arrow

बालकोटमा मध्यरातसम्म गम्भीर विचारविमर्श

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
oli-ishwor-subash.jpg
तस्बिर – फाइल ।

काठमाडौं । रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकट रहेका नेताहरुसँग गम्भीर विचार विमर्श गरेका छन् ।  राष्ट्रपतीय निर्वाचनपछि ओलीे निवास बालकोटमा आफू निकट रहेका नेताहरुबीच गम्भीर समीक्षा र छलफल भएको स्रोतले जनाएको छ । 

‘भक्तपुरमा बिहीबार राती शीर्ष नेताहरुबीच छलफल भएको छ’, स्रोतले भन्यो  । राति ८ बजेपछि भेला भएर अबेरसम्म भएको कुराकानीमा एमाले अध्यक्षसँगै उपाध्यक्ष एवम् राष्ट्रपति निर्वाचनमा पराजित उम्मेदवार सुवासचन्द्र नेम्वाङ, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र कार्यालय सचिव भीष्म अधिकारी पनि सहभागी भएको स्रोतले जनाएको छ । 

‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेलामा बहुमत हुने तर राष्ट्रपति निर्वाचनमा एमालेको उम्मेदवार हुँदा कसरी आफ्नो गणित र समीकरण फेल भयो भन्ने बारेमा छलफल भएको थियो’, स्रोतको दाबी छ  । स्रोतका अनुसार चाँडै नै सचिवायल, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा छलफल भएको थियो । अहिले र ग्रास रुट अभियान चलिरहेको र त्यहाँबाट आएका विषयलाई नोट बनाएर अघि बढ्ने विषयमा पनि छलफल भएको स्रोतको दाबी छ । 

राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका थिए । उनलाई संघीय संसदका २१४ सांसद र प्रदेशसभाका ३५२ सदस्यले मत दिएका हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गरेका थिए । 

एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मतभार पाएका थिए । उनलाई संघीय संसदका ९६ जना र प्रदेश सभाका १६२ सांसदले मत दिएका थिए । एमालेले सोचविचार गरी नेम्वाङलाई उम्मेदवार बनाएको जनाएपछि एमालेका धेरैजसो नेताहरुले समय घर्केपछि नेम्वाङलाई उम्मेदवार बनाएकाले समीकरण भत्किएको आशंका गरेका छन् ।

‘उहाँको विषयमा धेरै पहिलादेखि चर्चा चलेको थियो, अन्तिम समयमा पनि उहाँलाई उम्मेदवार बनाइयो तर अघिबाटै फाइनल गरेर गएको भए यो अवस्था आउँदैनथ्यो’, एमालेका एक पदाधिकारीले भने । 

उनका अनुसार आउने पदाधिकारी र स्थायी कमिटीको बैठकमा यो विषयले प्राथमिकता पाउने छ । पुस १० को सहमति बन्दा एमालेको भागमा राष्ट्रपति परेको थियो तर माओवादीले कांग्रेससहितका आठ दलीय गठबन्धन बनाएर छुट्टै मोर्चा बनाएर राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई अघि सारेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ