arrow

दक्षिण प्रशान्तका आठ देश पकडमा लिन चिनियाँ विदेश मन्त्री भ्रमणमा, पश्चिममा चेतावनीको घण्टी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
china-south-pacific-wang.jpg

काठमाडौं । दक्षिण प्रशान्तमा नाटकीय रूपमा चीनको सुरक्षा र आर्थिक पहुँच विस्तार गर्नेबारे लिक भएको योजनामा पश्चिमी शक्तिहरूले बिहीबार चेतावनी दिएका छन् । चीनको यो कदमलाई एक क्षेत्रीय नेताले टापु राज्यलाई 'बेइजिङको कक्षा' मा ताल्चा लगाउने प्रयास भएको बताएका छन् ।

समाचार संस्था एएफपीले प्राप्त गरेको पञ्चवर्षीय योजना विस्तृत मस्यौदा सम्झौता प्यासिफिक टापु राष्ट्रहरूले अनुमोदन गरेमा संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूको हितका लागि महत्वपूर्ण मानिने क्षेत्रमा चीनलाई ठूलो सुरक्षा पदचिन्ह उपलब्ध हुने देखिएको छ ।

बेइजिङको लागि यस क्षेत्रको बढ्दो महत्त्वको सङ्केतका बेला चिनियाँ विदेशमन्त्री वाङ यी सम्भावित आकर्षक प्रस्ताव प्रस्तुत गर्न प्रशान्तमा आठ राष्ट्रको उच्चस्तरीय भ्रमणको शुरुमा बिहीबार सोलोमन टापु पुगेका छन् ।

यो सम्झौता प्याकेजले १० वटा साना टापु राज्यलाई करोडौं डलर चिनियाँ सहयोग दिने भएको छ । फलस्वरुपः चीन प्यासिफिक टापुहरूबीच स्वतन्त्र व्यापार सम्झौताको हुने र त्यहाँका १.४ अर्ब मानिसहरूको विशाल बजारमा चिनियाँ पहुँच हुने छ ।

यति मात्रै हैन यो सम्झौताले चीनलाई स्थानीय प्रहरीलाई तालिम दिने, स्थानीय साइबर सुरक्षामा संलग्न हुने, राजनीतिक सम्बन्ध विस्तार गर्ने, संवेदनशील समुद्री नक्साङ्कन सञ्चालन गर्ने र प्राकृतिक स्रोतहरूमा थप पहुँच प्राप्त गर्ने मौकासमेत दिने भएको छ ।

सोमबार चिनियाँ विदेशमन्त्री वाङ फिजी पुग्दा 'व्यापक विकास भिजन' अनुमोदन हुने विश्वास गरिएको छ ।

कुनै सहयोग आवश्यक छैन 

'चीन विश्व क्षेत्रमा आफ्नो प्रभाव बढाउन खोजिरहेको छ, जहाँ अष्ट्रेलिया दोस्रो विश्वयुद्धदेखि नै रोजाइको सुरक्षा साझेदार भएको छ,' अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बिहीबार भनेका छन् ।

उनले यस्तो अवस्थामा अष्ट्रेलियाले प्रतिक्रिया गर्न आवश्यक रहेको बताउँदै प्यासिफिक क्षेत्रमा प्रशिक्षण, सामुद्रिक सुरक्षा र जलवायुको प्रभावहरू विरुद्ध लड्न पूर्वाधार लगायतका लागि करिब ३५ करोड अमेरिकी डलर सहायताको घोषणा गरेका छन् ।

अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङ फिजी सरकारसँग योजना बारे परामर्श गर्न त्यहाँ गएकी छिन् । सामान्यतया चीनसँग घनिष्ठ सम्बन्ध रहेको न्यूजिल्याण्डकी  प्रधानमन्त्री जसिन्डा आर्डर्नले यस क्षेत्रलाई बेइजिङको सुरक्षा व्यवस्थाको आवश्यकता नभएको बताएकी छिन् ।

वाशिंगटनमा अमेरिकी सिनेटरहरूसँगको बैठकपछि उनले भनिन्, 'हामीसँग प्रशान्त क्षेत्रमा अवस्थित कुनै पनि सुरक्षा चुनौतीहरूको जवाफ दिने साधन र क्षमता छ भन्ने कुरामा हामी दृढ छौं, र न्यूजिल्याण्ड त्यसो गर्न इच्छुक छ।'

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले चीनसँगको सम्झौतामा रहेका देशहरूलाई चीनसँगको 'छायाँ' सम्झौताहरूबाट सावधान रहन चेतावनी दिएका छन् ।

'हामी चिन्तित छौं कि रिपोर्ट गरिएका यी सम्झौताहरू हतारमा, गैरपारदर्शी प्रक्रियामा गरिएका हुन सक्छन्,' प्राइसले पत्रकारहरूसँग बोल्दै भनेका छन्, प्रशान्त राष्ट्रहरूले आफ्नै सार्वभौम छनाेट गर्नेछन् ।

घेराबन्दी

चिनियाँ योजना, यदि स्वीकृत भयो भने यसले महत्त्वपूर्ण परिवर्तनको प्रतिनिधित्व गर्नेछ । जसले चिनियाँ पुलिसको तैनाथीदेखि लिएर चिनियाँ 'कला समूहहरू' द्वारा भ्रमण गर्ने सबै कुरालाई सहज बनाउँदछ ।

चीन र प्रशान्त टापुहरू बीचको उडान बढ्ने छन् । बेइजिङले एक क्षेत्रीय राजदूत नियुक्त गर्नेछ, युवा प्रशान्त कूटनीतिज्ञहरूलाई प्रशिक्षण प्रदान गर्नेछ र २ हजार ५ सय वटा सरकारी 'छात्रवृत्ति' प्रदान गर्नेछ ।

लोवी इन्स्टिच्युटका प्रशान्त विदेश नीति विश्लेषक मिहाई सोराले यसलाई, 'क्षेत्रीय सुरक्षा शक्तिको रूपमा आफूलाई स्थापित गर्ने चीनको महत्वाकांक्षाको अपेक्षाकृत दुर्लभ कागजी प्रमाण' भएको बताएका छन् ।

न्यूजिल्याण्डको क्यान्टरबरी विश्वविद्यालयका राजनीतिशास्त्रकी प्राध्यापक एनी मारी ब्राडीले, 'चीनले संयुक्त राज्य अमेरिकालाई कुहिनो बनाउन चाहेको' बताएकी छिन् ।

'यो एक घेराबन्दी चाल हो, जसको उद्देश्य अमेरिकालाई यस क्षेत्रबाट बाहिर धकेल्नु र अष्ट्रेलिया, न्यूजिल्याण्डलाई अलग्गै राख्नु हो,' उनले भनिन् ।

चिनियाँ योजनाले क्षेत्रीय राजधानीहरूमा पनि खतराको घण्टी बजाउँदैछ। सँगी प्यासिफिक नेताहरूलाई एउटा कडा पत्रमा माइक्रोनेसियाका संघीय राज्यहरूका अध्यक्ष डेभिड पानुएलोले चेतावनी दिए कि सम्झौता पहिलो नजरमा 'आकर्षक' देखिन्छ । तर चीनलाई 'हाम्रो क्षेत्रको पहुँच र नियन्त्रण' प्राप्त गर्न अनुमति दिनेछ।

प्रस्तावहरूलाई 'अस्पष्ट' भन्दै पानुएलोले उनीहरूले सरकार र उद्योगहरूमा चिनियाँ प्रभाव पुर्‍याउने, कल र इमेलको 'मास निगरानी' लाई अनुमति दिनेसमेत बताएका छन् । यसको 'परिणाम', उनले भनेका छन्, 'क्षेत्रीय शान्ति, सुरक्षा र स्थायित्वमा भंग' हुनेछ।

आकर्षक

माइक्रोनेसियाको संयुक्त राज्य अमेरिकासँग स्वतन्त्र सम्बन्धको कम्प्याक्ट छ, त्यसले यसलाई यो क्षेत्रको सबैभन्दा निकटम अमेरिकी सहयोगी बनाएको छ । तर अन्य प्यासिफिक नेताहरूले चिनियाँ प्रस्तावलाई सम्भवतः आकर्षक वा लाभदायक रूपमा देख्ने ठानिएको छ ।

संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड र जापानका नीति निर्माताहरू अझै पनि अप्रिलमा सोलोमन टापुले बेइजिङसँग गोप्य रूपमा सुरक्षा सम्झौताको वार्ता गरेको खुलासाबाट आक्रोशित छन्।

सम्झौताको लिक भएको मस्यौदामा अष्ट्रेलियाबाट २,००० किलोमिटर भन्दा कम दूरीमा रहेको टापु राष्ट्रमा चिनियाँ नौसैनिक तैनाथीलाई अनुमति दिने प्रावधान थियो ।

सोलोमन टापुले चिनियाँ (सैन्य) आधारहरू स्थापना हुन नदिने बताएको छ । तर यसलाई चीनको अनुमति बिना सम्झौताको बारेमा सार्वजनिक रूपमा बोल्न पनि निषेध गरिएको छ।

बिहीबार सोलोमन टापुको राजधानी होनियाराको एक दिने भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङले विवरण सार्वजनिक नगरिएको मस्यौदा सम्झौतामा हस्ताक्षर गर्ने र त्यहाँका प्रधानमन्त्री एवं विदेशमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको थियो ।

जुन ४ सम्मको यात्रामा रहेका वाङले पपुवा न्यूगिनी, फिजी, किरिबाटी र सामोआमाको समेत भ्रमण गर्ने भएका छन् । यसका साथै माइक्रोनेसिया र न्यूजिल्याण्डको स्वशासित भाग कुक टापुसँगका अधिकारीहरुसँग भिडियो कलमा कुराकानी गर्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ