arrow

भारतले भन्दैमा नाकाबन्दी खोल्दैनौः महतो

logo
प्रकाशित २०७२ मंसिर २१ सोमबार
Rajendra.jpg.jpeg
काठमाडौ । नयाँ दिल्ली भ्रमणमा रहेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतले भन्दैमा नेपालमा मधेसी मोर्चाले गर्दै आएको नाकाबन्दी नखोल्ने स्पष्ट पारेका छन । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा उनले सीमांकन टुङ्गो नलाग्दासम्म नाकाबन्दी नखोल्ने स्पष्ट पार्दै झापादेखि कञ्चनपुरसम्म मधेसमा दुई प्रदेश हुनुपर्ने अडान ब्यक्त गरे ।

महतोले तीन दलले भने जस्तो संसदीय वा राजनीतिक समिति गठन गरेर सीमांकनको विवाद टुङग्याउने कुरा आफुहरुलाई मान्य नभएको स्पष्ट पार्दै अघिल्लो सरकारले दर्ता गराएको संविधान संसोधन विद्येयक काम नलाग्ने दावी गरे । उनले भारतले नेपालको समस्यामा सहजीकरण गरेर अगाडि बढ्न मात्रै सुझाव दिएको नाका खोल्न भनेर नभनेको भन्दै भारतले भन्दैमा खुल्दा पनि नखुल्ने स्पष्ट पारे ।

महतोले भ्रमणमा भारतीय विदेशमन्त्री शुष्मा स्वराजले नाकाबन्दीको विषयमा सोधेको र आफूले भारतले नभई मधेसीले नाकाबन्दी गरेको स्पष्ट पारेको जानकारी दिदै मधेसको माग पुरा नभएसम्म आन्दोलनबाट ब्याक नहुने बताए । उनले नेपालको विषयलाई लिएर भारतमा राज्य सभाको बैठक अवरुद्ध नगर्न आफूहरुले भारतीय नेताहरुलाई आग्रह गरेको भन्दै हरेक आन्दोलन जस्तै मधेसको आन्दोलनमा भारतको समर्थन रहेको दावी गरे ।

महतोले भने,‘  मधेस भारतसँग जोडिएको छ । त्यसैले उनीहरुको समर्थन हुनु स्वभाविक हो । तर यहाँको समस्या हामी आफैले टुङग्याउने हो । दिल्लीलाई गलत सूचना दिइर्एको छ । हामीले विगतको सहमति कार्यान्वयन नभएर आन्दोलन गरेका हौ भनेर स्पष्ट पारेका छौ । शासकले हाम्रो आन्दोलन कमजोर बनाउन भारतले नाकाबन्दी गरेको भनेर हल्ला फैलाएको छ ।’

यसैबीच तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपालमा कसैले नाकाबन्दी नगरेको दावी गर्दै मधेसी दलहरुको आमहडतालको कारण असहज अवस्था उत्पन्न भएको बताएका छन । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘नाकाबन्दी होईन, आमहडतालको कारण असहज बनेको हो । कसैले नाकाबन्दी गरेको छैन । नाकाबन्दी भनेर बदनाम गराउन खोजिदैछ । भारतलाई यसरी बद्नाम गर्न हुँदैन  भारतलाई गाली गरेर हुँदैन । सहमतिमै बार्ताबाट समस्या टुङग्याउनु पर्छ।’

उनले संसदीय र राजनीतिक समिति बनाएर सीमांकन बनाउने कुरा आफूहरुलाई मान्य नहुने स्पष्ट पार्दै  समस्या समाधानमा प्रधानमन्त्री केपी शर्मा ओली गंभिर नभएको आरोप लगाए । उनले आफूहरुको आन्दोलनमा भारतको साथ र समर्थन रहेको समेत स्पष्टपारे । ठाकुरले काठमाडौ फर्किएपछि बार्तामा उपप्रधानमन्त्री कमल थापाले पेश गरेको तीन बुँदे प्र्रस्तावमा छलफल गरेर धारणा बनाउने भन्दै सो प्रस्तावमा समावेशी समानुपातिक, जनसंख्याको आधारमा क्षेत्र निर्धारण, नागरिकता र सीमांकन राजनीतिक समिति बनाएर गर्ने रहेको जानकारी दिए ।

उनले विगतमा धेरै दुख र धोका पाएकोले अब नगदमै सम्झौत हुनु पर्नेमा जोड दिदै झापा देखि कञ्चनपुरसम्मको दुई मधेस प्रदेश हुनु पर्ने अडान ब्यक्त गरे । ठाकुरले आफूहरुले पेश गरेको ११ बुँदे प्रस्तावमा बुदागत रुपमा छलफल हुनु पर्ने भन्दै अबको सहमति उधारो नभई प्याकेजमै हुनु पर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ