पर्वलाई सम्मान गर्ने हाम्रो आफ्नै परम्परा छ : सभापति देउवा
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
645
Shares
काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गरेका छन् ।
ग्याल्पो ल्होसारको अवसरमा उनले सम्पूर्ण नेपालीका निमित्त सुख, शान्ति र समुन्नतिको वर्ष बनोस्, भनी शुभकामना व्यक्त गरेका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको उल्लेख गर्दै सभापति देउवाले यहाँ विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाडपर्व रहेको बताएका छन् ।
उनले प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताउँदै यी चाडपर्वमध्ये नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार (नयाँ वर्ष) पनि एक महत्वपूर्ण पर्व भएको बताएका छन् ।
सभापति देउवाले लोकतन्त्रमा मात्र सबै जात–जाति, सबै भाषा–भाषी तथा सबै धर्म र संस्कृतिले समान अवसर पाउने बताउँदै सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताहरुका लागि पनि जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी भएको उल्लेख गरेका छन् ।