arrow

पौडेललाई सिटौला समूहको जवाफ, 'पद प्राप्तिका लागि याचना नगर्नूस्'

logo
प्रकाशित २०७३ असोज ९ आइतबार
sitaula-gagan.jpeg
काठमाडौं। केहि दिनअघी काठमाडौंको एक कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दिएको अभिव्यक्तिको काँग्रेस नेता कृष्ण प्रसाद सिटौला समुहले जवाफ फर्काएको छ। आफ्नो समुहलाई वागी र विद्रोहीको आरोप लगाएका वरिष्ठ नेता पौडेललाई सिटौला समुहका नेताहरुले पद प्राप्तिका लागि याचना गर्दै नहिड्न सुझाव दिएका छन्। आफ्नो समुहलाई साइजमा राख्न पार्टी सभापति शेर बहादुर देउवासँग वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेको कुराकानीपछि सार्वजनिक गरेको अभिव्यक्तिका सन्दर्भमा सिटौला समुहका नेताहरु पौडेलप्रति खनिएका थिए।
 
तरुण दलका नेता कार्यकर्ताहरुको भेलामा सिटौला समुहका नेता तथा काँग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले वरिष्ठ नेता पौडेललाई दया भावका साथ आन्तरिक प्रतिष्पर्धामा रहेका नेताहरुसँग गएर पद प्राप्तिका लागि याचना नगर्न सुझाव दिए। दुइवटा भातृसंस्थामा कमजोर हुने वित्तिकै अरु भातृसंस्थामा पद प्राप्तिका लागि  लालसा देखाएर वरिष्ठ नेता पौडेलले सभापति शेर बहादुर देउवासँग अरु समुहलाई माया नगर्नुस अरुसँग होइन हामीसँग मिल्नुस भनेर याचना गरेकोमा केन्द्रीय सदस्य पौडेलले व्यङग्य गरे।
 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले नेविसंघ र महिला संघमा आफूहरुको विचार समुहले पाएको सफलताले काँग्रेसका कतिपय नेताहरु तिल्मिलाएको उल्लेख गर्दै उनीहरुको खुट्टा समेत लर्वराएको बताए। पौडेलप्रति लक्षित मन्तव्य राख्दै चौधरीले १४ महाधिवेशनमा आफ्नै समुहबाट पार्टी सभापति बनाउने प्रतिवद्धता जनाए।
 
काँग्रेस नेता तथा स्वास्थ्य मन्त्री गगन थापाले आफूहरुलाई थर्ड पोल भन्नेहरुलाई महिला संघ र नेविसंघको महाधिवेशनले जवाफ दिएको बताए। थापाले आफ्नो समुहमाथि कतिपय नेताहरुले लगाउने गरेको आक्षेप र प्रश्नको जवाफ फर्काउन जरुरी नभएको बताए। राजाको प्रश्नको उत्तर दिएर आएको समुह कुनै पनि नेताले गरेको प्रश्नको उत्तर दिन तयार रहेको बताए। तर आफूहरु नेताप्रति भन्दा जनता र कार्यकर्ताप्रति जवाफदेही भएको उनको भनाइ थियो। काँग्रेसमा अरु नेताको जत्तिको हक छ त्यत्तिकै हक हामीहरुको पनि छ कार्यकर्ताहरुको पनि छ थापाले भने। 
 
कार्यक्रममा काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले पौडेलको नामै नलिइ एक अर्काको मान र मर्यादालाई ध्यान दिन आग्रह गरे। सिटौलाले आफ्नो समुहसँग निकट रहेकाहरुलाई पनि सबैको मान र मर्यादालाई ध्यान दिन आग्रह गरे। पार्टीभित्र आन्तरिक रुपमा वैचारिक प्रतिष्पर्धा भएपनि दुनियाँले देख्दा पार्टी एक भएको सन्देश दिनुपर्ने र देखिनुपर्ने सिटौलाले बताए। 
 
सिटौलाले आफूहरु पारिवारिक नभइ नेपाली काँग्रेसको वैचारिक संस्थापन भएको दावी पुन दोहोर्‍याए। सिटौलाले आफूहरुको अभियान पद प्राप्तिको लागि नभएको बताए। उनले काँग्रेस पार्टीलाई समयानुकुल बनाउन तथा वीपीले देखेको लोकतान्त्रिक समाजवादी पार्टी बनाउन आफूहरुको अभियान रहेको उल्लेख गर्दै उनले विश्वासका साथ अघी वढ्न कार्यकर्ताहरुलाई सुझाए। 
 
नेपाल तरुण दलको पोखरामा कार्तिक २७ देखि २९ सम्म हुने महाधिवेशनको बारेमा छलफल गर्न जुटेका तरुण दलका कार्यकर्ताहरुमाझ सबै नेताहरुले तरुण दलमा उत्साहका साथ लाग्न आग्रह गरे। महाधिवेशनको तोकिएको मितिमा एक दिन पनि तलमाथि नहुने उनीहरुले कार्यकर्ताहरुलाई विश्वास दिलाएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ