arrow

देशमा अशान्ति छ तर काँग्रेस एकाग्रह बनेको छ, केही बोल्दैन–सत्ताको मुख ताकिरहेको छ : ओली

मेरो सरकार ढलेकै दिन देखि राजनीतिक सङ्क्रमणकाल बढ्यो

logo
प्रकाशित २०७३ असोज १० सोमबार
kp-oli.jpg.jpeg
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तनका कारण राजनीतिक सङ्क्रमणकाल बढेको बताएका छन् । 
 
एमाले प्रदेश नम्बर ३ को प्रथम बैठकको सोमबार ललितपुरमा उद्घाटन गर्दै अध्यक्ष ओलीले सङ्क्रमणकाल बढेकाले राजनीतिक परिवर्तन सरल तरिकाले टुङगोमा पुर्‍याउन जटिल भएको बताए ।  
 
अध्यक्ष ओलीले भने, ‘संविधान जारी गरेपछि हामी राजनीतिक सङ्क्रमणकालको अन्तिममा थियौँ । तर,  संविधान पूर्ण रुपमा कार्यान्वयन नभएकाले राजनीतिक परिवर्तन जटिल मोडमा पुगेको छ । सङ्क्रमणकाल सहज ढङ्गले जाने स्थिति छैन ।’ 
 
अध्यक्ष ओलीले कार्यकारी पदमा नभए पनि अहिलेको सङ्क्रमणकाललाई टुङ्ग्याउने जिम्मा एमालेको हो भन्दै आगामी २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सक्नुपर्ने बताए । 
 
छिमेकीसँगको नीतिमा केही समस्या आए पनि अन्तर्राष्ट्रिय नीतिमा केही फरक नपरेको ओलीको जिकिर छ । अध्यक्ष ओलीले देश गम्भीर अवस्थामा पुगेपनि नेपाली काँग्रेसले चुप लागेर सत्ताको मुख ताकेको आरोप लगाए ।
 
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले थपे, ‘देशमा अशान्ति छ । तर काँग्रेस एकाग्रह बनेको छ । केही बोल्दैन । काँग्रेसको अर्जुनदृष्टि सत्तामा पुगेको छ । देशका बारेमा गम्भीर छैन ।’ नेता ओलीले आफूहरु हिमाल, पहाड र तराईका समस्या समाधान गर्न लडेको तर पनि आदिवासी जनजाति र मधेसी विरोधीको आरोप लगाएकामा आक्रोश व्यक्त गर्दै त्यसलाई खण्डन गर्नुपर्नेमा जोड दिए । 
 
कार्यक्रममा एमालेका वरिष्ठ नेता झलनाथ खनालले लोकतान्त्रिक मूल्य मान्यताका हिसाबले विश्वको अग्रगामी संविधानभित्र नेपालको संविधान पर्ने बताउँदै सबै जातजाति र भाषाभाषीको अधिकार स्थापित गर्ने समाजवाद उन्मुख संविधान भएको जिकिर गरे । 
 
पूर्वप्रधानमन्त्री खनालले संविधान चाँडै घोषणा गर्नुपर्ने भएकाले एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारीको अडान छाडेको उल्लेख गर्दै तर त्यसलाई पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।  
 
खनालले भने, ‘तोकिएको समयमा तीन तहको निर्वाचन गरेर राजनीतिक सङ्क्रमणकाल अन्त्य गर्नुपर्छ ।’ नेता खनालले पार्टी गुट र समूहगत भावनाले ग्रस्त भएकाले त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ