arrow

एमाले बैठक : सरकारले दण्डहिनतालाई प्रश्रय दिन खोजेको आरोप

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
uml-party-office-in-dhumbar.jpg.jpeg
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ जारी बैठकमा शुक्रबार सदस्यले सरकारले दण्डहीनतालाई प्रश्रय दिने, देशमा शान्तिसुरक्षा कायम राख्नुपर्ने निकायको मनोबल घटाउने र समाजमा संशय सिर्जना गर्ने किसिमले निर्णय गर्न लागेको भन्दै ध्यानाकर्षण गराएका छन् । 
 
गत वर्ष कैलाली जिल्लाको टीकापुर लगायतका विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटना र ती घटनाबाट भएको जनधनको क्षतिबाट समग्र नेपाली समाज आहात भएको घटना ताजै रहेको जनाउँदै लोकतान्त्रिक परिपाटी र कानुनी शासनमा आघात पुग्नेगरी भएका ती घटनाका सन्दर्भमा गरिएको छानबिन प्रतिवेदनमा प्रवेश नै नगरी त्यस्ता निर्णय गर्नुपूर्व देशको संविधान, कानुन, लोकतन्त्रका मूल्य र मान्यताको अनुसरण गर्न बैठकले सरकारसँग माग गरेको छ । 
 
शुक्रबारको बैठकमा सुझाव दिने केन्द्रीय कमिटी सदस्यले पार्टीलाई मजबुत र एकताबद्ध बनाएर लैजानका लागि नेतृत्वपङ्क्ति एक ढिक्का भएर जानुपर्ने, मतभेद र विवादलाई समाधान गरेर निर्वाचनलाई केन्द्रमा राखेर पार्टी परिचालन गर्नुपर्ने, राष्ट्रिय एकता र समृद्धिलाई पार्टीको मूल एजेन्डा बनाउनुपर्ने, पार्टीका नेताले एकअर्काको बद्ख्वाई नगरी पार्टीको नीति र नेतृत्वको रक्षा गर्नुपर्नेजस्ता सुझाव दिएका छन् । 
 
साथै, स्थानीय तहको पुनःसंरचना छिटो गरी निर्वाचनमा जाने वातावरण बनाउन भूमिका खेल्नुपर्ने र राष्ट्रिय एकता, स्वाभीमान, साम्प्रदायिक सद्भाव र भौगोलिक एकतामा खलल पुर्‍याउने गरी आउने कुनै पनि प्रस्तावप्रति सजग हुनुपर्नेमा केन्द्रीय सदस्यले जोड दिएको पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 
 
 बैठकमा प्रदेश नं १ का तर्फबाट जगन्नाथ खतिवडा, प्रदेश नं ७ का तर्फबाट यामलाल कँडेल, विभागका तर्फबाट रचना खड्का र मोर्चाका तर्फबाट विश्वनाथ प्याकुरेलले समूह छलफलको निचोड राखेका थिए । 
 
बैठकका लागि राजनीतिक प्रतिवेदनका साथै स्थानीय निकायको पुनःसंरचना (सङ्ख्या र सीमा), पार्टी प्रवेश गरेकाको व्यवस्थापन, प्रदेश सङ्गठन कमिटीका सम्बन्धमा, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयन, केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन, स्थायी समितिका निर्णयको अनुमोदन, केन्द्रीय आयोगका प्रतिवेदन आदि कार्यसूची तय भएका छन् । 
 
२९ गते चियापान 
 
एमालेले महत्वपूर्ण चाडपर्वहरु दसैँ, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसार आदिका अवसर शुभकामना आदानप्रदान गर्न पार्टीका तत्कालीन अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले आरम्भ गर्नुभएको चियापान कार्यक्रमलाई निरन्तरता दिँदै अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट असोज २९ गते शनिबार कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीको अर्को बैठक शनिबार दिउँसो पुनःबस्नेछ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ