गुवाहाटी । नेपालको रुस्लान थ्रीस्टार क्लब ६४ औ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतीय आई लिग क्लब सिलोङ लाजोङ फुटबल क्लबसंग १–१ गोलको बराबरी खेल्दै नेपालको लिग च्याम्पियन क्लब समुह विजेताका रुपमा सेमिफाईनल प्रवेश गरेको हो ।
भारतको गुवाहाटी स्थित नेहरु स्टेडियममा आईतबार राती भएको समुह ए अन्र्तगत लिग चरणको अन्तिम खेल बराबरीमा सकिएपछि सिलोङ लाजोङ पनि समुह उपविजेताको रुपमा सेमिफाईनल प्रवेश गर्न सफल भयो ।
मिडफिल्डर सुनिल वलको फ्रिकिकमा निराजन खड्काको हेड गोलमा परिणत भएपछि थ्रीस्टार समुह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश पायो । लिग चरणमा ३ खेलबाट थ्रीस्टारले ५ अंक जोड्यो ।
समान अंक भएपनि गोल अन्तरका आधारमा सिलोङ दोस्रो स्थानमा रह्यो । ओयल इन्डिया ४ अंक र बारक फुटबल क्लब अंक विहिन हुदै समुह चरणबाट बाहिरिए ।
खेलमा अग्रता भने २७ औ मिनेटमा सिलोङ लाजोङले मिलन बासुमातरीको गोलबाट लिएको थियो । रिवाउन्ड भएको बल सरोज दाहालले क्लियर गर्न नसकेपछि सिलोङले खेलमा अग्रता बनाएको थियो । ३३ औ मिनेटमा पेनाल्टी मार्फत खेलमा फर्कने थ्रीस्टारले अवसर पाएको थियो । तर विमल घर्तिमगर गोल गर्न चुकेपछि थ्रीस्टार पहिलो हाफमा थप दबाबमा आयो ।
दोस्रो हाफपछि थ्रीस्टारले उत्कृष्ट प्रर्दशन गर्यो । एक पछि अर्को मुभ बनाउदै विपक्षीको पोष्टमा थ्रीस्टारका खेलाडीले दबाब कायम राखे । ६१ औ मिनेटमा रजिन धिमालको प्रहार गोलकिपरले मुस्किलले बचाए ।
दोस्रो हाफमा निरन्तर दबाब बनेको थ्रीस्टारका लागि ७५ औ मिनेटमा सुनिल वलको फ्रिकिक पोष्टको नजिकैबाट बाहिरियो । सिलोङबिरुद्धको खेलमा मिडफिल्डर बुद्ध चेम्जोङ र गोलकिपर एलन न्युपाने चोट बोक्दै पहिलो हाफपछि बाहिरिएका थिए ।
डिफेन्डर पिटरले ७८ औ मिनेटमा पहेलो कार्ड खाए । उनले अब सेमिफाईनलको खेल गुमाउने छन् । जितपछि क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीको मेहनतले जित हात लागेको प्रतिक्रिया दिए ।
उनले भने ‘आई लिग खेल्ने बलियो टोलीसंग खेलाडीले अन्तिम मिनेट सम्म पनि आत्मसर्मपण गरेन्न, त्यहीनै समुह विजेताका रुपमा सेमिफाईनल पुग्ने कारण बन्यो ।’
केसीले थपे ‘एउटा अन्तर्राष्टिय प्रतियोगितामा समुह विजेताका रुपमा अघिल्लो चरणमा पुग्नु क्लब र नेपाली फुटबलकै लागि राम्रो हो, यसले क्लब, खेलाडी र नेपाली फुटबलको स्तरको पनि माथी रहेको देखाएको छ ।’
केसीले नेतृत्वमा थ्रीस्टारले एक महिना अघि एएफसी कपको प्लेअफमा छनोट भएको थियो । थ्रीस्टारले सेमिफाईनलको खेल आगामी बुधबार खेल्नेछ । प्रतिद्धन्द्ीको टुङगो सोमबार हुने समुह बी अन्र्तगतको लिग चरणका अन्तिम खेलले लगाउने छ ।