवेशनपछि लगातार भएको दुईवटा भातृ संगठनको महाधिवेशनमा कमजोर परिणाम आएपछि पौडेलले अचानक देउवासँग सहकार्य गर्ने प्रस्ताव गरेपछि नयाँ समिकरणको सम्भावना पनि वाहिर चर्चामा आएको छ। काँग्रेस महाधिवेशन अघी तत्कालिन कोइराला समुहसँग निकट रहेका सिटौलाले पार्टी सभापतिमा मात्र होइन पदाधिकारीमा टीम सहित चुनावी मैदानमा खडा भए। आफूसँगै खडा भएका तीनैजना र ठूलो कित्ता कोइराला समुहबाट अलग्गिएपछि तत्कालिन संस्थापन पक्षबाट सभापतिका उम्मेदवार रामचन्द्र पौडेल अप्ठ्यारोमा मात्र परेनन् दोस्रो चरणमा पनि सिटौला समुहको समर्थन पाउन नसक्दा निर्वाचित हुन सकेनन्। सायद त्यहि पीडाबाट पौडेल समुह निस्कन सकेको छैन। यसकारण पनि पौडेलले पुरानो प्रतिष्पर्धी भन्दा नयाँ प्रतिष्पर्धी सिटौलालाई निसाना बनाएका छन्। सम्भवत पौडेलले देउवासँग त्यसै कारण पनि सिटौलालाई साइजमा ल्याउन प्रस्ताव गरेको देउवा निकट नेताहरु बताउँछन्।
देउवासँग पौडेलले बीचमा बसेर फाईदा उठाउनेहरू वागीहरु पार्टीमा हाबी भएको भन्दै हामी दुई मिलेको अवस्थामा तेस्रो पक्षले बाहिर बसेर खेल्न नसक्ने बताए। उनले पार्टीलाई एकीकृत र संगठीत बनाउनको लागि देउवा र आफ्नो सहकार्य जरुरी रहेको दाबी पनि गरे। पार्टी सभापति शेरबहादुर देउवालाई पौडेलले तपाई सभापति भइसक्नुभयो, तीनपटक मुलुकको प्रधानमन्त्री पनि हुनुभयो अब सीमित घेरामा नबस्नुस् भनेर सुझाव दिएको कुरा सार्वजनिक गरे। नेता पौडेलले सभापति देउवालाई परम्परागत गुटबन्दीको अन्त्य गरी आफूसँग समझदारी गरेर अघि बढे बीचमा बागीले खेल्न नपाउने सुझाव पनि दिएको जानकारी गराएका थिए।
पछिल्लो समय नेपाली काँग्रेसमा नयाँ धारको रूपमा सशक्त रुपमा उदाएको सिटौला पक्षले पछिल्ला दुई भातृसंस्थाको निर्वाचनमा सम्मानजनक स्थान जीतेपछि पौडेल समूह नयाँ रणनीति जुटाउन लागेको हो। यहि क्रममा बरिष्ठ नेता पौडेल आफै सभापति देउवासँग छलफलमा जुटेको हुनसक्ने देउवा निकट एक नेताले बताए। निकट भविष्यमा नै तरूण दलको चुनावमा पनि देउवा र सिटौलाको समिकरण कायम रहेको अवस्थामा आफ्नो समुह थप कमजोर हुने बुझाइपछि पौडेल नयाँ रणनीतिमा जुटेका हुन्। देउवा र पौडेलबीच तरुण दलमा कसरी जानसकिने भन्ने बारेमा पनि चर्चा भएको थियो। देउवाले आफ्नो समुहलाई अध्यक्ष दिए महासचिवमा पौडेल समुहलाई छोड्न सकिने बताएको देउवा निकट स्रोतको दावी छ।
वीपीका नाती सिदार्थ कोइराला पछिल्लो दिनमा तरुण दलको राजनीति मार्फत काँग्रेसको राजनीतिमा प्रवेश गर्न लागिरहेका छन्। नेविसंघ र महिला संघको समिकरण कायम रहे तरुण दलमा समस्या पर्ने आँकलन पछि नयाँ समिकरणका लागि पौडेल समुहलाई दवाव परेको आँकलन पनि गरिएको छ। तर यो नयाँ परिस्थिति बने पनि सिटौला पक्ष भने त्यसको सामना गर्न तयार रहेको सिटौला निकटहरु बताउँछन्। दुईवटा भातृसंस्थामा पकड गुमाउने वित्तिकै आत्तिएर पौडेलनै देउवासँग नयाँ समिकरण बनाउन लाग्ने अवस्था आए त्यो आफूहरुको लागि जीत हुने सिटौला निकट एक नेता बताउँछन्। त्यो अवस्थामा देउवा र पौडेल समुहसँग आफ्नो समुह प्रतिष्पर्धामा उत्रने उनीहको तयारी छ। तर बरिष्ठ नेता पौडेलको कुरामा गएर जोखिम उठाउन देउवा तत्काल तयार हुनेमा सिटौला पक्षलाई शंका छ। तर दुईवटा भातृसंस्थाको चुनावले पार्टीको आन्तरिक राजनीतिमा पारेको प्रभावले पार्टीको राजनीतिमा धेरैको मथिगंल घुमाएको भने देखिएको छ।