arrow

रामचन्द्र समूहले खोज्यो पार्टीको आधिकारिक धारणा, तत्काल केन्द्रीय समिति बैठकको माग

logo
प्रकाशित २०७३ असोज ९ आइतबार
ramchandra.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले यथाशीघ्र पार्टी केन्द्रीय समितिको बैठक बोलाउन माग गरेको छ । पौडेलको  सम्पर्क कार्यालय अनामनगरमा आइतबार बसेको केही पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले केन्द्रीय समितिको बैठक बोलाउन माग गरेको हो । 
 
संविधान संशोधन, स्थानीय निकायको पुन: संरचना र सरकार सञ्चालनमा पार्टीको धारणा बनाउन केन्द्रीय समिति बैठक बोलाउनु पर्ने माग गरिएको नेता जीवन परियारले बताए । 
 
बैठकमा आसन्न तरुण दलको महाधिवेशन र पार्टीबाट प्रतिनिधित्व हुने राज्यमन्त्रीको छनोट लगायत समसामयिक विषयमा समेत छलफल भएको उनले बताए । बैठकमा अधिकांश सदस्यले तरुण दलको महाधिवेशन नेविसङ्घ र नेपाल महिला सङ्घको महाधिवेशन जस्तो गर्न नहुने बताउँदै महाधिवेशनको एक हप्ताअघि सबै प्रतिनिधिको टुङ्गो लगाएर मात्र गर्नुपर्ने सुझाव दिए।
 
केहि दिन अघि मात्रै नेता पौडेलले आफुहरुलाई जालझेल गरेर हराएको दु:खेसो पोखेका थिए । दुई दिन अघि मात्रै उनले पार्टी सभापति देउवालाई आफुले कुनै आफ्ठ्यारो नपारेको भन्दै कृष्ण सिटौलालाई  छोडेर गठबन्धन गर्न प्रस्ताव गरेका थिए ।
 
बैठकले संविधान संशोधनका बारेमा पार्टीलाई आधिकारिक कुनै जानकारी नभएको र त्यस सम्बन्धमा पार्टीको धारणा बनाउन केन्द्रीय समितिको बैठक बोलाउन माग गर्ने निष्कर्ष निकालेको नेता बलबहादुर केसीले बताए । 
 
त्यस्तै स्थानीय निकायको पुनःसंरचनाका बारेमा शीर्ष नेताहरुको धारणा नै फरक-फरक आएको बताउँदै सहभागी नेताले पार्टीको आधिकारिक धारणा बनाउनुपर्ने बताए । सरकार सञ्चालनमा नेकपा (माओवादी केन्द्र)ले एकलौटी गरेको जनाउँदै केही केन्द्रीय सदस्यले त्यसमा पार्टीको भूमिका के हो भनी प्रश्न समेत गरे । 
 
बैठकमा नेता पौडेल, महामन्त्री शशाङ्क कोइराला, कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता रामशरण महत, दीलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुङ्गाना, मीनेन्द्र रिजाल, महेश आचार्य लगायत नेता एवं केन्द्रीय सदस्य र सांसदहरु उपस्थित थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ