arrow

ओलीले सोधे–काँग्रेससँग वीपीको नाम छ, तर नीति र कार्यक्रम छ कि छैन ?

‘कांग्रेसको अवस्था बाघले सिकार गरेपछि लम्पसार परेर सुतेजस्तै’

logo
प्रकाशित २०७३ असोज ९ आइतबार
oli-gopalko-pustakma.jpeg
काठमाडौँ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले एमालेले देशको हितमा सही ठाउँबाट उठेका प्रश्नमाथि छलफल गर्न तयार रहेको बताएका छन् । 
 
पत्रकार गोपाल खनालले लेखेको ‘भू–राजनीति’ नामक पुस्तकको विमोचन कार्यक्रममा अध्यक्ष ओलीले ठूला दलको नाताले सरकारमा पटक–पटक सहभागि नेपाली काँग्रेससँग वीपीको नाम छ तर नीति र कार्यक्रम छ कि छैन भन्ने प्रश्न गरे ? ओलीले भने, ‘कांग्रेसको अवस्था बाघले सिकार गरेपछि लम्पसार परेर सुतेजस्तै छ ।’  
 
नेपालको वैदेशिक नीतिबारे चर्चा गर्दै ओलीले भने, ‘नेपालको विदेशनीति असंलग्न आन्दोलनका आधारमा नयाँ प्रकारको औचित्यपूर्ण वैदेशिक सम्बन्ध हुनुपर्छ, एमाले यसको पक्षमा छ ।’ दुई ढुङ्गाबीचको तरुल भनेर नेपालले गुम्सिएर वा निसास्सिएर बस्यो भने देशले कहिल्यै पनि आर्थिकरुपमा फड्को मार्न सक्दैन । 
 
पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधव नेपालले माओवादीसँगको १२ बुँदे सम्झौता गर्न आफूले ठूलो योगदान गरेको चर्चा गर्दै रोल्पादेखि नयाँ दिल्लीसम्म १२ बुँदे समझदारी निर्माण गर्न आफूले दौडधूप गरेको जानकारी दिए । 
 
नेपालले भने, ‘लिच्छवि राजा अंशुवर्माले देशको स्वतन्त्रता बचाउन छोरी भृकुटीलाई राजा स्रङ्चङगम्पोसँग विवाह गरी कूटनीतिक दूरदर्शीता प्रदर्शन गरेको इतिहास छ । हामी अरु मुलुक सामु झुक्नु भने हुँदैन ।’ नेता नेपालले एमालेको प्रष्ट धारणा नेपाल एउटा स्वतन्त्र र स्वाभिमानी मुलुक हो, त्यसैले भारतको प्रभावबाट नेपाललाई मुक्त पार्नुपर्छ भन्ने हाम्रो धारणा हो भने । 
 
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विमोचन भएको पुस्तकमा १२ बुँदे सम्झौतासहित केही कुरामा गम्भीर गल्ती रहेको चर्चा गर्दै भारत र चीनको आर्थिक विकासबाट पाठ सिकेर नेपाल अघि बढ्न नसकेमा भविष्यमा नेपालले ठूलो मूल्य चुकाउनुपर्ने बताए । 
नेपालको भू–राजनीतिक यथार्थलाई स्वीकार गरेर यथार्थ धरातलमा टेकेर कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा सबै पक्ष गम्भीर पर्छ, श्रेष्ठले थपे, ‘नेपालको परराष्ट्र नीतिका विषयमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर राष्ट्रिय सहमति बनाउनुपर्छ । राजनीतिक र कूटनीतिक पहलकदमीले मात्र दुई मुलुकसँग राम्रो सम्बन्ध कायम राख्न सक्छौँ ।’ 
 
पूर्वमन्त्री रामशरण महतले भारत र चीनले गरेको तीव्र आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्ने सुझाव दिँदै त्यसका लागि नेपालले आन्तरिकरुपमा राम्रो व्यवस्थापन गर्नुपर्ने बताए । महतले भारतसँगको कूटनीतिक विषयमा रहेका समस्या कूटनीतिक ढङ्गले समाधान गर्नुपर्ने आवश्यकता औँल्याए । विमोचित पुस्तक ५०० पृष्ठको रहेको र भारतमा पत्रकारिता गर्दा आफूले गरेको अनुभवलाई लेखकले पुस्तकमा समेट्न खोजेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ