arrow

पत्रकार खनालको पुस्तक ‘भू–राजनीति’ विमोचित

logo
प्रकाशित २०७३ असोज ९ आइतबार
gopal-khanal-book-release.jpeg
काठमाडौँ। भारत र चीनले तीव्ररुपमा आर्थिक विकास गरिरहेको अहिलेको युगमा यस क्षेत्रका तीन अर्ब जनसङ्ख्या भएको बजारबाट नेपालले आर्थिक लाभ लिन सक्नुपर्छ।
 
पत्रकार गोपाल खनालले लेखेका ‘भू–राजनीति’ नामक पुस्तकको विमोचन कार्यक्रममा नेताहरुले नेपालको भू–राजनीति संवेदनशील रहेको र भू–राजनीतिक धरातलको यथार्थतालाई स्वीकार गर्दै नेपालले पनि आन्तरिकरुपले राम्रोसँग व्यवस्थापन गर्न सकेमा मात्र देशको आर्थिक विकास हुने बताए।
 
दुई ढुङ्गाबीचको तरुल भनेर नेपालले गुम्सिएर वा निसास्सिएर बस्यो भने देशले कहिल्यै पनि आर्थिकरुपमा फड्को मार्न सक्दैन, त्यसैले कूटनीतिक र राजनीतिक पहलकदमी गरेर दुवै मुलुकसँग राम्रो सम्बन्धको विकास गर्नुपर्ने उनीको भनाइ थियो।
 
कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले देशको हितमा सही ठाउँबाट उठेका प्रश्नमाथि छलफल गर्न तयार रहेको चर्चा गर्दै ठूला दलको नाताले सरकारमा पटक–पटक सहभागी नेपाली काँग्रेससँग बिपीको नाम छ तर नीति र कार्यक्रम छ कि छैन भन्ने प्रश्न गर्दै बाघले सिकार गरेपछि लम्पसार परेर सुतेजस्तै काँग्रेसको अवस्था रहेको बताए।
 
नेपालको वैदेशिक नीतिबारे ओलीले भने, “नेपालको विदेशनीति असंलग्न आन्दोलनका आधारमा नयाँ प्रकारको औचित्यपूर्ण वैदेशिक सम्बन्ध हुनुपर्छ, एमाले यसको पक्षमा छ।”
 
अर्का पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधव नेपालले माओवादीसँगको १२ बुँदे सम्झौता गर्न आफूले ठूलो योगदान गरेको चर्चा गर्दै रोल्पादेखि नयाँ दिल्लीसम्म १२ बुँदे समझदारी निर्माण गर्न आफूले दौडधूप गरेको जानकारी दिए।
 
नेपालले भने, “लिच्छवि राजा अंशुवर्माले देशको स्वतन्त्रता बचाउन छोरी भृकुटीलाई राजा स्रङ्चङगम्पोसँग विवाह गरी कूटनीतिक दूरदर्शीता प्रदर्शन गरेको इतिहास छ। हामी अरु मुलुक सामु झुक्नु भने हुँदैन।”
 
उनले एमालेको प्रष्ट धारणा नेपाल एउटा स्वतन्त्र र स्वाभिमानी मुलुक हो, त्यसैले भारतको प्रभावबाट नेपाललाई मुक्त पार्नुपर्छ भन्ने हाम्रो धारणा हो भने। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आज विमोचन भएको पुस्तकमा १२ बुँदे सम्झौतासहित केही कुरामा गम्भीर गल्ती रहेको चर्चा गर्दै भारत र चीनको आर्थिक विकासबाट पाठ सिकेर नेपाल अघि बढ्न नसकेमा भविष्यमा नेपालले ठूलो मूल्य चुकाउनुपर्ने बताए।
 
त्यसैले, नेपालको भू–राजनीतिक यथार्थलाई स्वीकार गरेर यथार्थ धरातलमा टेकेर कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा सबै पक्ष गम्भीर हुनुपर्ने उनको जोड थियो।
 
श्रेष्ठले भने, “नेपालको परराष्ट्र नीतिका विषयमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर राष्ट्रिय सहमति बनाउनुपर्छ। राजनीतिक र कूटनीतिक पहलकदमीले मात्र दुई मुलुकसँग राम्रो सम्बन्ध कायम राख्न सक्छौँ।”
 
पूर्वमन्त्री डा रामशरण महतले भारत र चीनले गरेको तीव्र आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्ने सुझाव दिँदै त्यसका लागि नेपालले आन्तरिकरुपमा राम्रो व्यवस्थापन गर्नुपर्ने बताए।
 
उनले भारतसँगको कूटनीतिक विषयमा रहेका समस्या कूटनीतिक ढङ्गले समाधान गर्नुपर्ने आवश्यकता औँल्याए।
 
आज विमोचन भएको सो पुस्तक ५०० पृष्ठको रहेको र भारतमा पत्रकारिता गर्दा आफूले गरेको अनुभवलाई लेखकले पुस्तकमा समेट्न खोजेको देखिएको छ भने पुस्तकमा भारतको मामिलामा सात खण्ड र चीनको मामिलामा एक खण्डमा विष्लेषण गरिएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ