arrow

यसकारण माधवले पत्याएनन् केपीलाई, रनभुल्लमा एमाले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
oli-nepal-breakup.jpg
तस्बिर – फाइल ।

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गर्दा नै विश्वसनीय नभएको भन्दै अन्तिम समयमा अस्वीकार गरिदिए । एमालेका २३ सांसदले माधव नेपाललाई मत नहाल्ने सूचना नेपाललाई पुगेपछि विश्वासिलो आधार नभएको भन्दै अस्वीकार गरेका हुन् ।

 ‘माधव नेपाललाई राष्ट्रपति बनाउने कुनै विश्वासिलो आधार देखिएन, पुस १० मै सहमति भएको भए अहिले यो अवस्था आउने थिएन, एमालेलाई विभाजन गरेको भन्दै प्रतिशोध लिन खोजियो जसले गर्दा अहिले एमालेका निम्ति संकट आएको हो’, नेकपा एसका एक नेताले भने । 

शुक्रबार साँझ एमाले अध्यक्ष ओलीले अन्तिम पटक नेपाललाई राष्ट्रपतिका लागि प्रस्ताव गरेका थिए । तर नेपालले त्यसलाई अस्वीकार गर्दै बालुवाटार प्रवेश गरेपछि ओली बालकोट फर्किएका थिए । 

एस पार्टीका केन्द्रीय सदस्य एवं सांसद किसान श्रेष्ठको महाराजगन्जस्थित घरमा भएको भेटघाट त्यति फलदायी हुन सकेन । अन्ततः गठबन्धन भत्किने अवस्थामा पुगेको छ । 

एमालेसँगको गठबन्धन नटुटाउन प्रयास गरे पनि राष्ट्रपतिको चुनावको मुखमा सात दलीय गठबन्धन भत्किएर नयाँ आठ दलीय गठबन्धन बन्ने अवस्थामा पुगेको छ । 

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको बीचको बैठकमा सहमति हुन सकेन । साँझ बालुवाटारमा नै बसेको आठ दलको बैठकले राष्ट्रिय सहमतिका लागि नेपाली कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएसँगै राजनीति नयाँ कोर्समा अघि बढेको छ । 

यस्तै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार साँझ माओवादी केन्द्रसहितका आठ दलले गरेको सहमतिले मुलुकलाई थप राजनीतिक अस्थिरतातर्फ धकेल्ने बताउँदै एमाले सरकारबाट बाहिरिन सक्ने बताएका छन् । 

उनले आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे शनिबार बिहानको बैठकले निर्णय गर्ने बताए । ‘अब कसरी अघि बढ्ने के गर्ने ? सरकारमा रहने वा बस्ने भन्ने विषयमा शनिबारको बैठकले निर्णय गर्छ’ ज्ञवालीले भने । 

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस राष्ट्रपति निर्वाचनबाट पुरानै गठबन्धन ब्युँताएर ‘कोर्स करेक्सन’ गर्ने अवस्थामा पुगेपछि एमाले सरकारबाट बाहिरिन लागेको छ । 

गत मंसिरको निर्वाचनमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले बहुमत हाराहारीमा सिट जितेको थियो । तर सरकार बनाउने बेलामा प्रचण्डले आफू पहिले प्रधानमन्त्री बन्न पाउनुपर्ने अडान राख्दा कांग्रेसले नमानेपछि प्रचण्ड एमालेसँग सहकार्य गर्न पुगेका थिए । उनी पुस १० मा प्रधानमन्त्री भए । 

कांग्रेस भने प्रचण्ड एमालेसँग सहकार्य गर्न जान्छन् भन्नेमा थिएन । त्यसैले पनि कांग्रेसले असहजताबीच सहज रुपमा लिँदै पुस २७ मा प्रचण्डलाई विश्वासको मत दियो । 

शुक्रबारबाट नयाँ एकता भएसँगै दुई महिनामै गठबन्धन भत्किने अवस्थामा पुगेको छ । ‘अहिले प्रचण्डकै नेतृत्वका गठबन्धन भत्किने अवस्थामा छ अब हेरौं के हुन्छ’, एमालेका एक पदाधिकारीले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ