arrow

सन्ध्याले मन्त्री गगन थापालाई लेखेको पत्र सार्वजनिक भएपछि रोयो जुम्ला

logo
दिर्घराज उपाध्याय,
प्रकाशित २०७३ असोज ९ आइतबार
sandhya_Gagan.jpeg
जुम्ला। मन्त्रीज्यू तपाई विरामी हुँदा वा विरामी लगेर अस्पताल जादा कत्तिको माया पाउनु भयो ? वढि सम्मान की माया ? कतै अपमान त पाउनु भएन ? तर मैले अस्पतालमा माया र सम्मान त के वोल्ने मान्छे सम्म पाईन । त्यसैले मन्त्री ज्यु, तपाईसंग अस्पतालको वेतिथीका वारेमा कुरा गरेर मर्ने रहर छ । यो भनाई काठमाण्डौ चावाहिल गोपिकृष्ण हल नजिकैको सरस्वती नगरमा वस्दै आएकी मृत्युको पर्खाइमा वसेकी जुम्लाकी सन्ध्या शाहीको हो । पाँच सात वर्ष देखि काठमाण्डौमा वस्दै आएकी उनको हातको एक औलामा देखिएको सानो खटिराले क्यान्सरको विशाल रुपमा प्रकट हुँदा अहिले उनी मृत्युसँग पौठाजोरी गरिरहेकी छिन् । हुँदाहुँदा उनलाई अहिले उपचार गरिरहेका चिकित्सकले मृत्युको पर्चा दिएर घर पठाएका छन् । 
 
अस्पतालले घर पठाएपछि सन्ध्याले मन्त्रीको नाममा सार्वजनिक गरेको पत्रले अहिले देश नै अवाक भएको भने सिंगो कर्णाली र जुम्ला रोएको छ । जुम्लाका हरेका घरमा सन्ध्याको बारेमा कुरा भएको स्थानिय पत्रकार एलपी देवकोटाले बताए। काठमाडौंमा रहेका जुम्लाका र सिंगो कर्णालीका स्थानियहरु पनि उनको यो पत्रले विचलित भएका छन्। उनीहरु स्वास्थ्य मन्त्री गगन थापालाई विरामीलाई भेट गराउन लागिपरेका छन्।
 
उनले भन्छिन, जुन दिन मलाई भक्तपुर क्यान्सर अस्पतालले मृत्युको पुर्जा दिएर घरमा बसेर मृत्यु कुर्न भन्यो त्यो दिन देखि, मेरो यो उन्नाईस बर्षे कलिलो मनमा कालो रात निम्तियो । अहिले मेरो मुटु यति शोकाकुल र छियाछिया भएको छ, त्यो कुरा शब्दमा कसरी लेखु म । बस रूने बाहेक म सगँ केही उपाय छैन । उपचार गराएर निको हुने अवस्था पनि देखिदैन । मलाई हरेक मानिसलाई जस्तै बाच्ने, खेल्ने, रमाउने, घुम्ने अरू केके रहरहरू थियो । तर जब हस्पिटलको मौखिक मृत्युको पुर्जी आयो, यसपछि म अबको पुग नपुग तीन महिना बाच्छु भन्ने निश्चित भयो । यो कुराले हर रात । हर दिन मेरो मुटु घोचेको घोचेकै छ । म धेरै के पो बोल्न सक्छु र ? अन्तिम ईच्छा तपाईलाई भेट्नु वोहकको विकल्प छैन । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्री गगन थापालाई कर्णालीको जस्तो विकट् ठाउँमा जन्मैकै कारण अकालमा मृत्यु पर्खनु परिरहेको वताईन । 
 
यिनै सन्ध्या स्वास्थ्य सम्वन्धि अध्ययनका लागि काठमाडौं आउनुअघी नै हातमा सानो खटिरा लिएर काठमाडौं आएकी थिइन। कर्णालीमा त्यसको पत्तो लागेको थिएन। काठमाडौं आएर परिक्षण गर्दा उनलाई क्यान्सर भएको पत्तो भयो। डाक्टरहरुले उनको उपचार गर्ने क्रममा औंला काट्नुपर्ने बताए। औंला काट्नुअघी उनको परिवाररले दोस्रो राय र उपचारका लागि भारत जान उपयुक्त ठाने। जुम्ला सदरमुकाममा रहेको घर धरौटीमा राखेर ऋण लिए। उपचारका लागि भारतमा लामो समय विताए। औंला काट्नु नपर्ने त्यहाँ बताइयो। बरु हातको क्यान्सर चाहि पेटमा देखिएको क्यान्सरको कारणबाट भएको बताइयो। भारतमा १० साइकल किमो दिइयो। करिव ९ महिना भारत बसाइपछि केहि सहज भएको अवस्थामा उनीहरुलाई नेपालमै थप किमो र रेडियोथेरापी लिने सुझाव अनुसार नेपालमा पठाइएको थियो। 
 
नेपालमा आएर भक्तपुर क्यान्सर अस्पतालमा थप किमो लिने र काम भएपनि त्यसयता भने स्थिति विग्रदै आएको सन्ध्याका साथी अंगद देवकोटाले बताए। भारतमा किमो दिदा हातको घाउ समेत सुक्दै गएको अवस्थामा पछि भने घाउ समेत वढ्दै गयो। उनको हातका औंलाहरु पाक्दै झर्ने अवस्थामा पुगे। डाक्टरहरुले उनको हात काट्नै पर्ने बताए। विरामी सन्ध्याले पनि सधैको पीडा भन्दा हात काटेर ठीक हुने भए काट्न स्विकृती जनाइन। गोदावरी नजिकै रहेको क्यान्सर अस्पतालमा उनको कुमसम्मको देब्रे हात काटियो। काटिएको ठाउँमा रेडियोथेरापी पनि दिइयो। तर फेरि क्यान्सरको आक्रमण थप वढ्यो। क्यान्सर काखीसम्म विस्तार भइसकेछ अंगद बताउँछन। काखीमा फैलिएको क्यान्सर र पेटको पनि क्यान्सर फैलिदै जाँदा भक्तपुरमा उपचार गरिरहेका डाक्टरले उनलाई अब आफूहरुले बचाउन नसक्ने जवाफ दिए। बरु घरमै बसेर मृत्यु कुर्ने सल्लाह दिएर पठाए। सन्ध्या अहिले अत्यन्तै पीडामा छिन्। सुत्नको लागि सिल्पिङ ट्यावलेट खानुपर्छ भने दुखाइ कम हुने औषधी खाएर पीडा घटाउनुपर्छ। क्यान्सर विस्तार भएको छ। त्यसले भित्रभित्रै मारिरहेको छ। 
 
यहि पीडाको बीचमा उनले मन्त्री थापालाई सम्झेकी हुन उनका अत्यन्तै नजिकका साथी अंगदले बताए। सन्ध्याको पत्रपछि मन्त्री थापाले पनि उनलाई भेट्न जाने बताएका छन्। सम्भवत मन्त्री थापाले सन्ध्या मार्फत नेपालको स्वास्थ्य क्षेत्रको केहि विकृतीहरु जान्न पाउन भन्नकै लागि हामीले यो पत्र सार्वजनिक गरेका हौ अंगदले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ