arrow

१ रनले शतक चुकाएका पारसले जिताए वारियर्सलाई, एक्लैको १० छक्का

logo
प्रकाशित २०७३ असोज १० सोमबार
paras-news-vishal.jpeg
काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एभरेष्ट  प्रिमियर लिग क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको विशाल वारियर्सले रोमाञ्चक जित हासिल गरेको छ ।
 
वारियर्सले विनोद भण्डारीको सगरमाथा लिजेण्ड्सविरुद्ध २५ रनको रोमाञ्चक जित हासिल गरेको हो । यद्यपि, टिमलाई जित दिलाएका कप्तान पारस खड्का मात्र एक रनले शतक बनाउनबाट चुके । 
 
टस हारेर पहिले व्याटिङ गरेको वारियर्सले निर्धारित २० ओभरमा ४ विकेटको गुमाएर १ सय ७४ रनको योगफल तयार पार्‍यो । उसका लागि कप्तान पारस खड्काले सर्वाधिक ९९ रन जोडे । पारसले ४५ बलको सामना गर्दे १० छक्का र २ चौका वर्षाए । 
 
यस्तै, सुरज कुर्मीले ३० रन जोडे भने, सागर पुन र महेश श्रेष्ठले समान १३ रन जोडे । फितलो बलिङ गरेको सगरमाथाका लागि रुपेश श्रीवास्तवले २ विकेट लिए । विक्रम सोव र मेहबुव आलमले समान एक–एक विकेट हात पारे । 
 
१ सय ५५ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङ गरेको सगरमाथा लिजेण्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर मात्र १ सय ४९ रन बनाउन सक्यो । सगरमाथाका लागि सुनील धमलाले ८७ रनको योगदान गरे पनि टोलीलाई जिताउन सकेनन् ।
 
टोलीको कप्तानी सम्हालेका विनोद भण्डारी ७ रनमै पवेलियन फर्किए । यस्तै मेहबुव आलमले २७ रन जोड्दा अनील मण्डलले पनि १५ रन जोडे । विशाल वारियर्सका लागि सुशन भारीले २ विकेट लिँदा सागर पुन र दिपेश खत्रीले पनि समान एक–एक विकेट हात पारे ।



नयाँ