arrow

एन्फा चुनाव : अध्यक्षमा कर्माछिरिङ शेर्पा र नरेन्द्र श्रेष्ठको मात्रै उम्मेद्वारी

उपाध्यक्षमा कर्मा समूहबाट दीपक र नरेन्द्र समूहबाट मणि भिड्दै

logo
प्रकाशित २०७३ असोज ९ आइतबार
karmako-ghosna-sabha.jpeg
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आसन्न विशेष साधारण सभाबाट चयन हुने नयाँ नेतृत्वका लागि दुई जनाको उम्मेद्वारी परेको छ । 
 
आइतबार कर्माछिरिङ शेर्पाले अध्यक्षका लागि उम्मेद्वारी गराएसंगै एन्फाको नयाँ नेतृत्वका लागि दुई जनाको भिडन्त हुने पक्का भएको छ । कर्माछिरिङ अहिले एन्फाको उपाध्यक्ष छन् । 
 
कार्यवहाक अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले भने गत शुक्रबारै उम्मेद्वारी दर्ता गराएका थिए । श्रेष्ठलाई निलम्बित एन्फा अध्यक्ष गणेश थापाको साथ छ भने, कर्माछिरिङ थापाको कार्यशैलीको विरोध गर्दै आएका थिए । 
 
एन्फा सीइओ इन्द्रमान तुलाधरका अनुसार उम्मेद्वारी दर्ताको समय आइतबार सकिएको छ । निर्वाचन हुने दुई पद अध्यक्षमा दुई जना र उपाध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको तुलाधरले बताए । 
 
आइतबार एन्फा कम्प्लेक्समा आफ्नो उम्मेदवारी दर्ता गराए कर्माछिरिङले उम्मेद्वारी घोषणा समेत गरेका छन् । कर्माको प्यानलबाट उपाध्यक्षमा दिपक खातीले उम्मेदवारी दर्ता गराएका छन् । नरेन्द्रको प्यानलबाट उपाध्यक्षमा मणि कुँवरले उम्मेदवारी दर्ता गराएका छन् भने, राष्ट्रिय फुटबल टीमका पूर्व कप्तान तथा गोलरक्षक उपेन्द्रमान सिंहले उपाध्यक्षमै एकल उम्मेद्वारी दर्ता गराएका छन् । 
 
यस्तै, अध्यक्षका लागि उम्मेद्वारी दिन तम्सिएका मनाङ मर्स्याङ्दी क्लबका पूर्व अध्यक्ष टाशी घले पछि हटे । एआइजी विज्ञान राज शर्माले अध्यक्षमै उम्मेद्वारी दिने चर्चा चलेपनि उम्मेदवारी दर्ता गराएनन् । 
 
आउँदो कात्तिक ८ गते हुने विशेष साधाराण सभामा अध्यक्ष र उपाध्यक्षको रिक्त स्थानको लागि निर्वाचन हुने छ । यो निर्वाचनले २१ वर्ष एन्फाको एकलौटी नेतृत्व गरेका गणेश थापाबाट नेतृत्व पुस्तान्त्रण हुने छ । 



नयाँ