arrow

कर्मशील बाजेलाई राष्ट्र प्रमुखको जिम्मेवारी

logo
लाओस राई,  
प्रकाशित २०७९ फागुन २५ बिहिबार
laos-rai-ramchandra-article.jpg

सानोमा अर्थात् बाल्यकाल छँदा बाजे नेत्रबहादुर चाम्लिङले पुस्तक देखाउँदै राजनीतिको बारेमा सुनाउन हुन्थ्यो । ‘हेर केटा हो राजनीति भनेको बृहत बिषय हो, यसको सुरुवात र अन्त्य कसरी हुन्छ यसै भन्न सकिन्न । राजनीतिभित्र संसारका हरेक विषयहरु पर्दछन् । सबै नीतिहरुको राजा भएको हुँदा राजनीति भनेको हो । यसका हरेक पक्ष बुझ्न गारो हुन्छ’ भन्दै राजनीतिको असजिलो पक्ष सुनाइरहनु हुन्थ्यो । 

बाजेले सुनाउने हरेक घटनाक्रम राजनीतिसँग नै सम्बन्धित हुने गर्दथे । राजनीतिको घटना मात्रै सँधै सुनाउनु हुँदैन भनेर हो कि बेला बेलामा कथा सुनाउने ‘कथा बाजे’ (खरेल बाजे) आउनुहुन्थ्यो । उहाँले इमान्दारी, धैर्यता, असल, खराब, के हो ? यसको महत्वसँग सम्बन्धित धेरै कथाहरु सुनाउनु हुन्थ्यो । 

मुन्धुम र पूर्वीय दर्शनको उतिकै ज्ञान भएका मेरो बाजे र कथा बाजेको भनाइ मनमा बसे पनि त्यसको अर्थ र गहिराइ बुझ्न म सक्दिन थिएँ । समयक्रमले राजनीतिको पोखरीमा पौडिन थालेपछि अहिले बुझ्न थालेको छु  ।

गत पुस १० गते भएको सरकार गठनको प्रकिया फागुन १२ गतेसम्म आइपुग्दा ‘युटर्न’ जस्तै हुनपुग्यो । जसले माओवादी केन्द्र, नेकपा एमाले र अरु दक्षिणपन्थीहरुको गठबन्धनलाई धरासायी बनाइदियो । र निर्वाचनअघिको वाम लोकतान्त्रिक गठबन्धननलाई ब्यूँताइदियो । 

छड्के बाटो भए पनि कांग्रेसलाई राष्ट्रपति र माओवादीलाई प्रधानमन्त्रीको अवस्थाकै पुर्यायो । बाजेले भनेजस्तै निर्माण भयो अवस्था । समीकरण बदलियो । हिजोको अवस्था बन्यो जुन शक्तिहरु गणतन्त्रवादी थिए  ।

अब बाजे पुस्ताका कर्मशील बाजे (रामचन्द्र पौडेल) राष्ट्र प्रमुख बनेका छन् । जीवनको अधिकांस समय जनताको निम्ति संघर्षमा बिताएका उनी लोकतान्त्रिक समाजवादलाई संस्थागत गर्ने समयमा राष्ट्र«को अभिभावकको भूमिकामा पुगेका छन् । 

सामन्ती (पूर्वराजा) र दक्षिणपन्थीहरु सल्बलाइरहेको बेला राष्ट्रप्रमुख जस्तो मुख्य जिम्मेवारीमा पुग्नुलाई चुनौती र अवसर दुवै कोणबाट विश्लेषण गर्न सकिन्छ । 

तथापि ती विषय महत्वपूर्ण हुँदाहुँदै पनि त्यस विषयमा भोलिका दिनहरुमा कुरा गर्दै जानुपर्छ ।  यहाँ बाजेको राजनीतिक यात्रा, संघर्ष उतारचढावको इतिहासको छोटो समीक्षा मात्र गर्न खोजिएको छ । 

राजनीतिक कर्मको हिसाबले उनी  सरकारको कार्यकारी भइसक्नुपर्ने थियो । राजनीतिको ‘ग्ल्यामर’ मा बाजी मार्न नसक्दा उनका सहकर्मी शेरबहादुर देउवा दुईपटक नेपाली कांग्रेस पार्टीको केन्द्रीय सभापति र पाँच पटक प्रधानमन्त्री हुँदा पनि उनी एक पट समेत सरकार प्रमुख बन्न सकेनन् । 

संसदवादको सधै वकालत गरिरहने उनले त्यही संसदबाट कहिल्यै साथ पाएनन् । प्रयोगवादी राजनीतिक पार्टीहरुले त उनलाई हरेक चरणमा विजय हुनबाट रोके पनि । त्यही बखत नेपालको राजनीतिमा धेरै पटक (१७ पटक) सरकार प्रमुखमा पराजित हुने व्यक्तिको नामले चिनियो ।

यो इतिहास भइसकेको राजनीतिक अभ्यास सामान्य घटना मात्र थिएन । किनभने त्यसबेला सम्पूर्ण संसदवादको विरोधी शक्ति कम्युनिष्टहरु संसदीय व्यवस्थाको अन्त्य गर्ने मार्गतिर उद्दत थिए । त्यही कारणले हरेक निर्वाचनलाई संसद र साम्यवादबीचको शान्तिपूर्ण लडाइको रुपमा लिइयो ।  

निष्ठा, इमान्दारिता व्यक्तिगत स्वतन्त्रता र कर्मलाई आचरण बनाएका उनले सामाज बदल्ने अभियानमुखी नाराहरु उच्चारण गर्दै ‘निमुखालाई न्याय विपन्नलाई आय’ भनिरहँदा लेनिनको समयमा नै साम्यवाद चेपुवाको पीडा सहन नसकी ट्रटस्कीको विद्रोह र बर्न्स्ताइनको संशोधनवादी मार्गको धन्दाले बनेको प्रजातान्त्रिक समाजवादको स्तम्भदेखि वीपीवाद र पौडेल बाजेले भन्ने गरेको लोकतान्त्रिक समाजवादी कथाको समयसापेक्ष निर्माण भएको संवाद जस्तै लाग्छ । 

उनको हरेक बोलीमा जनताको अधिकार, आर्थिक वृद्धि, व्यक्तिगत स्वतन्त्रता, राष्ट्र र राष्ट्रियता उद्गार भएको देखिन्छ । राष्ट्र, राष्ट्रियता र प्रजातान्त्रिक समाजवादलाई आदर्श बनाएको नेपाली कांग्रेस पार्टीले बाजे जस्तो निष्ठावान सिपाही पाउनु पनि संजोगमात्र ठान्नु हुँदैन । यसर्थ बाजेले निरंकुशता, अधिनायकत्व र प्रतिगामी कदमविरुद्ध लड्ने हिम्मत, साहस, संकल्प गर्नु नै आज राष्ट्र प्रमुख बन्ने माध्यम बन्यो भन्दा उचित हुन्छ ।

प्रजातन्त्रप्रतिको लगाव र निष्ठाप्रति कुनै  प्रश्न उठाउने ठाउँ छैन । आज भन्दा चार वर्षअघि यो स्तम्भकारको पुस्तक ‘गति, शक्ति र युवा’ विमोचन गर्दै युवाहरुलाई उत्साह दिँदै बाजेले भनेका थिए  ‘कर्म गर्न छोड्नु हुँदैन आफू जुन पेशा, उद्यम, व्यवसाय एवं जुनसुकै क्षेत्रमा लागेको भए पनि त्यो पेशामा कर्मशील भएर निरन्तर लागिरह्यो भने एक दिन लक्ष्य र उचाइमा पुगिन्छ ।’ 

त्यसैले जुनै काम गर्दा पनि दृढ, एकचित्त र प्रतिवद्ध हुनु जरुरी छ । बाजेको उक्त कुरा सही देखिए पनि उनीसँग लगनशील, सक्षम र महत्वपूर्ण कार्यकर्ताको उचित मूल्यांकन गर्न नसक्ने नेता र आफू केन्द्रीत मनोभावनाबाट ग्रसित हुन् भन्ने आरोप भने अहिले पनि जीवित नै छ ।  

जुन बेलासम्म उनी पार्टीको सक्रिय राजनीतिमा थिए त्यस समय सानो घेराबाट बाहिर निस्कन नसकेको हुँदा पार्टी सभापति भने बन्न सकेनन् । अझै भन्ने हो भने पार्टी भित्रको संगठन विस्तारको निर्णय र कार्यकर्ता ब्यवस्था गर्ने समय आउँछ त्यसबेला भने एकमा बृहत र बृहतबाट संकुचनतर्फ खुम्चिएका घटनाहरु थुप्रै छन् । 

त्यसकारण उनलाई  सानो चित्त भएको व्यक्ति हुन् भनेर संज्ञा दिनेहरु पनि छन् । पुरानो संस्थापन क्रान्ति पुरुष गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु) नेतृत्वमा उपसभापति हुँदा, सुशील कोइरालाको उपसभापति र नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक र १३औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुँदा कोइराला क्याम्पको बलियो खम्बा रहेका उनी १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न नपाएपछि निकै निसास्सिएर शेरबहादुर देउवा क्याम्प पुग्दै राष्ट्रपति बनेसँगै नेपाली कांग्रेसको पुरानो कार्यकर्ता भएका छन् ।

निष्ठा र निरन्तर संघर्षले उनलाई त्यो ठाउँमा पुर्यायो । उनको लागि ठूलो उपलब्धि मान्न सकिन्छ । जुन मार्गमा उनी हिँडे त्यो मार्गमा उनीसँगै हजारौं साथी सहयात्रीहरु थिए र अझै छन् । तिनीहरु कहाँ के गर्दै होलान् भन्ने विषय पनि बाजेले राष्ट्र प्रमुख भए पनि त्यतातिर ध्यान  दिन जरुरी छ । 

पुराना सहयात्रीहरुलाई उचित ठाउँमा व्यवस्थापन गर्न उनको दायित्व बन्नुपर्छ । राष्ट्रपतिको उम्मेदवारी सभालाई सम्बोधन गर्दै बाजेले राष्ट्रवादलाई प्रजातन्त्रको दुश्मन र बिरोधी शक्तिको रुपमा प्रयोग भएको इतिहासको घटना स्मरण गर्दै २०१७ सालको प्रसङ्ग पनि उठाए । 

२०१७ सालमा जुन कुरालाई राष्ट्र भनिन्थ्यो आज त्यसको अर्थमा ब्यापक परिवर्तन भइसकेको छ । त्यसकारण सत्र सालमा जुन राजालाई राष्ट्र वा उनका भनाइ धारणाहरुलाई  राष्ट्रवादी  भन्ने गरिन्थ्यो आज ती सबै खारेज भइसकेका छन् । आज राष्ट्र बहुभाषिक, बहुजातीय र बहुधार्मिक भइसकेको छ । 

राष्ट्र र देशको परिभाषा नै परिवर्तन भइसकेपछि पुराना कुरालाई सम्झेर संकुचित मनसिकताले ग्रसित भएर बस्न नहुने देखिन्छ । त्यसकारण बहुपहिचानको आवश्यकता संविधानमा उल्लेख भइसकेका हुँदा प्रजातन्त्र र राष्ट्रवाद एक अर्कामा पुरक छन् भन्ने सोचतिर जान आवश्यक देखिन्छ । 

गणतन्त्र राष्ट्रवादी शक्तिहरुको ब्यवस्था हो भन्ने धारण नै राष्ट्रवादी धारणा पनि हो । त्यसैले राष्ट्र भनेको जनता हो भन्ने भएपछि राष्ट्रवाद भनेको जनताको धारणा हो भन्ने बुझ्दा सबैभन्दा उत्तम हुन्छ । 

बाजेको राष्ट्रपति यात्राको प्रसङ्ग उल्लेख गरिरहँदा एक घटना सारै घत लाग्दो छ र सम्झिरहन्छु । २०५९ देखि ज्ञानेन्द्र शाहले जनताको अधिकार खोस्दै थिए । पार्टीभित्र प्रतिगमन विरोधी आन्दोलनको तयारी हुँदै थियो । कार्यकर्ता, नेताहरु शाही शासन लामै समय जान्छ भन्ने भयले कर्यक्रममा सहभागी हुँदैन थिए । 

प्रायः क्याम्पसका विद्यार्थीहरु नै सहभागी हुन्थे । यो स्तम्भकार त्यसबेला ललितपुरको पाटन संयुक्त क्याम्पसमा विद्यार्थी राजनीतिमा थियो । प्रतिगमनको विरोध गर्न हरेक दिन नारा जुलुस, कोणसभा, पर्चा वितरण मसाल जुलुस, ब्ल्याक आउट जस्ता नयाँ–नयाँ कार्यक्रम गरिरहेका थियौं । 

नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य योगन्द्र राई,  सानुबाबु महर्जन, दिनेश थापा, रामवरण यादव, शहीद कालुमान गुरुङका छोरा योगेश गुरुङ, कुमार बस्नेत पार्टी कार्यलयमा गए । उपसभापति रामचन्द्र पौडेलले बोलाएका रहेछन् । योगेन्द्र राईबाट थाहा पाइयो कि रामचन्द्र पौडेलसँग समूहमा कुरा भएको र गोप्य पनि कुराकानी भएको थियो । तत्कालीन समयमा आन्दोलनलाई शान्तिपूर्ण र प्रभावकारी बनाउन कम्युनिष्ट विद्यार्थी संगठनहरुसँग संयुक्त रुपमा आन्दोलन गर्न र कम्युनिष्ट नेताहरुसँग पनि निरन्तर अन्तरक्रिया गर्नु भन्ने सन्देश आयो । 

त्यो भेटको उदेश्यअनुसार त्यही समय यो स्तम्भकारले पुराना पुस्ताका नरबहादुर कर्मचार्य (जो अहिले दिवंगत भइसके) लगायत अरु थुप्रै मार्क्सवादी नेताहरुसँग भेट गरियो र राजनीतिक संवाद गरियो । जब माओवादीसँग १२ बुँदे सहमति भयो त्यसैदिन बल्ल बुझियो किन कम्युनिष्ट विद्यार्थीसँग मिलेर आन्दोलन गर्नु भनेको भन्ने कुरा । 

किन रहेछ भने १२ बुँदेमा सहमतिमा ‘पूर्ण प्रजातन्त्र’ भन्ने उल्लेख गरेको थियो त्यसलाई गणतन्त्र भन्ने अर्थमा बुझेँ । त्यतिबेला प्रतिगामी कदमलाई धरासायी पार्न धेरै पटक महन्त ठाकुर (जो अहिले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष छन्), डा. रामवरण यादव (पहिलो राष्ट्रपति) लाई भाषण गर्न बोलाउँथ्यौं । 

पाका नेताहरु पूर्ण प्रजातन्त्र भन्थे भने नयाँ पुस्ताका विधार्थी नेताहरु गणतन्त्र भन्ने गर्दथ्यौं । समयले आज १२ बुँदे सहमति गर्नेहरु एकै ठाउँमा उभिएका छन् । 

राष्ट्रपतिको निर्वाचनको परिणाम सुनेपछि खोटाङबाट योगेश गुरुङले फोन गर्दै भने, ‘लाओस दाइ पूर्ण प्रजातन्त्र भन्ने बाजे त गणतन्त्र नेपालको राष्ट्रपति पो भएछन् ।’ धैर्यता, कर्मशीलता र समय सापेक्षित विचारका कारण पौडेल बाजेलाई यो उचाइ मिलेको छ । हामीलाई भने प्रेरणा मिलेको छ । मुलुकको तेस्रो राष्ट्रपतिको रुपमा बाजेको शीतल निवास यात्रा सफल रहोस् । शुभकामना । (लेखक राई कांग्रेसका नेता हुन्) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ