- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू अन्तत: लगभग पृथ्वीको आधा हिस्सा ओगटेको कमजोर र महत्त्वपूर्ण खजाना खुला महासागर (हाइ सी) को रक्षा गर्ने पहिलो अन्तर्राष्ट्रिय सन्धिको पाठमा सहमत भएका छन् । खुला महासागर भनेको विशेष गरी कुनै पनि देशको अधिकार क्षेत्र भित्र नपर्ने महासागर हो ।
वर्षौंको वार्तापछि एक सय भन्दा बढी देशका वार्ताकारहरूले संयुक्त राष्ट्र संघीय सन्धि पारित गरेका हुन् । लामो समयदेखि प्रतिक्षा गरिएको यो कदमले समुद्री जैविक विविधताको क्षतिलाई उल्टाउन र दिगो विकास सुनिश्चित गर्न मद्दत गर्ने पर्यावरण समूहहरूको भनाइ छ।
'जहाज किनारमा आइपुगेको छ,' सम्मेलनकी अध्यक्ष रेना लीले ग्रिनविच समय अनुसार ९ बजेर ३० मिनेट भन्दा केही अघि न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा उपस्थित प्रतिनिधिहरूको तालीसँगै घोषणा गरिन्।
करिब १५ वर्षदेखि छलफलमा रहेको महासागर जैविक विविधताको दिगो प्रयोगको संरक्षण र सुनिश्चित गर्न कानुनी रूपमा बाध्यकारी सम्झौता संयुक्त राष्ट्रसंघको नेतृत्वमा पाँच चरणको लामो वार्तापछि अन्ततः सहमतिमा पुगेको हो।
यो सन्धिलाई यस बीसको दशकको अन्त्यसम्ममा अर्थात् सन् २०३० सम्ममा विश्वको ३० प्रतिशत जमिन र समुद्रलाई संरक्षणमा ल्याउने विश्वव्यापी प्रयासको एक महत्वपूर्ण भागको रूपमा हेरिएको छ। यसअघि गत वर्षको डिसेम्बरमा क्यानडाको मोन्ट्रियलमा '३० बाइ ३०' भनेर चिनिने यो लक्ष्यमा सहमति भएको थियो।
यो सन्धिले देशहरूलाई खुला महासागरमा प्रस्तावित गतिविधिहरूको वातावरणीय प्रभाव मूल्याङ्कन गर्न पनि बाध्य पार्नेछ।
गत फेब्रुअरी २० मा शुरु भएको पछिल्लो चरणको वार्तामा आर्थिक चासोहरू प्रमुख रोकावटका विषय थिए। जसमा विकासोन्मुख देशहरूले प्रविधिको स्थानान्तरण सहित नीलो अर्थतन्त्रबाट ठूलो हिस्सा लिन आह्वान गरेका थिए ।
बायोटेक्नोलोजी जस्ता उद्योगहरूमा प्रयोग हुने सामुद्रिक आनुवंशिक स्रोतहरूको फाइदाहरू शेयर गर्ने सम्झौता पनि अन्तसम्म विवादको क्षेत्र बनेको थियो ।
उच्च समुद्रहरू अथवा खुला महासागरहरुले विश्वको ६० प्रतिशतभन्दा बढी महासागरहरू र लगभग आधा ग्रहको सतह ओगट्ने भए पनि यो लामो समयदेखि विश्वको ध्यानको केन्द्र बन्न सकेको छैन ।
महासागरीय इकोसिस्टमले पृथ्वीका मानिसले सास फेर्न आवश्यक आधा अक्सिजन उपलब्ध गराउने गर्छ। मानवीय गतिविधिहरूद्वारा उत्सर्जित कार्बन डाइअक्साइडको ठूलो हिस्सा यी नै महासागरहरुले अवशोषित गरेर ग्लोबल वार्मिङलाई कम गर्छन्।
तर जलवायु परिवर्तन, प्रदूषण र अत्यधिक माछा मार्ने जस्ता मानवीय गतिविधिले महासागरीय इकोसिस्टम संकटमा पर्दै गएको थियो। यसैलाई जोगाउन यो सन्धि पारित भएको हो।