arrow

को को छन् प्रधानमन्त्री तथा मन्त्रीका प्रेस सल्लाहकार र संयोजक ?

logo
प्रकाशित २०७३ असोज १० सोमबार
cabinet-aaja-nnn.jpeg
काठमाडौ । मिडियाहरुलाई लगातार रुपमा सूचना उपलब्ध गराउन तथा जनसम्पर्कलाई अझ बढी ब्यवस्थित बनाउने उदेश्यले मन्त्रीहरुले पत्रकारहरुलाई सहयोगी तथा सल्लाहकार नियुक्त गर्दे आएका छन्। केही बर्ष अघिसम्म प्रधानमन्त्री र संचारमन्त्रीले मात्र प्रेस सल्लाहकार राख्दै आएकोमा अहिले लगभग सबै मन्त्रीहरुले प्रेस सल्लाहकार र संयोजक राख्न थालेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको अधिकांश मन्त्रीहरुले पनि आफ्नो काम काजलाई सहज बनाउन आफू निकट पत्रकारलाई प्रेस सल्लाहकार र प्रेस संयोजकमा नियुक्त गरेका छन्।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोबिन्द आचार्यलाई प्रेस सल्लाहकारको रुपमा नियुक्त दिएका छन्। पत्रकार आचार्य माओवादी केन्द्र निकट प्रेस सेन्टरको अध्यक्ष हुन् । उपप्रधानमन्त्री बिमलेन्द्र निधिले भने औपचारिक रुपमा प्रेस संयोजक वा सल्लाहकार भनेर कसैलाई पनि राखेका छैनन् तर उनी निकट पत्रकार परशु घिमिरेले अनौपचारिक रुपमा प्रेस सम्बन्धी काममा निधीलाई सहयोग पुर्‍याउँदै आएका छन्। उनलाई पुरुषोत्तम दाहालले पनि परामर्श दिदै आएका छन् भने रामजी दाहाल पनि उनलाई सुझाव दिनेमा पर्ने उनी निकटहरुले बताएका छन् । 
 
त्यसैगरी अर्का उपप्रधानमन्त्री कृष्ण बहादुर महराको प्रेस संयोजकमा कास्कीका पत्रकार त्रिभुवन चन्द्र पौडेल छन्। उनी पत्रकार महासंघ कास्कीका सचिव पनि हुन्। 
 
त्यसैगरी शहरी बिकास मन्त्री अर्जुन नरसिंह केसीको प्रेस संयोजकमा नुवाकोटमा लामो समय पत्रकारिता गरेका तथा प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य शिव देवकोटा रहेका छन् । उनले जनसम्पर्क तथा प्रेस सम्बन्धी काममा मन्त्रीलाई सघाँउदै आएका छन् ।
 
त्यसैगरी परराष्ट्र मन्त्री प्रकाश शरण महतको प्रेस तथा जनसम्पर्क संयोजकमा राष्ट्रिय समाचार समिति (रासस) मा लामो समय काम गरिसकेका एकराज पाठकलाई नियुक्त गरिएको छ । लामो समय राससको अन्तराष्ट्रिय समाचार विभागमा काम गरिसकेका तथा आम संञ्चार तथा पत्रकारितामा स्नातकोत्तरसम्म अध्यापन गर्दे आएका पाठक परराष्ट्र मामिलामा समेत जानकार मानिन्छन् ।
 
संचार मन्त्री सुरेन्द्र कुमार कार्कीको प्रेस संयोजकमा राजेन्द्र किराती नियुक्त भएका छन् । उनी माओवादी पार्टी निकट भएर लामो समय देखि पत्रकारिता गर्दे आएका ब्यक्ति हुन् । 
 
त्यसैगरी उद्योग मन्त्री नबिन्द्र राज जोशीको प्रेस सल्लाहकारमा नेपाल आर्थिक पत्रकार समाजका पूर्व अध्यक्ष भइसकेका प्रदिप चापागाई नियुक्त भएका छन् । नेपाल टेलिभिजनमा आवद्ध चापागाई आर्थिक पत्रकारिताको क्षेत्रमा जानकार हुन् ।
 
त्यसैगरी स्वस्थ्य मन्त्री गगन थापाको प्रेस संयोजकको रुपमा हालसम्म कसैलाई नियुक्त गरिनसके पनि अनौपचारिक रुममा लामो समय गगन थापासगै रहेर राजनैतिक सहयोगीको भूमिका खेल्दै आएका प्रताप पौडेलले उनलाई सहयोग पुर्‍याउँदै आएका छन्। स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्दे आएका दिनेश सुनारले सचिवालयमा रहेर प्रेस सम्बन्धी सहयोग गर्दे आएका छन् ।
 
सहकारी मन्त्री हृदयराम थानीको प्रेस सम्वन्धी सहयोग अनौपचारीक रुपमा भने सुर्खेतका पत्रकार मौति पौडेलले गर्दै आएकोमा औपचारीक रुपमा भने रेडियो नेपालका पत्रकार नरेश थापाले सघाउने भएका छन्। उनको सुर्खेतबाट मन्त्रालयमा काजमा सरुवा हुने भएको छ । 
 
वनमन्त्री शंकर भण्डारीले पत्रकार प्रकाश अधिकारीलाई प्रेस संयोजकको जिम्मा दिएका छन्। 
 
सिंचाई मन्त्री दिपक गिरीले रेडियो पत्रकार तथा एकोर्‍यावका सचिव अर्जुन गिरीलाई राख्ने तयारी छ। श्रम मन्त्री सूर्यमान गुरुङको प्रेस संयोजक औपचारिक रुपमा तोकिएको छैन् । रक्षा मन्त्री वालकृष्ण खाँडको पनि औपचारिक रुपमा नियुक्त भएको छैन । शान्ति मन्त्री सितादेवी यादवले पनि प्रेस सल्लाहकार संयोजक तोकेकी छैनन्। 
 
अन्य कतिपय मन्त्रीलाई नजिकबाट पत्रकारहरुले सहयोग गर्दे आएका भए पनि प्रेस संयोजक तथा प्रेस सल्लाहकार भनेर नियुक्ती दिइएको छैन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ