काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्तिक ८ गते हुने उपाध्यक्ष पदका उम्मेदवार उपेन्द्रमान सिंहले मैदानमा उत्रिएपछि पछाडि नफर्कने बताएका छन् ।
हाम्राकुरासंगको कुराकानीमा सिंहले जीवनमा पहिलो पटक चुनावी मैदानमा उत्रिएकाले नौलो लागे पनि उम्मेदवारी दिएपछि अब पछाडि नहट्ने बताए ।
उनले साथीभाइहरुबाट राम्रो प्रतिक्रिया र सघाउने बाचा आएकाले पनि आफूले जित्नेमा आशावादी भएको बताए ।
उनले भने, ‘अहिले मैले क्लवका साथीहरुसंग छलफल गरिरहेको छु, उहाँहरुले मलाई तपाईजस्तो फुटबलप्रेमी आएपछिमात्र फुटबलको विकास हुन्छ भन्नुभएको छ त्यसैले पनि मलाई आशावादी बनाएको छ ।’
उपेन्द्रले अगाडि थपे, ‘लामो समय कोचिङ गरेको तपाईसंग क्लव चलाएको अनुभव पनि भएकाले पनि संघ चलाउन सक्ने हैसियत भनेर मलाई हौसला प्राप्त भएको छ ।’
स्वतन्त्र उम्मेदवारका रुपमा उठेका उपेन्द्रलाई कुनै प्यानलमा गएर उठ्न पनि केहीले सुझाव दिएका छन् ।
उनी भन्छन्, ‘पहिलो पटक चुनावमा उठेकाले अनुभव कम भएको पनि हुन सक्छ, साथीभाइले प्यानलमा उठ्दा सजिलो हुने सुझाव पनि दिएकाले अझै केही समय सोच्न सकिने पनि बताए ।’
एन्फा उपाध्यक्षका लागि मणि कुँवर र दीपक खाती पनि चुनावी मैदानमा छन् । मणि अध्यक्षका उम्मेदवार नरेन्द्र श्रेष्ठको प्यानलका हुन् भने दीपक कर्माछिरिङ शेर्पाको प्याननका हुन् ।
उपेन्द्रले दुवै प्यानलसंग कुराकानी भइरहेकाले केही दिनमै कुन प्यानलमा समावेश हुने भन्ने पनि हुनसक्ने बताए ।
उनले साथीहरुबाट राम्रो सुझाव र आश्वासन आएकाले उम्मेदवारी फिर्ता लिने भन्ने प्रश्न नभएकोसमेत बताए ।
को हुन् उपेन्द्रमान सिंह
–१४ वर्ष फुटबल खेल्ने क्रममा एक सय बढी क्याप लगाए ।
–व्यवसायीक फुटबल खेल्ने क्रममा थाइल्याण्ड, भारत र बंगलादेशमा रहे ।
–२०६३ सालदेखिका प्रशिक्षक ।
–२०६३ सालदेखिका मध्यपुर युथ एसोसिएसन फुटबल क्लवका संस्थापक अध्यक्ष ।
–खेलाडी संघका अध्यक्ष ।