arrow

अन्योलमा रास्वपाः विश्वासमा कांग्रेस र एमाले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
rsp-rastriya-swatantra-party-final.jpg

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अझै अनिर्णित भएको छ । संसदमा चौथो ठूलो दलको रुपमा उदाएको रास्वपाले राष्ट्रपतिमा कसलाई मत दिने भन्ने बारेमा कुनै पनि निर्णय गरेको छैन । 

राजनीतिक दलहरुबीच नयाँ ध्रुवीकरण भैसकेको र सरकार बनेको दुई महिनामै एमालेले सरकार छाड्नु र नेपाली कांग्रेससहितका नयाँ सत्ता समीकरण बनिसक्दा पनि रास्वपाले आफूलाई कुनै पनि कित्तामा उभ्याएको छैन । 

राष्ट्रपतिमा उम्मेदवारी दिनुअघि कांग्रेस नेता रामचन्द्र पौडेलले रवि लामिछानेलाई भेटेर सहयोगको आग्रह गरेका थिए । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सत्ता गठबन्धनमै उपपप्रधान तथा गृहमन्त्री रहिसकेका लामिछानेले कांग्रेसले दाहाललाई समर्थन गर्ने परिस्थितिमा राष्ट्रपतिका उम्मेदवार पौडेललाई पनि मन वचन दिएका छैनन् । उनले साथीहरुसँग सल्लाह गर्ने भनेर फर्काएका थिए । 

अहिले पनि कुनै पनि निर्णय नगरी बसेको रास्वपाले एमालेलाई पनि वचन दिइसकेको छैन । संसद्का तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रले सत्ता राजनीतिमा नयाँ कोर्स तय गरे पनि चौथो ठूलो दल रास्वपा भने अझै अनिर्णयको बन्दी बन्नुले एमालेलाई सहयोग गर्ने हो कि भन्ने आशंका पनि उब्जिएको छ ।  

राष्ट्रपति निर्वाचनका लागि बनेको कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धन र नेकपा एमालेले दुवैले भावी सम्भावित सत्ता गणितलाई लिएर संसद्को चौथौ शक्ति रास्वपामाथि ध्यान केन्द्रीत गरेका छन् ।

 ‘एमालेले रास्वपासँग अपेक्षा गरेको छ’, एमालेका एक पदाधिकारीले भने । तर रास्वपाका प्रवक्ता डा.मुकुल ढकालले भने यो विषयमा छलफल गर्न बाँकी रहेको बताए ।

 ‘हामी एक दुई दिनमै निष्कर्षमा पुग्छौं, राष्ट्रपतिमा सोचेरै मतदान हुनेछ’, प्रवक्ता ढकालले भने । उनका अनुसार पार्टी उपनिर्वाचनमा लागेको कारण यस विषयमा बैठकहरु बस्न नभ्याएकाले निर्णय नभएको हो ।

 ‘केही दिनमै बैठक बस्नेछ, अहिले यो विषयमा पार्टीभित्र छलफल भएको छैन’, उनले भने । 

तत्कालीन सत्ता गठबन्धनमा उपप्रधान तथा गृहमन्त्रीसहित तीन मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी भएको रास्वपाका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा अदालतको फैसलाबाट पदमुक्त भएपछि सरकारबाटै बाहिर बसेको छ । 

तर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन भने गरिरहेको छ । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्तापछि कांग्रेस र एमाले दुवैले पत्राचार गरेर राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न आग्रह पनि गरेका छन् । 

एमाले नेताहरुले उम्मेदवारसहित दिउँसो भेटघाट गर्ने कार्यक्रमसमेत तय गरेका छन् । त्यसका साथै माओवादी नेतृत्वको सरकारले पनि रास्वपालाई सरकारमा आउन आग्रह गर्ने बताइएको छ । 

कांग्रेसले पनि रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिरहेको छ । अर्कोतिर राष्ट्रपति निर्वाचनसँगै लामो सहकार्यका लागि एमालेले पनि रास्वपालाई प्रस्ताव गरिरहेको छ । 

रास्वपाका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनको विषयलाई लिएर दुवै पार्टी (कांग्रेस–एमाले) सँग कुराकानी चलिरहेको छ ।

 ‘कसलाई मत दिन निर्णय नभए पनि दुवै पार्टीका नेताहरुसँग कुराकानी चलिरहेको छ’, ढकालले भने, ‘हामीले केही निर्णय नगरेको मात्रै हो समय आएपछि कसलाई मत दिने भन्ने थाह पाइहाल्नु हुन्छ ।’ 

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण कांग्रेसले रास्वपासँग मतको अपेक्षा गरेको छ । उता एमालेले पनि सहकार्य गर्न खोजिरहेका कारण राष्ट्रपतिमा मतको अपेक्षा गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ